ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी बेखुश

ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी बेखुश


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी नागरिक विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति थप कमजोर हुने प्रतिक्रिया दिएका छन् ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज विभाजित देखिएको छ ।

सर्वेक्षणमा सहभागीले राष्ट्रपति ट्रम्पले विदेश नीति सञ्चालनमा परिपक्वता नदेखाएको भन्दै न्यून अङ्क दिएका छन् । सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रपतिका नीतिलाई समर्थन गरेका छन् भने ६३ प्रतिशतले अस्वीकार गरेका छन् । अरु विषय झैं, पक्षधरताको विषय निकै रोचक देखिएको छ । रिपब्लीकन पार्टीसँग आबद्ध व्यक्तिहरुमध्ये ७६ प्रतिशतले राष्ट्रपति ट्रम्पका नीतिको समर्थन गरेका छन् जबकि ८ प्रतिशत डेमोक्र्याटले राष्ट्रपतिका कदमको समर्थन गरेका छन् ।

‘रसिया होस् वा उत्तर कोरिया, दुबै मुलुकसँगको सम्बन्धमा सुधार आउने सम्भावना कमै छ,’ कोलम्बियाकी ३० वर्षीया शिक्षिका समान्था फ्लावर्सले बताएकी छन्। एपीका अनुसार छिमेकी मुलुकहरु खासगरी मेक्सिकोसँगको सम्बन्धमाथि पनि विचार गरौं न, ट्रम्पले समर्थन गरेपनि उनीहरु अमेरिकी मूल्यमान्यता विपरीत चलिरहेका छन् भन्ने समान्थाको भनाई छ ।

उटाह राज्यको अग्डेनका ६५ वर्षीय ट्रक चालक रिचार्ड क्लिभल्यान्ड भने असहमति जनाउँछन् । राष्ट्रपति ट्रम्पका नीति र विदेश नीतिको खुलेर समर्थन गर्छन् उनी । ‘मेरो विचारमा राष्ट्रपतिले उत्तर कोरियासँगको सम्बन्ध सुधारका लागि राम्रो काम गरिरहनु भएको छ । उहाँले विगतमा कसैले गरेकोभन्दा राम्रो गर्नुभएको छ,’ उनले भने ।

विदेशी भूमिमा जारी युद्धमा अमेरिकी सेनाको उपस्थिति र सहभागिताका बारेमा पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । करिब ३९ प्रतिशत अमेरिकीहरुले सिरियामा तैनाथ करिब २ हजार अमेरिकी सेना फिर्ता गर्नु ठीक रहेको बताएका छन् भने करिब ३५ प्रतिशतले यो कदम सही नभएको बताएका छन् । राष्ट्रपतिको कदमलाई ५६ प्रतिशत रिपब्लीकनले समर्थन गरेका छन् भने २६ प्रतिशत डेमोक्र्याटले मात्र राष्ट्रपतिको उक्त कदम ठीक भएको बताएका छन् ।

गत महिना राष्ट्रपति ट्रम्पले सिरियामा रहेका इस्लामिक स्टेट समूहका लडाकूहरु परास्त भएको घोषणा गरेका थिए । उनले त्यहाँ तैनाथ सबै सेना तत्कालै फिर्ता गर्ने बताए । राष्ट्रपतिको उक्त घोषणाप्रति विमती जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा गरेका थिए भने अमेरिकी गठबन्धनमा आबद्ध मुलुक र समूहहरुले चर्को आलोचना गरेका थिए । पछि, ट्रम्प र उनका सहयोगीले सेना फिर्तीको समयावधि परिवर्तन गरेका थिए । सिरियाबाट सबै अमेरिकी सेनालाई सुरक्षित रुपमा फिर्ता गर्न महिनौँ लाग्ने बताइएको थियो ।

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका विषयमा पनि मतान्तर देखिएको छ । करिब ४१ प्रतिशत अमेरिकीले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता उपयुक्त रहेको बताएका छन् भने करिब ३० प्रतिशतले अस्वीकार गरेका छन् ।

‘हाम्रो सैनिक विश्वकै प्रहरीजस्तो हुनु ठीक होइन,’ टेनेसीको ब्रिस्टोल निवासी ४४ वर्षीय रोबर्ट ग्रान्गर भन्छन्, ‘हामीले अमेरिकी सेना सबै मुलुकबाट फिर्ता गर्नुपर्दछ ।’

करिब ४१ प्रतिशत डेमोक्र्याटहरु विश्वभर अमेरिकी भूमिका बढाउनुपर्ने पक्षमा देखिएका छन् भने २३ प्रतिशतले अमेरिकी भूमिका सामान्य सक्रिय मात्र हुनुपर्ने बताएका छन् । अरु करिब ३२ प्रतिशत डेमोक्र्याटले मुलुकको हालको भूमिका ठीकै रहेको बताएका छन् ।

रिपब्लीकन पार्टीसँग आबद्धहरुको विश्व दृष्टिकोण फरक छ । दशमध्ये चार जना रिपब्लीकनको भनाइमा विश्वका समस्या समाधानमा अमेरिकी भूमिका थोरै हुनुपर्दछ, जबकी ४६ प्रतिशतले विश्व मामिलामा हालको अमेरिकी भूमिका ठीक रहेको बताएका छन् । करिब १३ प्रतिशत रिपब्लीकनले विश्वमा अमेरिकी भूमिका अझ सक्रिय हुनुपर्ने जनाएका छन् ।

रिपब्लीकनहरुको सोचाइमा विश्वमा अमेरिकी उपस्थिति र अरु मुलुकसँगको सम्बन्ध अर्को वर्ष अझ सुधार हुनेछ । तर, डेमोक्र्याटको विचारमा अमेरिकाको साख अझ कमजोर हुनेछ ।