हडतालमा सहभागी पाँच हजारको रोजगारी गुम्यो

हडतालमा सहभागी पाँच हजारको रोजगारी गुम्यो


बंगलादेशमा विश्व प्रसिद्ध ट्रेडमार्कका लागि कपडा सिलाउने तर निम्न ज्यालामा काम गर्दै आएका श्रमिकले हडतालमा सामेल भएको आरोपमा करिब पाँच हजारजनाको रोजगारी गुमेको प्रहरीले मंगलबार जनाएको छ ।

जनवरीमा उचित ज्यालादर कायम गर्न माग गर्दै आन्दोलनमा सहभागी भएका कारण उनीहरूको रोजगारी गुमेको हो । केही दिनदेखि जारी हडतालमा देशभरबाट हजारौँको संख्यामा सहभागी भएपछि करिब ३० अर्ब अमेरिकी डलर लगानीमा सञ्चालनमा रहेको कपडा उद्योगमा काम अवरुद्ध भएको थियो ।

बंगलादेशको असुलियामा कपडा सिलाइसम्बन्धी कम्पनीहरू एच एन्ड एम, वालमर्टलगायतका कम्पनीविरुद्ध भएका प्रदर्शनका क्रममा भएका झडपमा एकजनाको मृत्यु भएको छ भने ५० जनाको घाइते भएका छन् । प्रदर्शन चर्किँदै गर्दा भएका झडपका क्रममा हजारौँ कामदारले उद्योग तथा तीसँग सम्बद्ध संस्थाबाट सामानहरू लुटेको र तोडफोड गरेको आरोपसँगै उनीहरूलाई उद्योगले हटाएका समाचार बाहिर आएका छन् ।

तर, श्रमिकहरूको संगठन ट्रेड युनियनले उद्योगले कामदारलाई अनावश्यक धम्की तथा कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको बताएका छन् । ‘अहिलेसम्म कपडा उद्योगले चार हजार ८९९ कामदारलाई आन्दोलन गरेको आरोपमा जागिरबाट निकालेको छ,’ एक प्रहरीले नाम गोप्य राख्ने सर्तमा बताए ।

बंगलादेशको एउटै गार्मेन्टमा काम गर्दै आएका र महिनावारी ९५ अमेरिकी डलर आम्दानी रहेका एक हजार २०० भन्दा बढी कामदारलाई हटाइएको युनियनको दाबी छ । ट्रेड युनियनले कामबाट हटाइएका कामदारको संख्या करिब सात हजार पुगेको र करिब १०० जनालाई पक्राउ गरिएको बताएका छन् ।

तर इन्डस्ट्री अल बंगलादेश काउन्सिलका महासचिव सलाउद्दिन सापोनले भने युनियनको आह्वानमा आन्दोलनमा सहभागी भएका कामदार डरले आफैँ काममा नफर्किएको बताए ।

करिब तीन हजार कामदार, जो उद्योगविरोधी गतिविधिमा सहभागी बने, विरुद्ध विभिन्न मुद्दा दर्ता भएका र धेरैले उद्योगमा नफर्किने निर्णय गरेका छन्– उनले बताए । मुलुकभर प्रहरी नियन्त्रणमा लिइएका भनिएका कामदारबारे प्रहरीले कुनै प्रतिक्रिया दिन मानेन । बंगलादेशमा करिब चार हजार ५०० कपडा सिलाउने फ्याक्ट्री रहेका छन् जहाँ करिक ४१ लाख कामदारले रोजगारी पाइरहेका छन् । बंगलादेश विश्वभर तयारी कपडा निर्यातका लागि चीनपछि पहिलो स्थानमा आउँछ ।