मलेसियाको १६औँ राजाका रूपमा सुल्तान अहमद शाहको राज्यारोहण

मलेसियाको १६औँ राजाका रूपमा सुल्तान अहमद शाहको राज्यारोहण


मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । यसअघिका राजाले पाँचवर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचनमार्फत छनोट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् ।

खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोसाक लगाएका थिए । क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा सांस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले शपथग्रहण गरेका थिए ।

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजाराँै अतिथि, मुस्लिम धर्मगुरुलगायतको उल्लेख्य सहभागिता थियो भने टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । शपथग्रहण अगाडि ५९ वर्षीय नयाँ राजा अब्दुल्लाहलाई राष्ट्रिय संसदमा स्वागत गरिएको थियो भने सम्मान गारत पनि दिइएको थियो ।

मलेसियाको राजसभाद्वारा केही दिनअगाडि संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाको १६औँ राजा भएका छन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले यही जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको हो ।

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावधि नसकिँदै राजीनामा दिने मुहम्मद पहिलो राजा बनेका छन् । उनले राजीनामा दिनुको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन, तर रुसी पूर्वसुन्दरीसँग विवाह गरेकाले उनले राजीनामा दिएको बताइएको छ ।

राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय १५औँ राजा सुल्तानले केही सातादेखि बिदा लिएका थिए । उनले गत नोभेम्बरमा औषधोपचारका लागि भन्दै लामो बिदा लिएका थिए । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्पराअनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन् ।

नयाँ राजा अब्दुल्लाह खेलकुद क्षेत्रमा अत्यधिक सक्रिय छन् । उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषदको सदस्य पनि थिए । साथै उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन् । उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रूपमा घोषणा गरिएको अधिकारीहरूले बताएका छन् । यसअघि पनि कार्यबाहक राजाको जिम्मेवारी सम्हालेका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रूपमा फेरि पनि पाँच वर्षका लागि निरन्तरता दिइएको हो ।

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुने व्यवस्था छैन । तर, प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ । मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसंख्यक मुसलमानले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन् ।

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर, राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ । मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यमा गभर्नर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रिय प्रणालीमार्फत पाँच–पाँच वर्षका लागि राजा छान्ने परम्परा रहेको छ ।

प्रायः पालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको भएकाले त्यहीँका सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह राजा भएका हुन् ।