भव्यताका साथ मनाइयो भारतीय गणतन्त्र दिवस

भव्यताका साथ मनाइयो भारतीय गणतन्त्र दिवस


भारतले आफ्नो ७०औँ गणतन्त्र दिवसलाई राजधानी नयाँदिल्लीमा शनिबार भव्यताका साथ मनाएको छ । राजधानीबाहेक विभिन्न राज्यका राजधानी, विदेशी नियोग तथा स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रमसाथ दिवसलाई भव्यताका साथ मनाइएको छ ।

केन्द्रीय राजधानी नयाँदिल्लीमा स्वदेशी तथा विदेशी पाहुनाको भव्य सहभागितासहित भएको ७०औँ गणतन्त्र दिवस कार्यक्रमको मुख्य अतिथि यस वर्ष दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसालाई बनाइएको थियो ।

कार्यक्रमलाई सुरक्षित एवं व्यवस्थित बनाउन करिब २५ हजार प्रहरी तथा अर्धसैनिक बललाई दिल्लीमा तैनाद गरिएको थियो । नयाँदिल्लीको कार्यक्रमको प्रमुख आकर्षण ऊँट सवार र मोटरसाइकल ‘स्टन्ट राइडिङ’ रहेका थिए भने सेनाले विभिन्न कलात्मक सैन्य प्रस्तुतिसमेत समारोहमा गरेका थिए ।

सन् १९५० मा नयाँ संविधान लागू भएको जनवरी २६ (आजकै दिन) लाई भारतले गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ । भारत बेलायतबाट सन् १९४७ मा स्वतन्त्र भए पनि त्यसपछिका तीन वर्ष संक्रमणकालीन समयका रूपमा बिताएको थियो ।

राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा भारतीय राष्ट्रपतिले भारतीय राष्ट्रपतिले शुक्रबार सम्पूर्ण देशवासीलाई आगामी मेमा हुन लागेको आमनिर्वाचनमा सक्रियताका साथ सहभागी भई आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

उनले भने, ‘निर्वाचन मात्रै राजनीतिक अभ्यास होइन । यो बुद्धिको सामूहिक आह्वान तथा सामूहिक कर्म हो । यसले मतदानलाई पवित्र बनाउँछ ।’