उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुंगा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १३० आप्रवासी शरणार्थी बेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएमले) बुधबार जनाएको छ ।
आइओएमद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त संगठनले भनेको छ, ‘जिबोटीको ओबोक क्षेत्रनजिकै मंगलबार बिहान भएका डुंगा दुर्घटनामा १३० जनाभन्दा बढी आप्रवासी शरणार्थी डुबेर बेपत्ता भएका छन् ।’ अहिलेसम्म दुईजनालाई जीवितै र तीन महिलाको मृत शरीरलाई उद्धार गरिएको आइओएमले बताएको छ ।
बेपत्ता यात्रुहरूको खोजी अझै जारी रहेको भए पनि उनीहरू पानीमा बेपत्ता भएको करिब २४ घन्टा भएकोले जीवितै उद्धार गर्न सकिने सम्भावना क्षीण रहेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि बेपत्ता भएका नागरिक कुन देशका थिए भन्नेबारेमा पनि आइओएमले जनाएको छैन ।
गरिब इथियोपियाली नागरिक राम्रो आर्थिक अवसरको खोजीमा उक्त बाटो गरेर अरबेली प्रायद्वीपमा छिर्ने गरेका छन् । रेड सी पार गर्ने क्रममा डुबेर वा खानेपानीको अभावमा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।
पछिल्ला वर्षमा इथियोपियाली सरकारले रेड सीको मार्ग प्रयोग गरेर यात्रा गर्दा जीवन खतरामा पर्न सक्ने भनी स्थानीय छापा तथा प्रसारण सञ्चारमाध्यममा दिने गरेका सचेतनामूलक विज्ञापनलाई हटाएका छन् ।
प्रतिक्रिया