जन्मदर्ता अभियान घरघरमा

जन्मदर्ता अभियान घरघरमा


जन्मदर्ता गराउन जाजरकोटस्थित छेडागाड नगरपालिकाले गाउँगाउँमा घुम्ती शिविर गरेर अभियान थालेको छ । जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक भेटिएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालेको हो ।

कर्मचारीको चार समूह निमार्ण गरी घुम्ती शिविर सञ्चालन गरिएको नगर प्रमुख लालबहादुर महताराले बताए । सो शिविरमार्फत नगरपालिकाले हालसम्म तीन हजार बालबालिकाको जन्मदर्ता गराएको छ । ‘जन्मदर्ता छुटेको भेटिएपछि अभियान थालिएको हो,’ उनले भने ।

पाँच वर्षमुनिका बालबालिकाका लागि सरकारले बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सबैको विवरण आगामी फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसक्ने र आगामी चैतदेखि बालपोषण अनुदानवापत प्रतिमहीना रु ४०० का दरले उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

सहयोगले नगरपालिकाभित्रका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्थामा सुधार आउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले बताए । बालश्रम र बालविवाह न्यूनीनकरण गर्नका लागि जन्मदर्ता महत्वपूर्ण छ । बालविवाह गर्ने तथा गराउनेलाई कानूनी दायरामा ल्याउन जन्मदर्ता अभियानबाट मद्दत पुग्ने उहाँको भनाइ छ ।