प्रधानमन्त्री केपी शर्माका विशिष्ट गुणहरूको चर्चा हुने क्रममा यतिबेला उनको ‘नबिर्सिने क्षमता’को चर्चा हुन थालेको छ । आफ्नो जीवनकालमा कसैले कहीँ गुन लगाएको छ भने त्यस्ता व्यक्तिलाई खोजी–खोजी पुरस्कृत गर्ने र कुनै बेला आफ्नो भावनामा ठेस पुऱ्याउनेलाई ‘ठेगान लगाउन खोज्ने’ उनको विशिष्टताको चर्चा अहिले आमतवरमा हुन थालेको छ । आफूलाई विगतमा सहयोग पुऱ्याउने हरेकलाई प्रधानमन्त्री ओलीले कुनै न कुनै तहको जिम्मेवारी दिएर पुरस्कृत गरिसकेका छन् । अर्कै प्रकारको पहिचानमा रहेका महेश बस्नेतलाई एकाएक मन्त्री बनाइदिएको या मजदुर नेता विष्णु रिमाललाई राजनीतिक सल्लाहकारको दर्जा उपलब्ध गराइएको विषयलाई केपीबाट प्राप्त हुने पुरस्कारको शैली या किसिमको दृष्टान्तका रूपमा लिइन्छ । तर, उनले उल्लिखित दुईलाई मात्र होइन, आफ्नो राजनीतिक जीवनमा सहयोग पुऱ्याएका हरेकलाई ठाउँ दिइसकेका छन् ।
यसक्रममा केपीले जसको क्षमता जति हो त्योभन्दा ठूलै हैसियत दिने गरेको पनि पाइएको छ । खोटाङका सांसद विशाल भट्टराईबाहेक केपीनिकटका त्यस्ता कोही पनि व्यक्ति उनीसँग असन्तुष्ट रहेको ठानिँदैन । आफ्नाको रक्षा गर्ने यही स्वभाव–चरित्रले केपीलाई माथिल्लो तहसम्म पुऱ्याएको विश्वास गरिन्छ । तर, केपी ओलीले आफूलाई गुन लगाउनेहरूलाई मात्र नबिर्सिनेचाहिँ होइन, कुनै समय कसैले आफ्नो भावनामा ठेस पुऱ्याएका रहेछन् भने तिनलाई प्रतिशोधी व्यवहार गर्न पनि केपी चुक्दैनन् । वर्षौंअघि को कसले कुन प्रकरणमा कस्तो व्यवहार गरेका थिए भन्ने सम्झी–सम्झी त्यसको बदला लिने कामसमेत केपीबाट हुने गरेको पाइएको छ । यस्ता घटनाहरूको केही उदाहरण यहाँ प्रस्तुत गरिएको छ ।
घटना नं. १ (प्रदीप नेपाल प्रकरण)
प्रदीप नेपाल नेकपा एमालेका बहुचर्चित नेता र स्थापित लेखक हुन् भन्ने सबैको जानकारीमा छ । खरो नेताका रूपमा समेत चिनिने प्रदीप जीवनको एक कालखण्डमा पार्टीका निम्ति जति समय दिने गर्दथे, पछिल्लो कालखण्डमा उनको स्वास्थ्यमा केही समस्या उत्पन्न भएपछि पार्टी काममा समय दिन सकिरहेका छैनन् । तथापि उनी सरकार वा पार्टीले कुनै जिम्मेवारी नै दिन नमिल्ने स्थितिमा पुगेको भन्नेचाहिँ होइन । आर्थिक रूपमा समेत प्रतिकूलता झेलिरहेका प्रदीप नेपाललाई सरकारले कुनै जिम्मेवारी दिएमा उनले सरकारको सफलताका निम्ति केही न केही योगदान पुऱ्याउन सक्ने र त्यसबापत प्रदीपको दैनिक जीवन पनि केही सहज हुने ठानेर एक हितैषीले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रदीपलाई कुनै जिम्मेवारी दिँदा उचित हुन्छ भन्ने प्रस्ताव पुऱ्याएछन् । केही महिनाअघि प्रधानमन्त्रीसमक्ष प्रदीप नेपाल आर्थिक रूपमा पनि कमजोर भएका छन् र शारीरिक स्वास्थ्य पनि त्यति सबल नभएकोले उनलाई सुहाउँदो कुनै जिम्मेवारी दिइयो भने तपाईंलाई सरकार चलाउन पनि सजिलो हुन्छ भनी प्रस्ताव राखेछन् । जवाफमा केपीले प्रदीप त कता डल्लुतिर बस्छन् क्यारे होइन भन्ने प्रश्न गर्दै भनेछन्, ‘ए ! प्रदीप बिरामी छन् ? त्यसो भए उनकी श्रीमती झुमाले जाउलो फकाइहाल्छिन्, त्यही जाउलो खाँदै घर बसे भइहाल्छ नि ! सरकार चलिरहेको छ र चलिरहन्छ ।’
प्रधानमन्त्रीबाट यस्तो जवाफ पाएपछि प्रदीपका हितैषी निराश भए । किन प्रधानमन्त्रीले त्यस्तो जवाफ दिए भन्ने उनले बुझेनन् । एक दिन प्रदीप नेपालसँग कुराकानीको क्रममा प्रधानमन्त्रीसमक्ष राखिएको प्रस्ताव र त्यस क्रममा प्राप्त जवाफबारे बताउँदा पो केपीको जवाफको रहस्य खुल्न पुग्यो ।
केपी ओली मिर्गौला प्रत्यारोपणपछि हेकी समय आराम गरेपछि उनी बिस्तारै पार्टी कार्यालय (बल्खु) पुग्ने गर्दथे । दौडधुप गर्न सक्ने अवस्थामा नभए पनि पार्टीको आन्तरिक छलफलमा सहभागी हुन केपी त्यसरी पार्टी कार्यालयमा जाने गर्दथे । त्यस्तैमा एक दिन केपीलाई पार्टी कार्यालय परिसरमा गाडीबाट ओर्लिएको देख्नेबित्तिकै प्रदीपले भनेछन्, ‘ए केपी ! सकी–नसकी किन पार्टी अफिस आइरहेको ? घरमा राधिकाले जाउलो पकाउँछिन् खानु र आराम गर्नु । यहाँ किन आइरहनुपऱ्यो ? पार्टी हामीले चलाइरहेकै छौँ ।’
करिब डेढ दशकअघि प्रदीप नेपालले भनेको उक्त कुराको जवाफ केपीले अहिले दिएका छन् । प्रदीप नेपाल वर्तमान सरकारबाट उपेक्षित नै रहँदै आएका छन् ।
घटना नं. २ (किशोर श्रेष्ठ प्रकरण)
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ यतिबेला प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष छन् । काउन्सिल अध्यक्षको हैसियतमा उनलाई राष्ट्रपतिबाट प्रदान गरिने विशिष्ट श्रेणीको पदक विभूषण समितिबाट समेत सिफारिस भई दस्तखतका लागि प्रधानमन्त्रीसमक्ष प्रस्तुत भएको थियो । विभूषण समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभूषण दिइनेहरूको नामावली लिएर प्रधानमन्त्रीको दस्तखत गराउन केपी ओलीको कार्यकक्षमा पुगेछन् । केपीले सबै नाम हेरेपछि तीमध्ये केहीको नाम काट्दा किशोर श्रेष्ठको पनि परेछ । त्यसैले चालू वर्षमा राष्ट्रपतिबाट किशोरले पदक प्राप्त गर्न सकेनन् । बरु रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा उनी झन्डै कानुनी कारबाहीको दायरामा तानिएका थिए ।
प्रधानमन्त्री केपी शर्माले किन किशोरप्रति यसप्रकारको व्यवहार गरेको होला भनेर बुझ्दा २१ वर्षअघि जनआस्था पत्रिकामा छापिएको एउटा तस्बिर नै मुख्य कारण भएको जानकारीमा आएको छ । प्राप्त जानकारीअनुसार २०५४ सालमा नेकपा एमाले विभाजित भएपछि माले नेता सीपी मैनालीद्वारा उपलब्ध गराइएको एउटा तस्बिर जनआस्थामा छापिएको थियो । रुकुममा आयोजित कुनै कार्यक्रममा सहभागी हुन जाँदा तात्कालिक नेताहरू केपी शर्मा ओली र विद्या भण्डारीलाई माला पहिऱ्याएर स्वागत गरिएको थियो । सामूहिक तस्बिरबाट दुईजनाको मात्र अलग गरी छापिएको तस्बिरको क्याप्सनमा ‘सेतो साडी रातो माला….’ लेखिएको थियो । हो, यही कुरालाई लिएर केपी ओलीले किशोर श्रेष्ठलाई दूरीको व्यवहार गरेको बताइएको छ ।
घटना नं. ३ (विनोद चौधरी प्रकरण)
नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभाका सदस्य रहेका विश्वधनाढ्य विनोद चौधरीले सीजी कम्युनिकेसन कम्पनीमार्फत टेलिफोन सेवा व्यवसायमा प्रवेश गरेको, तर केही प्रशासनिक एवम् प्राविधिक झमेलाका कारण उक्त कम्पनीको काम सुचारु हुन सकेको छैन । सर्वोच्च अदालतमा पुगेको मुद्दा गत महिना (पुस) को पहिलो साता निर्णय हुँदा चौधरीले न्याय पाउने सम्भावना बढेको थियो । तर, चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश भएर आएपछि दीपकराज जोशीको आदेश उल्ट्याइएको छ । यस व्यवसायमा चौधरी यतिबेला अप्ठ्यारोमा परेका छन् । यो प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहे–नरहेको विषय केवल महसुस गर्न सकिन्छ । व्यवसायीबाट राजनीतिज्ञको छवि बनाउँदै गरेका विनोद चौधरीको नाम पनि चालू वर्षमा राष्ट्रपतिबाट विशिष्ट श्रेणीको पदक पाउनेमा परेको थियो । विभूषण समितिबाट समेत सिफारिश भई गएको नाम दस्तखत गर्नुअघि प्रधानमन्त्रीले रातो मसीको कलमबाट काटिदिएका थिए ।
यसरी विनोद चौधरीसँग प्रतिशोधी व्यवहार गर्नुको मुख्य कारण गत वर्ष (२०७४ मङ्सिर) सम्पन्न आमनिर्वाचनअघि केपी ओलीले गरेको फोन चौधरीले नउठाउनुलाई मानिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा कुनै व्यवसायीलाई राजनीतिकर्मीले किन फोन गर्छन् भन्ने नबुझिने विषय होइन । चौधरीले केपीको फोन नउठाएको मात्र होइन, गत चुनावसँगै काङ्ग्रेसमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने निर्णय पनि लिएका थिए । यिनै कारणवश प्राप्त हुँदै गरेको पदक खोसिएको बताइन्छ ।
घटना नं. ४ (डा. तिलक रावल प्रकरण)
करिब दुई दशकअघि अर्थविद् डा. तिलक रावल राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अध्यक्ष थिए । उनी नियुक्त भएलगत्तै बैंकका वामपन्थी कर्मचारीहरू विभिन्न माग राखेर सङ्घर्षमा उत्रिएका थिए र त्यसक्रममा प्रहरी कारबाहीसमेत भएको थियो । प्रहरी कारबाहीका क्रममा केही व्यक्ति घाइते भएपछि नेकपा एमालेको नेतृत्वले त्यसमा आपत्ति जनाएको थियो । त्यसक्रममा केपी ओलीले डा. रावललाई टेलिफोन गरेर शुरुमा मन्त्रीहरू जे भन्छन् त्यही गर्ने नगर्नुस् भनेछन् । डा. रावलले जवाफमा आफूले मन्त्रीको आदेशअनुसार नभई नियम, कानुन र आवश्यकताअनुरूप उचित निर्णय लिने गरेको बताएछन् । त्यसपछि केपीले अलिक झर्किएर ‘त्यसो हो भने तपाईं आफूले गरेको कामका निम्ति जवाफ दिन ठीक ठाउँ र समयको प्रतीक्षा गर्नुहोस्’ भनेछन् । केपीको यस्तो भनाइको प्रतिवाद गर्दै रावलले जवाफ दिएछन्, ‘माननीयज्यू, सुझावचाहिँ लिइन्छ, तर डा. तिलक रावल तपाईंको धम्की ग्रहण गर्दैन ।’
दुई दशकअघि भएको संवादका क्रममा यस्तो जवाफपछि केपीले फोन राखिदिएका थिए । नभन्दै अहिले दुई दशकपछि डा. तिवल रावललाई केपीले कठघरामा उभ्याइदिएका छन् । मन्त्रिमण्डलको अनुमतिमा राष्ट्र बैंक सञ्चालक समितिको निर्णयमुताबिक टेन्डर प्रक्रियाद्वारा अष्ट्रेलियन कम्पनीलाई रु. दश दरको पोलिमर नोट छपाइ गर्न दिएको प्रकरणमा तात्कालिक गभर्नर रावललाई तानिएको छ । आठ वर्षअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन गरेपछि मुद्दा चल्न सक्ने आधारहरू नदेखेर तामेलीमा पठाउन गरेको निर्णयलाई बलजफ्ती उल्ट्याएर अख्तियारमार्फत डा. रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अर्थमन्त्री रहेका युवराज खतिवडासमेतको इच्छाअनुरूप डा. तिलक रावललाई ‘ठीक समयमा ठीक ठाउँमा’ जवाफ दिन बाध्य गराइएको छ ।
घटना नं. ५ (सुरेन्द्र पाण्डे प्रकरण)
नेकपाका नेता एवम् सांसद सुरेन्द्र पाण्डेलाई ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा टिकटसमेत नदिने प्रयास भयो । पाण्डेको सट्टा चितवन (१) बाट जागृत भेटवाललाई उम्मेदवार बनाउन खोजिएको थियो । निकै ठूलो कसरतपछि मात्र पाण्डे टिकट पाउन सफल भएका थिए । मुस्किलले उम्मेदवार बन्ने मौका पाएका नेता सुरेन्द्र पाण्डेविरुद्ध विद्रोही उम्मेदवार खडा गर्ने प्रयत्न पनि भएको थियो । आफ्नै क्षमता र कौशलका कारण पाण्डे उक्त निर्वाचनमा विजयी बनेका थिए । ०७४ को निर्वाचनमा टिकट रोक्न सक्ने अवस्था थिएन र ठूलो मतान्तरले सोही निर्वाचन क्षेत्रबाट पाण्डे निर्वाचित भए । चुनावलगत्तै कम्युनिस्ट पार्टीको सरकार गठन भएपछि पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनु उपयुक्त हुने सुझाव केपीलाई नेकपाका धेरै नेता र कार्यकर्ताले दिएका थिए । माधव नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री भएर पाण्डेले निकै राम्रो काम गरेकाले उनैलाई पुनः अर्थमन्त्री बनाउनुपर्ने आवाज उठेको थियो । तर, केपीले शब्दमा केही नभने पनि पाण्डेलाई मन्त्रीको जिम्मेवार दिन चाहेनन् । नेता पाण्डेलाई कुनै प्रकारको जिम्मेवारी नदिने सोचबाट केपी अझै मुक्त नभएको ठानिन्छ ।
करिब आठ वर्षअघि सुरेन्द्र पाण्डेले केपी ओलीका बारेमा एघारबुँदे प्रस्ताव पार्टीमा दर्ता गराउँदै छलफलको माग गरेका थिए । केपीले गुण्डागर्दीलाई संरक्षण गरेको र एमालेको संस्कार तथा संस्कृतिविपरीत व्यवहार गरेको विषयमा केन्द्रित एघार बुँदे प्रस्ताव दर्ता गराउनुको परिणाम नेता पाण्डेले केपीको जीवनभरि भोगिरहनुपर्ने अवस्था देखिएको छ ।
घटना नं. ६ (वामदेव गौतम प्रकरण)
अघिल्लोपटक (२०७२ मा) प्रधानमन्त्री बन्नुअघि केपी शर्मा ओली संसदीय दलको नेता बन्नुपर्ने थियो । संसदीय दलमा वामदेव गौतमको साथ जता रहन्छ उसैले नेता पद पाउने स्थिति भएपछि नेता विष्णु पौडेल र व्यापारी दीपक भट्टहरू वामदेवलाई केपीसँग मिलाउन सक्रिय भएका थिए । त्यसक्रममा भैँसेपाटीस्थित वामदेवकै घरमा पटक–पटक भएको छलफलमा ‘केपीको स्वास्थ्यस्थिति ठीक नरहेकोले उनी कति समय सक्रिय रहन्छन् भन्ने टुङ्गो छैन, त्यसैले कार्यबाहक अध्यक्ष लिएर वामदेवले संसदीय दलको नेतामा केपीलाई समर्थन गर्नु उपयुक्त हुने’ भन्ने कुरा उठ्थ्यो । र, यही कुराबाट प्रभावित भएर वामदेव केपीलाई संसदीय दलको नेता पदमा समर्थन गर्न राजी भएका थिए ।
त्यसबेला सुशील कोइराला प्रधानमन्त्री पदमा थिए । संसदीय दलको नेतामा केपी विजयी भएको केही दिनपछि नै आफू पार्टीको कार्यबाहक अध्यक्ष बन्ने कुरामा वामदेव ढुक्क भएका थिए । छिटो पद हस्तान्तरण गराउनुपऱ्यो भनी वामदेव विष्णु पौडेल र दीपक भट्टहरूमाथि बारम्बार दबाब दिइरहन्थे । केपी बिरामी भएकोले कार्यबाहक अध्यक्ष पद आफूले लिने भनी वामदेव स्वयमले अन्य कतिपय निकटस्थ व्यक्तिहरूसँग पनि भन्ने गरेका थिए । वामदेवको दबाब थेग्न नसकेर विष्णु पौडेल र दीपक भट्टहरू एक दिन बालकोटस्थित केपीको निवासमा पुगे । उनीहरूले पूर्वसहमतिअनुसार वामदेव कामरेडलाई पार्टीको कार्यबाहक अध्यक्ष बनाउनुपर्ने भनी केपीको ध्यान आकर्षित गरे । पौडेल र भट्टहरू वामदेवले पठाएर आएका रहेछन् भन्ने केपीले नबुझ्ने कुरै भएन ।
त्यसपछि आफू अनुपस्थित रहेको आन्तरिक बैठकमा वामदेवले भनेका शब्द स्मरण गर्दै केपीले जवाफ फर्काए, ‘हो, म त्यसबेला अस्वस्थ थिएँ र मैले वामदेवजीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने कुरा गरेको थिएँ । तर, अहिले म स्वस्थ भइसकेँ, स्वस्थ हुँदाहुँदै पद हस्तान्तरण गर्दा राम्रो सन्देश जाँदैन ।’ यसरी वामदेवको घरमा भएको गुप्त बैठकमा भनिएको कुराको जवाफ केपीले फर्काइदिए र, त्यसपछि भएको निर्वाचनमा आफू पराजित हुनुको कारण केपी नै भएको आरोप वामदेवले लगाउँदै आएका छन् । यसबीचमा सांसद बन्न वामदेवले गरेको प्रयास पनि केपीकै कारण असफल बन्न पुगेको छ ।
घटना नं. ७ (विमल कोइराला प्रकरण)
पूर्वमुख्यसचिव विमल कोइराला इन्फ्रास्टक्चर विकास बैंकको अध्यक्ष थिए र उनले गत मङ्सिरमा प्रधानमन्त्रीले युनिफिकेसन चर्चको कार्यक्रममा सहभागिता जनाउनु गल्ती भएको टिप्पणी सार्वजनिक रूपमा गरेका थिए । त्यसरी प्रधानमन्त्रीको निर्णयमाथि नकारात्मक टिप्पणी गरेको बदलामा कोइराला बैंकको अध्यक्ष पदबाट हटाइएका छन् ।
कसैलाई पुरस्कृत गर्न मात्र नभई प्रतिशोध लिनसमेत नबिर्सने केपी ओलीले अब ‘माओवादी’ प्रचण्डसँगचाहिँ कसरी बदला लिने हुन् प्रतीक्षाको विषय बनेको छ । प्रचण्डले केही वर्षअघि एक विज्ञप्ति जारी गरेर केपीको मानसिक स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका थिए भने २०७३ सालमा प्रचण्डकै कारण केपी प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो । त्यसैले जानकारहरू केपीबाट लिइने ‘अन्तिम बदलाको प्रतीक्षामा’ रहेका छन् ।
प्रतिक्रिया