‘महात्मा गान्धी विश्वकै महान् नेता’

‘महात्मा गान्धी विश्वकै महान् नेता’


भारतको भूगोलमा जन्म भए पनि शान्ति, अहिंसा र मानवताका पक्षमा निडर भएकै कारण महात्मा गान्धी विश्वकै महान् राजनेताका रुपमा स्थापित हुनुभएको चर्चा गरिएको छ ।

महात्मा गान्धी स्मृति दिवसका अवसरमा यहाँस्थित भारतीय दूतावास र डिल्लीरमण–कल्यायणी रेग्मी स्मृति पुस्तकालय विकास समितिले बुधबार आयोजना गरेको ‘गान्धी : शान्ति, अहिंसा र मानवता’ विषयक कार्यक्रममा सहभागी वक्ताले गान्धी शान्ति र अहिंसाका पूराजी भएको बताए ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गान्धीको सत्यप्रतिको निष्ठा, अहिंसा र मानवता नै मानवजातिलाई शान्ति प्रदान गर्ने एक मात्र असल मार्ग भएको उल्लेख गरे भने पूर्वमन्त्री गणेश शाहले समाजलाई समृद्ध तुल्याउन सबैभन्दा ठूलो अस्त्र भनेको शान्ति र अहिंसा नै भएको बताए ।

यस्तै, पूर्वराजदूत एवं प्राध्यापक जयराज आचार्यले अहिंसा, स्वतन्त्रता, सत्याग्रह, सादाजीवन र छुवाछुद विरुद्ध गान्धीले गर्नुभएको योगदानको विश्व समुदायबाट मुक्त कण्ठले प्रशंसा हुने गरेको अभिव्यक्ति दिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरीले भारतको स्वतन्त्रताका लागि गान्धीले अघि सार्नुभएको अडान र बाटो आधुनिक विश्वले पनि मुक्त कण्ठले प्रशंसा र अनुशरण गर्दै आएको धारणा व्यक्त गरे ।

सन् १८६९ मा भारतमा जन्मिएका गान्धीले सर्वप्रथम दक्षिण अफ्रीकामा जातीय रङ्गभेद विरुद्धको आन्दोलनमा समेत सक्रिय योगदान पुऱ्याएका थिए । उनले भारतमा शासन त्यसबेला चलाइरहेको अङ्ग्रेजविरुद्ध भारत छोड अभियान सञ्चालन गरे भने आन्दोलन शुरु गरेको ३२ वर्षपछि १९४७ मा भारत स्वतन्त्र भएको थियो । भारतीय जनताले राष्ट्रपिताका रुपमा सम्मान गर्ने गान्धीको सन् १९४८ जनवरी ३० मा गान्धीको देहावसान भएको हो ।