– विनोद त्रिपाठी
जीवन विकले आफूले मन पराएकी केटीलाई अपराध गर्न असोजदेखि योजना बनाएको उनले प्रहरीसमक्ष उल्लेख गरेछन् । अन्ततः उनले ६ महिनामा आफ्नो आपराधिक योजना सफल बनाएर छोडे । माओवादीले जनयुद्धका नाममा सशस्त्र युद्ध चलाउन पूर्ण रूपमा ०४८ सालको आमनिर्वाचनपछि करिब ३ वर्षको जोडदार तयारीबाट युद्धको सुरुवात ग-यो । हालै प्रदर्शनमा रहेको दक्षिण भारतीय फिल्म बदलापुरको सुटिङ कार्य सम्पन्न हुन करिब ६ महिना लाग्यो । जीवन विकको बदलाभाव र अहिले चलिरहेको फिल्म बदलापुरको योजना संयोगले सँगसँगै परेको छ । श्रीराम राघवनद्वारा निर्देशित फिल्ममा बदला लिने हिरोभन्दा माफी दिने नवाजुद्धिन सिद्धिकी महान् ठहरिएका छन् ।
माओवादीको सशस्त्र युद्धलाई शान्ति प्रक्रियामा ल्याउन माओवादी नेताहरूलाई एकखालको माफी दिएर लोकतन्त्रमा हिँडाउन काङ्ग्रेस–एमालेले सधैँका लागि राजतन्त्रसँग सम्बन्धविच्छेद गरे । भलै त्यो पूरै माफी थिएन, त्यसको फैसला हालै गठित सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ला तर, माओवादीको मनमस्तिष्कमा बदलाको भाव छोडेको छैन । जसरी जीवन विकको एसिड काण्डले नेपाली नरनारीलाई निर्धक्क डुल्न सशङ्कित बनायो । त्यसरी नै माओवादीको आतङ्क टुक्राटुक्रामा विभाजित भएपछि जनतामा शान्ति, अमनचयन, संविधान निर्माण प्रक्रिया, समृद्धि, विकासमा अवरोध पारिरहेको छ । न्यायको कुरा गर्नुपर्दा पूजा बोहराको बलात्कार काण्डले न्याय पाउनै नसक्ने बनाइदियो । देशभरका दिनदिनै हुने बलात्कारका खबरले हामी बधशालामा छौँ कि नर्कस्थानमा भन्ने द्विविधा बनाइदिएको छ । पछिल्ला अपराधका घटनामा नेपाली छोरीहरू कसरी बाँच्ने हुन्, कसरी खुसी साट्ने हुन्, कसरी ठूलो लक्ष्य बोकेर हाम्रा छोरीहरू हिँड्ने हुन् भन्ने विषयमा सोच्नै नसक्ने समाज निर्माण गरिदिएको छ । यति धेरै अपराधीकरणतर्फ समाज हुँकिएको सायद पछिल्लो राजनीति परिवर्तनकालमै होला । तर, पनि हामी गणतन्त्र ल्याएकोमा मख्ख छौँ ।
हुन त पञ्चायतकालमा सुनिएका नमिता–सुनिता काण्डजस्ता अपराधका घटनाले त्यतिबेलाको समाज नरोएको होइन । अखबारका पानामा नछापिएका बलत्कार घटना हुँदै नभएका होइनन् । त्यस्ता गुमनाम अपराध एकाध अदालतसम्म पुग्थे । तर, त्यसबेला जनताको शासन नभएको भन्दै हाम्रो जीवनयापन सुखी र सुरक्षित बनाउने भनेर राजनीतिक परिवर्तनका लागि ठूलो सङ्घर्ष ग-यौँ । फलस्वरूप नेपालमा २०४६ सालमा बहुदलीय व्यवस्था आयो, प्रजातन्त्र आयो । तर, अपराध घटेन, ०५२ सालदेखि १० वर्षसम्म राजनीतिक रूपमै संस्थागत अपराधमा नेपाली समाज आक्रान्त बनायौँ । तर, पनि अहिले हामी राजतन्त्र फाल्न सकेको भनेर गर्व गर्छौं ।
न्यायकै लागि अदालत धाउँदाधाउँदा आफ्नो जीवनकालसम्म न्याय नपाएरै मर्न परेका घटना यही बहुदलकालमै भए । युद्धमा होमिएर १५ हजार नेपाली नागरिकको अनाहकमा ज्यान गए पनि कताबाट उनीहरूको परिवारलाई न्याय मिल्ने हो अझै कुनै टुङ्गो छैन । यही माओवादी युद्धमा नेपाली युवाको अपराधीकरणमा राजनीतीकरण गरियो । फलस्वरूप अपराधसँग जोडिएका युवाहरू जनयुद्धको नाममा समाहित हुन पुगे र अपराधका काममा ढाकछोप गर्ने सिलसिला सुरु भयो । यो परिपाटीलाई केही परिवर्तन गरेर युद्धको अन्त्यपछि पनि माओवादीको युवा जमात अपराधका कामलाई फरक ढङ्गबाट परिचालन भए भने अन्य दलहरूले पनि यसैको प्रतिकारमा गुण्डा जमातको सिर्जना गर्न कस्सिए । तर पनि नेपाली राजनीतिले गणतन्त्र ल्याएकोमा यस्तो कहालीलाग्दो अवस्थालाई बिर्सेर मख्ख छौँ ।
अहिले दिनहुँ हुने बलात्कारका घटनाले हरेक नेपालीको मन रोएको छ । खबर सुन्न, पढ्न र हेर्न पनि नसकिने खालका अपराधजन्य बलात्कार घटनाले नेपाली समाज कतातिर गइरहेछ भन्ने स्पष्ट सङ्केत गरेको छ । यस्ता घटनाले सर्वसाधारणको मन भक्कानिएको छ, तर सरकार यति मस्तराम छ कि जनताको रोदनमा पूरै बहिरो छ । कहिल्यै चीत्कार सुनेन । लौन न्याय देऊ भनेर ढोकैमा पुग्दासमेत सुन्दैन । तर, पनि सरकार गणतन्त्र सरकार चलाउन पाएकोमा उन्मत्त बन्छ ।
हरेक जनताले एउटा सपना देखेको हुन्छ । त्यो हो, आफ्नो देश सुन्दर बनोस् र म पनि सुखी बनुँ । देशलाई योगदान के–कति दिने जनताको आ–आफ्ना विचारमा भर पर्छ । सुखी र खुसी पाउनलाई दिनरात यिनै जनता मिहिनेत गर्छन् । तर, जनतालाई सुखी र खुसी बनाउन राज्यको दायित्व कता हो कता सुरक्षाको प्रत्याभूतिसम्म दिन सक्दैन । तर, हरेक परिवर्तनमा दलहरू जनताकै नाममा राजनीतिको खेती गर्छन् । न यो खेतीले जनतालाई अन्न दिएको छ न कपास दिएको छ । तर, पनि राजतन्त्रविहीन देश हाँकेकोमा मिनी राजा बनेका नेताहरू कथित गौरवान्वित बन्छन् ।
राजनीतिकै सेरोफेरोमा जनतालाई भुलाएर दलहरू सरकार चलाउन जसरी होडबाजी गर्छन्, त्यसरी सुशासन र सुरक्षाको प्रत्याभूति दिन कहिल्यै अग्रसर भएनन् । दलहरू जातजातिका विषय, धर्म–संस्कृतिका कुरा, भूगोल–क्षेत्रका मागको सम्बोधनलाई संविधानमा समेट्न दुईवटा संविधानसभाको चुनाव गरिसकेका छन् । एकथरी दलहरू यस्ता प्रकारका विषयलाई देशको गौरवसँग जोडेर हेर्न चाहन्छन् । एकथरी जातीय सङ्घीयताको घेरालाई कोर्न दिन हुन्न भन्दै छन् । विकास र समृद्धिको कुरा गर्दा एकथरीले जातीय उत्थानका विषय मजाले उछाल्छन् । यसरी राजनीतिक परिवर्तनका नाममा देश आफ्नै बन्धक बनाउनेहरूले जनतासँग जोडिएका रोजीरोटी र सुरक्षामा कहिल्यै बोलेनन् । तर, पनि राजतन्त्र फालेकै कारण देखाएर जनतासँग महान् उपलब्धिको धाक देखाउन पाउँदा दलहरू आत्मसन्तुष्टि बन्छन् ।
माओवादी युद्धमा टोले गुण्डा सेलाएको अनुभव धेरैले गरे । तर, माओवादी नै समूहगत गुण्डाजस्तै बने । धमाधम बदला लिन्थे माओवादी । पुरानो रिस पोख्न कथित जनकारवाहीका नाममा उनीहरूको विचारसँग असहमत राख्नेलाई बदला लिइछाड्थे । अहिले जातीय र क्षेत्रीयका कुरा जोडदारले उठाउने केही लेखकले त्यो अपराधलाई अग्रगमनको फूलबुट्टा भरिदिन्थे । अझ अहिले केही लेखकले नेपालको इतिहास पूरै गलत थियो भन्ने प्रचारबाजी लाग्नेहरूले यस्ता अपराधलाई परिवर्तनका नाममा भएको प्रगतिशील उत्सव भनेर प्रचार गरिदिन्थे । आज एकोहोरो मन पराएर जीवन विकले भर्खर एसएलसी दिने किशोरीमाथि एसिड खन्याए । त्यसरी नै देशलाई जातिगत नाममा सङ्घीयताबाट राज्य चाहियो, उसलाई यो राज्य दिनुप-यो भन्नेहरूले बदलापुरको नकारात्मक भूमिकाको हिरो जसरी शब्द छरेका छन् । हिरो त हिरो नै हुन् दक्षिण भारतीय फिल्म बदलापुरका, तर आफूले भनेको नमान्ने केटी साथीलाई मार्छन्, अर्का साथीलाई मारेर पोको पार्छन्, त्यस्तै बदलाको भावना हरेक जातजाति, सम्प्रदाय, धर्ममा छरेर नेपाली नेपालीबीच गजबले फाटो ल्याइदिएका छन् । अनि भन्ने गर्छन्– यिनै लेखकहरू मधेसले आफ्नो अधिकार कहिल्यै पाएन । पूर्वको लिम्बूले कहिल्यै आफ्नो राष्ट्रियता जानेन । त्यसैले, अब फेरि बदलाको भावनाबाट उद्वेलित यो समाजबाट र उत्प्रेरणा छर्ने लेखकबाट के–कस्तो बदलाका अपराधका परिणाम निस्कने हुन्, त्यो देख्न धेरै वर्ष कुर्नुपर्ने छैन । तर पनि माओवादी युद्धकै परिणतिका आधारमा गणतन्त्र नेपालमा आएको भन्दै रम्न चाहनेहरू जनतालाई झुटा गुलियो आश्वासन बाँड्दै छन् ।
दिल्लीबाट नेपालमा राजतन्त्र हटाउन जसरी आकाशवाणी भयो, त्यसरी नै त्यही दिल्लीबाट एसिड भित्याउने बाटो खोलिदियो । खुल्ला सिमानाको नेपाल–भारत सम्बन्धले हाम्रो रोटी र बेटीको नाता मात्र जोडेन, उत्तर प्रदेश, बिहार, झारखण्डजस्ता विश्वमै महिला हिंसा र सामाजिक उत्पीडन भोगेका दर्दनाक घटनाहरू पनि नेपालमा सल्कियो । त्यसैको फलस्वरूप आज नेपालीले जान्दै नजानेको एसिड अपराध गर्न थाले भने हिजो नक्सालवादीको अनुशरण गर्दै माओबवादी त्यही भूमिबाट नेपाल छि-यो । आज जीवन विकको एसिडआतङ्क र माओवादीको युद्धको सिको त्यस्तै प्रकारका अपराधी नागरिकका लागि तालिमजस्तै बनेको छ । तर, पनि जीवन विकको अपराधलाई जातीय नाम जोड्नेहरू र माओवादीको युद्धलाई अग्रगमन भन्नेहरूले नेपालीबीच बदलाका भावना जागृत गर्न कम्मर कसेर लागेको देख्दा नेपालभित्र डरलाग्दो दक्षिण भारतीय फिल्म बदलापुरको जस्तै कथा सुरु भएको छ ।
प्रतिक्रिया