शताब्दीकै शक्तिशाली बाढीको चपेटमा अष्ट्रेलिया

शताब्दीकै शक्तिशाली बाढीको चपेटमा अष्ट्रेलिया


अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको अष्ट्रेलियामा वर्षाका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।

उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका र सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको एएफपीले जनाएको छ ।

उनीहरु बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेका छन् ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन् । उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गरेका छन् ।

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ । उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जनाएका छन् ।

पेरिसमा भएको आगलागीमा आठको मृत्यु


फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ । आगलागीबाट मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का अधिकारीहरुको छ ।

यस आगलागीमा परी तीन अग्नि नियन्त्रकसहित २७ व्यक्ति घाइते भएका छन् । यद्यपी घाइतेहरुको स्थिति भने सामान्य रहेको बताइएको छ ।

आठ तल्ले सो भवन रहेको क्षेत्रमा विदेशी राजदूतावास र फ्रान्सको एक प्रसिद्ध सङ्ग्रहालय रहेको छ । प्रहरीले आगलागीको घटनामा शङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।