अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भिडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मंगलबार विभिन्न सुरक्षाचौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकुका साथै २० जना सुरक्षाकर्मीको मृत्यु भएको एकजना स्थानीय अधिकारीले नाम गोप्य राख्ने सर्तमा बताए ।
घाइते बनेका केही लडाकुलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए ।
यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाईले सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे जानकारी नगराईकन २२ जना तालिवान लडाकुको मृत्यु भएको र १८ जना घाइते भएका बताए । रेजाईले विद्रोही अहिले भिडन्त भएका स्थानहरूबाट भागिसकेको बताए ।
घटनामा दर्जनौँ सुरक्षाकर्मीको मृत्यु भएको र करिब ३० जना घाइते भएका एक स्थानीयले बताए ।
तालिवान समूहका प्रवक्ता जाबिहुल्ला मजाहिदले सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा विद्रोही लडाकुले सरकारी सुरक्षाफौजमाथि गरेको कारबाहीमा शुरुमा १० जना प्रहरीको मृत्यु भएको र केही सुरक्षाचौकीहरूलाई नियन्त्रणमा लिने क्रममा थप केही सुरक्षाकर्मीको मृत्यु भएको बताए ।
प्रतिक्रिया