शेयरबजार ओरालो लागेसँगै जापानको निवृत्तिभरण कोषमा अर्बौं डलरको नोक्सानी

शेयरबजार ओरालो लागेसँगै जापानको निवृत्तिभरण कोषमा अर्बौं डलरको नोक्सानी


जापानको सार्वजनिक निवृत्तिभरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रूपमा शेयर बजारमा आएको मन्दीसँगै यति ठूलो नोक्सान भएको हो ।

सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको चार महिनाको अवधिमा करिब ९ दशमलब १ प्रतिशत नोक्सानी भएको जनाएको छ ।

गत वर्ष सन् २०१८ को अन्तिम चौमासिकमा विश्व शेयर बजार केही खस्किएको थियो । खासगरी, एक महिनाभन्दा बढी समय अमेरिकी संघीय कार्यालयहरू आंशिक बन्द भएका र अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी तनाव सिर्जना गरेका कारण शेयर बजारमा अनिश्चय छाएको थियो ।

‘अक्टोबरदेखि डिसेम्बरको चौमासिक अवधिमा अनिश्चित बनेको विश्व आर्थिक तथा कर्पोरेट परिदृश्यका कारण घरेलु र अन्तर्राष्ट्रिय शेयर बजार निकै ओरालो लाग्यो,’ कोषका अध्यक्ष नोरिहिरो ताकाहासीले एक विज्ञप्ति प्रकाशन गरी बताएका छन् ।

यद्यपि, उनले कोषमा दीर्घकालीन लगानीकर्ताहरू रहेका र उनीहरूले वर्षमा औसतमा २ दशमलब ७३ प्रतिशत नाफा कमाउन सफल रहेको बताए । जापानी निवृत्तिभरण कोषमा १५० ट्रिलियन येनभन्दा बढी रकम रहेको छ ।