भेनेजुएलाको आन्तरिक राजनीतिक संकटबारे विश्व नै विभाजित भएपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संकट समाधानको प्रयासस्वरूप समयअगावै निर्वाचनको प्रस्ताव गरेका छन् ।
यहाँका विपक्षी आन्दोलनकारीहरूले राष्ट्रपति निकोलस मदुरोविरुद्ध शनिबार बृहत प्रदर्शन गरेका थिए र उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए । उक्त विरोध प्रदर्शनका क्रममा विपक्षीहरूले पनि यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरूले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए ।
उनीहरूले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समयअगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेका छन् । राष्ट्रपति मदुरोले राजनीतिक समस्याको समाधानका लागि निर्वाचन एक उत्तम उपाय हुन सक्ने बताएको समाचारमा जनाइएको छ ।
उता आफैँले अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकालगायतका देशको समर्थन पाएका विपक्षी नेता हुँवा गुएइदो समर्थकहरूले शुक्रबार व्यापक रूपमा प्रदर्शन गरेका थिए । त्यसपछि शनिबार राष्ट्रपति मदुरोले सो निर्वाचनको प्रस्ताव गरेका हुन् । युरोपेली संघमा आबद्ध प्रमुख देशहरूले पनि नयाँ निर्वाचनको वातावरण बनाउन सकेमा वर्तमान समस्याको समाधान निस्किन सक्ने प्रस्ताव गरेका छन् ।
विपक्षी नेता गुएइदोका समर्थक विदेशीहरूले पनि मदुरोलाई जतिसक्दो चाँडो निर्वाचन घोषणाका लागि गत हप्ता एक हप्ताको समय दिएका थिए । यस परिस्थितिमा राष्ट्रपति मदुरोले निर्वाचन गर्न सकिने प्रस्ताव गरेबाट यहाँको राजनीतिक संकटको समाधान पनि निस्किन सक्ने अनुमान गरिएको छ ।
यहाँको नेसनल एसेम्ब्लीको निर्वाचन सन् २०१७ मा भएको थियो । सो निर्वाचन भेनेजुएलामा संविधान निर्माणका लागि भन्दै भएको हो । यो संविधान सभाको निर्वाचन थियो र यसले संविधान निर्माण गर्ने भनिएको थियो । तर, सो निर्वाचन विपक्षीहरूले बहिष्कार गरेका थिए । जसका कारण राष्ट्रपति मोदुरोका पक्षधरहरूको मात्र संसदमा प्रतिनधित्व भएको थियो । त्यसैले पनि गुएइदोहरूले सो निर्वाचनबाट निर्वाचित सरकार वैधानिक नभएको दाबी गर्दै आएका हुन् ।
अब नियमित रूपमा भएमा आगामी निर्वाचन सन् २०२० मा हुनुपर्ने हो । तैपनि सन् २०१७ को संविधानसभाको निर्वाचनको परिणाम विपक्षीहरूले स्वीकार नगरेका र अर्काे निर्वाचनको माग गरेकोले त्यसअगावै निर्वाचन गर्न सकिने राष्ट्रपति मदुरोले बताए । विपक्षीहरूले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकापछि उहाँको यो प्रस्ताव आएको अनुमान गरिएको छ ।
भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक संकट बढ्दो छ । यहाँको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आएका छन् । उनले केही दिनअघि आफैँलाई अन्तरिम राष्ट्रपतिका रूपमा घोषणा गेका थिए । उनको यो कदमलाई अमेरिका र अरू केही विदेशीले समर्थन गरेपछि यहाँको संकट बढेको हो ।
प्रतिक्रिया