रुसी र चिनियाँ आणविक कार्यक्रम अपारदर्शी : अमेरिका

रुसी र चिनियाँ आणविक कार्यक्रम अपारदर्शी : अमेरिका


संयुक्त राज्य अमेरिकाले रुस र चीनलाई आफ्नो आणविक कार्यक्रमलाई बढी पारदर्शी बनाउन बुधबार आग्रह गरेको छ । अमेरिकी ट्रम्प प्रशासनले पछिल्लो समय चीन र रुसले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई पूर्ण पालना नगर्ने हो भने आफूहरू पनि आणविक हतियार नियन्त्रण सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ ।

आणविक निःशस्त्रीकरण तथा परमाणु अप्रसारसम्बन्धी वार्तामा सहभागी हुन बेइजिङ आएका एकजना अमेरिकी वरिष्ठ अधिकारीले उक्त धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रसंघीय सुरक्षा परिषदका सबै पाँच स्थायी सदस्य राष्ट्रसँग आणविक हातहतियार रहेको छ ।

अमेरिकी हतियार नियन्त्रण तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी उपमन्त्री आन्द्रे थम्पसनले आणविक अप्रसार सन्धिमा रहेका व्यवस्थाको कार्यान्वयनमा पारदर्शिताको अभाव हुन थालेको बताए ।

‘हामीले विगतमा रिपोर्टिङको एउटा ढाँचामा सहमति जनाएका थियौँ, तर संयुक्त राज्य अमेरिका र रुस एवं चीनको रिपोर्टबीच ठूलो अन्तर देखिएको छ,’ थम्पसनले बताए । ‘पारदर्शिता अभिवृद्धि गर्नेतर्फ अमेरिका पूर्ण प्रतिबद्ध छ र सन्धिमा हस्ताक्षर गर्ने सबै मुलुकले यसमा सहयोग गर्नु आवश्यक छ,’ थम्पसनले बेइजिङ बैठकमा सम्बोधन गर्दै भनेका छन् ।

अमेरिकासहित उक्त बैठकमा रुस, चीन, फ्रान्स र बेलायतका अधिकारीहरू सहभागी छन् । यी मुलुकले आणविक अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षर गरेका छन् । उक्त बैठक बिहीबारसम्म चल्नेछ । तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखाइल गोर्बाचोभले सन् १९८७ मा हस्ताक्षर गरेको मध्यमस्तरीय आणविक बल सन्धि (आईएनएफ) को विषयलाई लिएर मस्को र वासिंटनबीच महिनौँदेखि तनाव जारी छ । उक्त तनावलाई मध्यनजर गरी वार्ता हुन लागेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९८७ को सम्झौताबाट बाहिरिने बताएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा आणविक हतियारको नयाँ दौड शुरु हुने चेतावनी दिए । उनले आणविक हतियार उत्पादनको नयाँ दौड शुरु भएमा त्यसबाट सबैभन्दा बढी पीडित युरोप हुने उल्लेख गरे ।

यसै महिनाको शुरुमा दुवै देशका वरिष्ठ कूटनीतिज्ञहरूबीच जेनेभामा भएको वार्ता आईएनएफ सन्धिको विषयमा मतान्तर भएपछि स्थगित भएको थियो । तर, अमेरिकाले आईएनएफ सन्धिलाई जीवित राख्ने हो भने रुसले प्रमाणयोग्य तरिकाबाट आफूसँग रहेका क्षेप्यास्त्र प्रणाली नष्ट गर्नुपर्ने बताएको छ ।

गत साता रुसले आईएनएफ सन्धिलाई पूर्ण पालना गरेको देखाउन विदेशी कूटनीतिक अधिकारीहरूसमक्ष आफ्नो क्षेप्यास्त्र प्रणाली सार्वजनिक गरेको थियो ।