जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरूले देखाएका छन् ।
श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गत डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध थिए ।
धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै छ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको छ । मुलुकको बेरोजगारी दर पनि गत डिसेम्बरमा निकै न्यून छ । मन्त्रालयका अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलव १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलव ४ प्रतिशत भएको छ ।
जापानको अर्थतन्त्र गत वर्ष सेप्टेम्बरअघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटकपटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुवैमा असर परेको थियो । तर, विश्लेषकहरूले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गत वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।
प्रतिक्रिया