अन्ना हजारेद्वारा आमरण अनशन आरम्भ

अन्ना हजारेद्वारा आमरण अनशन आरम्भ


भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनशन शुरु गरेका छन् ।

केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरू नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै हजारेले अनशन शुरु गरेका हुन् ।

भ्रष्टाचारविरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका हुन् । ‘कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरू र प्रदेश सभाका सांसदहरूलाई पनि छानबिन गर्न सक्छ,’ आफ्नै गाउँमा अनशन शुरु गर्नुअघि हजारेले भने ।

आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरूले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । उनले यस्तो व्यवस्था कुनै पनि पार्टीको चाहनामा नपरेको बताए । लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भए पनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्थाअनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनशनमा बस्नुपरेको उनको भनाइ छ ।

आफ्ना पूर्वसमर्थकहरू, जो अहिले राजनीतिमा छन्, उनीहरूले पनि अनशनमा साथ दिन सक्ने बताउँदै हजारेले भने, ‘हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरूलाई ठाउँ छैन ।’

उनले थपे, ‘लोकपाललाई निषेध गर्ने गरी तीन दिनभित्रमा उनीहरूले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नुभएको छ, तैपनि लोकपाल नियुक्त गरिएको छैन ।’

‘पाँच वर्षसम्म पनि उनीहरूले यसबारेमा केही गरेनन्, त्यसैले राजनीतिक नेताहरूलाई हाम्रो ठाउँमा आउन दिँदैनौँ,’ हजारेले बताए । भारतमा शहीद दिवसको रूपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनशन शुरु गरेको पनि उनको भनाइ छ ।