आफैँ डुब्ने निर्णय लिँदै वायुसेवा निगम

आफैँ डुब्ने निर्णय लिँदै वायुसेवा निगम


नेपाल वायुसेवा निगमभित्र अर्को एउटा भ्रष्टाचारको शृङ्खला शुरु हुन लागेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । नेपाल–जापान सीधा हवाईसेवा शुरु गर्ने सन्दर्भमा निगमको व्यवस्थापन निजी क्षेत्रका हवाई व्यवसायीको प्रभावमा परेपछि निगम थप घाटामा जाने सम्भावना बढेको हो ।

समाचारअनुसार निगम सञ्चालक समितिले टोकियोस्थित नारिता विमानस्थल र काठमाडौंबीच सीधा हवाईसेवालाई शुरु गर्ने तथा जापानको वेस्टर्न एसोसिएट्स इङ्क नामक कम्पनीलाई जीएसए नियुक्त गर्ने निर्णय गरिसकेको थियो । मदन खरेल कार्यकारी अध्यक्ष नियुक्त भएर गएलगत्तै उनले जीएसए नियुक्ति स्थगित गरिदिएका छन् । नारिताको सट्टा ओसाका विमानस्थलसँग काठमाडौंलाई जोड्ने निर्णय गर्न अन्तिम तयारीमा उनी लागेका छन् । जापानको राजधानी टोकियोभन्दा पाँच सय किलोमिटर टाढाको सानो शहर ओसाका रोज्ने र करोडौँ जनसङ्ख्याको बसोवास रहेको राजधानी टोकियोको नारिता विमानस्थल छोड्ने निर्णयमा निगमको व्यवस्थापन किन पुग्यो भन्ने प्रश्न यहाँ खडा भएको छ ।

जानकारीअनुसार कार्यकारी अध्यक्ष मदन खरेलले हिमालय एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा र ओसाकास्थित एक ट्राभल कम्पनीका सञ्चालक डिएम हिराचनको इच्छाअनुसार नारिता छोडेर ओसा विमानस्थल रोज्न लागेका हुन् । हाल दोहा र मलेसियाको उडानमा रहेको हिमालय एयरलाइन्सले चीन, हङकङ र जापानमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ । जापानसँग सीधा हवाईसेवा शुरु गर्न दुई मुलुकबीच सम्झौता भएपछि हिमालय एयरलाइन्सले जापानको सेवा शुरु गर्ने निर्णय लिएको, तर ओसाकातर्फ उडान गर्दा यात्री कम भई घाटा लाग्ने भएकोले नारिता (टोकियो) विमानस्थलमा आफू पुग्न नेपाल वायुसेवा निगमलाई ओसाकातर्फ धकेलिदिएको बुझिएको छ । घाटा व्यहोरिरहेको नेपाल वायुसेवा निगमलाई थप घाटा पुग्नेगरी निजी क्षेत्रका व्यापारी आङछिरिङलाई लाभ पु¥याउन मदन खरेल किन लागिपरे भन्ने गम्भीर चासोको विषय बन्न पुगेको छ ।

जापानसँग भएको हवाईसेवा सम्झौताअनुसार नेपालले जापानको कुनै पनि विमानस्थलसँग जोडिएर हवाईसेवा शुरु गर्न सक्दछ । तर, कार्यकारी अध्यक्ष मदन खरेलले नारिता विमानस्थलसँग जोडिन अनुमति ढिला हुने भएकोले तत्काल ओसाका उडान गर्ने गरी सेवा शुरु गर्न प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको (कु) तर्क गरिरहेका छन् ।

भनिन्छ, टोकियो र आसपासका क्षेत्रमा हजारौँ नेपाली बसोवास गर्ने गर्दछन् र ज्यादा पर्यटकहरूको आगमन पनि टोकियो (नारिता) भएर नै हुने गर्दछ । शहरबाट करिब सत्तरी किलोमिटरको दूरीमा रहेको नारिता विमानस्थलबाट काठमाडौं जोडिँदा यात्रीको चाप बढ्ने र विमान सेवामा कहिल्यै घाटा नहुने विश्वास गरिन्छ । नाफामा चल्ने भएकैले सत्ताको आडमा धन आर्जन गर्न सफल आङछिरिङले आफ्नो स्वामित्वको हिमालय एयरलाइन्सलाई नारिता पुऱ्याउन वायुसेवा निगमलाई मदन खरेलको सहयोग लिएर ओसाकातर्फ धकेलिदिएको अनुमान निगमभित्र गर्न थालिएको छ ।

यसरी नारिता छोडेर ओसाकातर्फ लाग्दा निगम घाटामा जाने निश्चित भए पनि आङछिरिङसँगै आफ्ना अर्का अनन्य मित्र देवमान हिराचनलाई समेत खुसी तुल्याउन सकिने भएकोले मदन खरेलको ध्यान ओसाकामा केन्द्रित हुन पुगेको बुझिन्छ । हाल न्यून बिजनेसमा सीमित हुनुपरेको हिराचनको ट्राभल कम्पनीले ओसाकाबाट सीधा नेपाल हवाईसेवा शुरु हुने भएपछि अहिलेभन्दा थप ‘बिजनेस’ पाउने निश्चित छ । यसरी व्यवस्थापन प्रमुख नै निगमलाई घाटा पुऱ्याएर निजी कम्पनी पोस्न लागिपरेपछि निगमका कर्मचारीहरू असन्तुष्ट हुन पुगेका छन् । अधिकांश कर्मचारीले ओसाका पोस्टिङ भएर नजाने मानसिकता बनाएका छन् ।

यस सम्बन्धमा नेवानि सञ्चालक समितिका सदस्य बुद्धि सागरसँग सम्पर्क गर्दा उनले भने ‘नारिता विमानस्थलमा उडान गर्ने भन्ने भएको हो, तर अहिले ओसाका भन्ने सुन्दै छु । सञ्चालक समितिको बैठक त्यति धेरै बस्ने गरेको छैन र, व्यवस्थापनको दैनिक कार्यमा दखल नपुगोस् भनेर हामी हरेक विषयमा खोजी–निती गर्दैनौँ । सञ्चालक समितिमा यो विषय प्रस्तुत भए हामी गम्भीरतापूर्वक छलफल गर्नेछौँ ।’