श्रीलंकाले माग्यो चीनसँग एक अर्ब डलर ऋण

श्रीलंकाले माग्यो चीनसँग एक अर्ब डलर ऋण


श्रीलंकाले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ ।

श्रीलंकासँग विदेशी मुलुकलाई यसै वर्ष मात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ । अर्थ मन्त्रालयका प्रवक्ता एम.आर. हसनले राजमार्ग निर्माणसम्बन्धी ऋणका सर्तहरू स्वीकृत हुने अपेक्षा गरिरहेको बताए । श्रीलंकाले हालैका वर्षहरूमा चीनबाट सबैभन्दा बढी ऋण प्राप्त गरिरहेको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले विपक्षी महिन्दा राजापाक्षले मुलुकलाई चिनियाँ ऋणको जालोमा पारेको आरोप लगाउँदै आएको छ । तर, आर्थिक दबाब झेल्दै आएको वर्तमान सरकारले पुनः चीनसँग ठूलो परिमाणमा ऋण लिन लागेको छ ।

चीनसँगको निकटतालाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमासिंघेबीच राजनीतिक द्वन्द्व चर्किएको थियो ।