शहीद दिवस : प्रदेशले दियो सार्वजनिक विदा, केन्द्रीय सरकारले मानेन

शहीद दिवस : प्रदेशले दियो सार्वजनिक विदा, केन्द्रीय सरकारले मानेन


शहिद दिवसका अवसरमा आज (माघ १६ गते) प्रदेश ३ मा सार्वजनिक विदा घोषणा गरिएको छ । प्रदेश ३ को मन्त्रिपरिषद्को गत बुधवार बसेको बैठकले शहिद दिवसको अवसरमा विदा दिने निर्णय गरेको थियो । प्रदेश र स्थानीय तहले विदा घोषणा गरेपनि केन्द्रीय सरकारले भने शहीद दिवस मनाएपनि बिदा नदिने जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म शहीद दिवसको दिन बिदा नदिएको बताए ।

उता, प्रदेश सरकारका गृहमन्त्री शालिकराम जमरकट्टेलले भने बिदा दिने निर्णयको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई पठाइसकिएको बताए । ‘हामीले मन्त्रिपरिषदको निर्णयबारे मुख्यमन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएका छौं । अब, संघ अन्तर्गतका कार्यालय बन्द हुन्छन् हुँदैनन्, त्यो म भन्न सक्दिनँ । तर, प्रदेशअन्तरगतका कार्यालय बुधबार खुल्दैनन् ।’

काठमाडौं महानगरले भने प्रदेशले दिएको बिदालाई स्वीकार गरेको छ । मंगलबार बसेको बैठकले आज बुधबार महानगर अन्तरगतका कार्यालय र स्कुल–कलेजमा बिदा दिने निर्णय गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

प्रदेश ३ मा मात्र सार्वजनिक बिदा दिएको यो पहिलोपोटक हो । अन्य प्रदेशले भने विभिन्न पर्वमा बिदा दिँदै आएको छ । तर प्रदेशले दिएको बिदामा निजी सङ्घसंस्था, केन्द्रीय सरकार अन्तर्गत रहेका सरकारी निकायहरू भने खुल्दै आएका छन् ।