चीन-अमेरिकाबीच व्यापार वार्तामा महत्वपूर्ण प्रगति

चीन-अमेरिकाबीच व्यापार वार्तामा महत्वपूर्ण प्रगति


वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले जनाएका छन् । वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ र अमेरिकी उच्च प्रतिनिधिमण्डलका सदस्यबीच चीन–अमेरिकाबीच देखिँदै आएको आर्थिक एवं व्यापार विवादलाई समाधानका लागि गत बुधबार र बिहीबार छलफल भएको थियो ।

चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ता टोलीले समानान्तर अमेरिकी समूहसँग छलफल गरेपछि वातावरण सकारात्मक एवं महत्वपूर्ण बनेको भन्दै अर्को चरणको लागि तालिका, कार्यदिशा र परामर्शका लागि दुवै समूहले सहमति जनाएका छन् ।

वार्ता सकारात्मक देखिएपछि बिहीबार नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ टोली नेता तथा उप–प्रधानमन्त्री लिउसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका सिन्ह्वाले जनाएको छ ।

कठिन प्रयासपछि भएको प्रगति दुवै पक्षका राष्ट्रप्रमुखले अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा गत डिसेम्बरमा व्यापार विवादलाई समाधान गर्न गरेको सहमतिलाई गम्भीर कार्यान्वयनमा लाने सहमतिबाट सम्भव भएको हो ।

अर्जेन्टिनामा दुई देशका नेताले दुबै पक्षले आगामी ९० दिनभित्र आपसी हितका लागि सम्भौता गरी व्यापार विवादलाई टुङ्ग्याउने सहमति भए अनुरूप नै वार्ता अघि बढेको हो ।

महत्वपूर्ण प्रगति

दुईदिने लामो वार्तामा अमेरिका र चीनका प्रतिनिधिले व्यापार सन्तुलन, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा, गैर–करमुलक अवरोध, सेवा क्षेत्र, कृषि र कार्य सम्पादन व्यवस्था साथसाथै चिनियाँ पक्षका विशेष चासोका केही विषयमा पनि छलफल गरिएको छ । अहिलेसम्मको अवस्थामा वार्ताले महत्वपूर्ण प्रगति हाँसिल गरेको, चिनियाँ प्रतिनिधिमण्डलले जनाएको छ ।

दुवै समूहले दुईपक्षीय व्यापारमा थप सन्तुलित बनाउने उपायलाई अघि बढाउन सहमत भएका छन् । चिनियाँ पक्षले अमेरिकाबाट चीन आयात गर्ने कृषि, उर्जा, निर्माण तथा अन्य सेवामुलक सामानमा विस्तार गर्ने र यसले चिनियाँ जनताको उच्च तथा गुणस्तरीय आर्थिक विकासको मागलाई सम्बोधन गर्ने चीनको विश्वास छ ।

दुई पक्षबीच चिनियाँ तथा अमेरिकी विशेष चासोबारे छलफल भएको र यसले तिनलाई गम्भीर रूपमा सम्बोधन गर्ने बताइएको छ । वार्ताका क्रममा दुवै पक्षले प्रभावकारी दुईपक्षीय संयन्त्र निर्माण गरेर परामर्शबाट भएका सहमति र निस्केका उपायलाई अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।्

दुई शक्तिशाली अर्थतन्त्रका वार्ता टोलीबीच आगामी दिनमा निर्माण गरिने अनुगमन संयन्त्रको संरचना र आधारभूत कुराहरूमा सैद्धान्तिक सहमति बनेको छ । टोलीले समस्यालाई कम गर्न थप प्रयासलाई जारी राख्ने र अघि बढ्ने विषयमा सहमति जनाएको छ ।