सरकार क्यासिनो किन बन्द गर्दैन ?

सरकार क्यासिनो किन बन्द गर्दैन ?


काठमाडौं/ विदेशीहरूका लागि मात्र जुवा खेलाउन भनेर भनेर सञ्चालन गरिएका क्यासिनोले राजधानीमा नेपालीलाई नै जुवा खेलाएर गैरकानुनी तबरले आफ्नो धन्दा चलाएका छन् । क्यासिनोको नशामा परिसकेका युवाहरू दिनहुँ पाँचतारे होटेल धाउने र रातारात लाखौँ रुपैयाँ उडाउने गर्दछन् । क्यासिनोको कारण कतिपय युवाहरू रातारात जोगी हुन पुगेका छन् जसको कारण उनीहरूका जहानपरिवार आत्महत्या गर्न बाध्य बनाइएका छन् । कतिपयका छोराछोरीहरू राम्रो बोर्डिङ स्कुलबाट सामान्य स्कुलमा ओर्लन बाध्य भएका छन् । श्री ५ को सरकारले यसप्रति तत्कालै सोचविचार गरी क्यासिनो बन्द नगराएमा केही भयानक दुर्घटना राष्ट्रले व्यहोर्नुपर्ने अवस्था छ ।

क्यासिनोभित्र छिर्नुअघि ढोकैमा नेपालीलाई प्रवेश निषेध लेखिएको देखिन्छ । तर, भित्र गएर टेबलटेबलमा आँखा लगाउने हो भने अधिकांश नेपाली नै पाइन्छन् । घुँडा माथिमाथि आउने गरी मिनीस्कर्ट लगाएका पुतलीजस्ता युवतीले क्यासिनो खेलाएको तालमा एक घन्टा पनि बित्न नपाउँदै लाखौँ रुपैयाँ हारिएको पनि ग्राहकहरू चाल पाउँदैनन् । एक रातमै चार–पाँच लाखसम्मको जुवा खेल्ने हैसियतका ग्राहकलाई भीआईपीको दर्जा दिइन्छ र उनीहरूलाई यावत कुराको सुविधा हुन्छ । जस्तै, घरजानेलाई गाडीको व्यवस्था, होटेलमा नै सुत्नेलाई एकजना सेवा गर्ने युवतीसहित अलग कोठा, खाना खानेलाई खानाको व्यवस्था आदि आदि ।

चौबीसै घन्टा खुला रहने यी क्यासिनोहरूमा कर्मचारीको शोषणको कथा बेग्लै छ । अझ महिला कर्मचारी बढ्ता मारमा पर्ने गर्दछन् । क्यासिनोमा आउनेहरूको इच्छा भएमा म्यानेजरको आदेशबमोजिम जेसुकै सेवा गर्न पनि पछि नपर्न उनीहरूको कर्तव्य मानिन्छ । न्यूनतम तलबमा जागिरे हुन बाध्य भएका यी कर्मचारीहरूको पीरमर्का बुझ्ने निकाय कहीँ कतै छैन ।

वास्तवमा क्यासिनो खेलाउने हलको वातावरण यस्तो हुन्छ जहाँ कहिल्यै नछिरेको व्यक्ति पहिलोपटक त्यहीँभित्रै हराउन पुग्छ । ग्राहकहरूको इच्छा पूर्ति गर्न कुनै पनि सर्त बाँकी राखिएको हुँदैन ।

वास्तवमा क्यासिनोको इतिहास नेपालमा त्यति लामो छैन । नेपालमा क्यासिनो सञ्चालन गराउन पहिलो व्यक्तिको रूपमा राकेश वादवा चिनिन्छन् । यहाँ क्यासिनोको प्रमुख भएर आउनुअघि उसले श्रीलंकामा क्यासिनो सञ्चालन गरेर बसेको थियो । तमिल पृथकतावादीहरूलाई आर्थिक सहयोग गर्ने गरेको थाहा पाएपछि श्रीलंकाली सरकारले वादवाको व्यवसाय बन्द गर्नुका साथै निजलाई देश छाड्न आदेश दियो । श्रीलंकाबाट लखेटिएपछि उसले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ‘विदेशीहरूका लागि मात्र क्यासिनो सञ्चालन गर्न पाऊँ’ भनी निवेदन दिएकोेमा मन्त्रिपरिषद्को बैठकद्वारा उक्त अनुमोदन भएको थियो ।

हाल आएर नेपालमा चारवटा क्यासिनो खुलेका छन् । अन्ना क्यासिनो, रोयल क्यासिनो, एभरेष्ट क्यासिनो र सोल्टी क्यासिनोको नामले चलेको यी जुवाखानाहरूले माओवादीहरूलाई आर्थिक सहयोग गर्ने गरेको बताइन्छ । केही उच्च प्रहरी अधिकृतहरूलाई समेत हाता लिएर यी विदेशी नागरिकहरू नेपालमा यस्ता अवैध धन्दा गर्न सक्रिय छन् । क्यासिनो खेलाउने ठाउँमा नेपाली नागरिकलाई भित्र छिर्न नदिने मात्र होइन, नेपाली पैसा कारोबारसमेत गर्न नदिने नियम छ । तर, त्यहाँ नेपाली नोटभन्दा अरू देख्न पनि पाइँदैन । एक कर्मचारीले नाम नबताउने सर्तमा बताएअनुसार राजधानीका संभ्रान्त वेश्याहरू पनि क्यासिनोमा पैसा उडाउन आउँछन् । क्यासिनोमा आउने सबै ग्राहक खिन्न मुद्रामा देखिन्छन्, पैसा कसैले जित्दैन । किनकि क्यासिनोका अनेकौँ नियम हुन्छन् जुन नियमका आधारमा ग्राहकले कहिल्यै पनि पैसा जित्न सक्दैन ।

कानुनी राज्यमा यस्ता गैरकानुनी गतिविधिहरू खुलमखुल्ला सञ्चालन हुँदा पनि श्री ५ को सरकार किन मौन रहेको छ ? यसबारे सोच्नुपर्ने बेला आइसकेको छ ।

(घटना र विचार साप्ताहिक २०५४, चैत ५ गते बुधबार)