भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले सो धारणा राखेका हुन् ।
अन्तर्वार्तामा मदुरोले भने– देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरुको क्रियाकलापमा निर्भर रहने छ ।
आइतबार प्रसारित सो टेलिभिजन अन्तर्वार्तामा मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने अवस्था आउने चेतावनी समेत दिएका एएफपीले जनाएको छ ।
राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको कडा शब्दमा आलोचना गरेका छन् ।
गत महिना विपक्षी नेता हुँवा गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रहरुको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको दाबी गर्दै आएका छन् ।
भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष जारी छ । मदुरोले आफू नै निर्वाचन निर्वाचित राष्ट्रपति भएको बताएका छन् भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ ।
उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवै जनाले आ–आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उनले सो धारणा राखेका हुन् ।
सो प्रश्नको जवाफमा उनले भनेका छन्– हो, यो कुरालाई कसैले नकार्न पनि सक्दैन र अहिले नै यो प्रश्नको जवाफ पनि कसैले दिन सक्दैन ।
तर अहिले पनि भेनेजुएलामा विदेशी शक्ति राष्ट्रहरुका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्न सक्ने उनको दाबी थियो ।
सोही अन्तर्वार्तामा उनले युरोपेली युनियनले यसअघि आइतबार अघि सारेको समय अगावैको आम निर्वाचनको प्रस्तावलाई पनि नकारेका थिए ।
यसअघि यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीहरुले पनि मान्नुपर्ने धारणा राखेको थियो ।
राष्ट्रपति मदुरोले पनि यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचन गर्न सकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने संकेत गरेका थिए ।
विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेर उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए ।
उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेका बताइएको थियो ।
गएको शनिवार मात्र यस देशको राजधानी शहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइदोका समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शनहरू आयोजना गरेका थिए । शनिबारको प्रदर्शनको क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइदोको समर्थनका लागि समेत आह्वान गरेका थिए । सो समर्थनपछि झन् गुइदो अघि बढ्नुभएको बताइएको छ ।
मदुरोलाई सत्ताबाट हटाउन गुइदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरू गरेको र मदुरोको मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारहरुमा बताइएको छ ।
विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकापछि मदुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान गरिएको थियो ।
भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गुइदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आएका छन् ।
उनले केही दिन अगाडि आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका थिए । उनको यो कदमलाई अमेरिका र अरु केही विदेशीहरुले समर्थन गरेपछि त्यहाँको सङ्कट बढेको हो ।
प्रतिक्रिया