चर्चमा बम विस्फोटमा २७ को मृत्यु, ७७ घाइते

चर्चमा बम विस्फोटमा २७ को मृत्यु, ७७ घाइते


फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटमा परी २७ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुईवटा विस्फोटन भएको जानकारी दिए । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् ।

उनले विस्फोटनमा परी अरू ७७ जना घाइते भएका र उनीहरूको उपचार भइरहेको पनि जानकारी दिए ।
दुवै विस्फोटन स्थानीय समयअनुसार बिहान करिब ८ः१५ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ ।

उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई बम विस्फोट भएको अल्बायाल्डेले बताए । यस दुर्घटनामा परेकाहरूमा अधिकांश नियमित रूपमा चर्च जाने गरेकाहरू रहेका पनि प्रहरीले जानकारी दिएको छ ।

‘चर्चमा प्रार्थनाका बेला भएको विस्फोटको हामी घोर भत्र्सना गर्दछौँ, सैन्य अधिकारीहरू र आमनागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,’ फिलिपिन्सका रक्षा सचिव डल्फिन लोरेन्जानले बताए ।

उनले घटनाका पीडितहरूलाई तत्काल राहत तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताए । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको र घटनाको विवरण संकलन भइरहेकोले मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जानकारी दिएका छन् ।