विशेष आलेख
रेनमिन विश्वविद्यालयका प्रोफेसर डा. हुआङ (HUANG WEIPNG) ले चिनियाँ अर्थतन्त्र र त्यसको विकासको बारेमा व्याख्या गरिरहँदा मेरो दिमागमा आफ्नो मुलुकको अवस्था र यहाँका राजनीतिकर्मी एवम् नीतिनिर्माण तहमा रहेका कर्मचारीहरूको आकृति पटकपटक झुल्किरह्यो । सन् १९७८ मा प्रतिव्यक्ति आम्दानी दुई सय अमेरिकी डलर रहेको चीनले निकै छोटो अवधिमा कति छिटो साढे सात हजार (७४००) पु-यायो, डा. हुआङ त्यसको रोचक विवरण प्रस्तुत गर्दै थिए । सन् १९७८ भन्दा अघि गाँस, बास र कपडाको अभाव भएको, तर त्यसपछिका दिनमा चीनको आर्थिक विकास दिन दुगना रात चौगुनाको दरले भएको ‘कथा’ सुनाउँदा हुआङका आँखा निकै चम्किएका थिए । १९७८ मा देङ सियाओ पिङको उदयपश्चात् चीनले गरेको प्रगतिको सविस्तार व्याख्या गर्दा उनले माओकालको दुःख–कष्टका बारेमा त्यति समय खर्चन चाहेनन् । तर, पछिल्लो साढे तीन दशकको खुसी ‘सेयर’ गर्ने क्रममा बेलाबखत माओकालीन व्यथा फुस्किएको महसुस हामी गथ्र्यौं । प्राध्यापक हुआङले गौरव साथ भने, ‘१९७८ मा हाम्रो जीडीपी (कुल गार्हस्थ उत्पादन) दुई सय विलियन अमेरिकी डलरबराबर थियो, २०१२ मा आइपुग्दा ९.४ ट्रिलिएन डलर पुग्यो ।’
हामी प्रोफेसर हुआङ विपिङबाट वन बेल्ट वन रोड (One belt One road) अवधारणाबारे प्रवचन सुन्न रेनमिन विश्वविद्यालयको सातौँ तलास्थित एउटा कक्षाकोठामा थियौँ । प्रोफेसर हुआङ आफ्नो विषयका निकै ठूला विद्वान् मानिन्छन् । चीनमा अत्यन्त सम्मानित उनले विश्वमा कहलिएका अर्थशास्त्र र केही विकसित देशका पूर्व तथा बहालवाला अर्थमन्त्रीहरूसँग भेटेर छलफल पनि गरेका रहेछन् । अङ्गे्रजी भाषामा राम्रोसँग ‘कम्युनिकेट’ गर्न सक्ने क्षमता भएका उनले भने, ‘विकासका निम्ति परम्परागत ठाउँबाट नयाँ ठाउँमा मानिसहरू सर्नैपर्छ, कृषिबाट उद्योगमा छलाङ नमारीकन अर्थतन्त्रको विकास मुस्किल छ ।’ अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भए/नभएको सङ्केत बचत अनुपातले गर्दछ भन्दै डा. हुआङले अगाडि भने, ‘चीनको बचत अनुपात (दर) तीस (३०) प्रतिशत छ र लगानीको मात्रा र वातावरण पनि यहाँ निकै सकारात्मक छ ।’ चीन कोइला, सिमेन्ट, कपडा, एयर कन्डिसनर, टेलिभिजन, मोटरसाइकल, टेपरेकर्डर, वासिङमेसिन, गहुँ, कपास, मासु, सिफुड, फूल, इलेक्ट्रोनिक पावर आदिको उत्पादनमा पहिलो मुलुक बनेको छ । चीनमा शतप्रतिशतभन्दा बढी टेलिभिजन प्रयोग/खपत भइरहेको छ भने एक अर्ब चालीस करोड जनसङ्ख्या रहेको उक्त मुलुकका बासिन्दामध्ये प्रतिदश व्यक्ति बराबर एकजनाले कार चढ्ने गर्दछन् । विश्वमा उत्पादन भएकोमध्ये साठी प्रतिशत तेलको उपभोग चीनमा हुने भनाइ प्राध्यापक हुआङको छ । उनले थपे, ‘प्राकृतिक स्रोतको सबैभन्दा ठूलो उपभोक्ता हामी हौँ, तर अब प्रकृतिक र प्राकृतिक स्रोतको रक्षक हामीले हुनुपरेको छ, हाम्रा लागि यो ठूलो चुनौती भए पनि यसमा सफलता पाउनैपर्छ ।’ सन्दर्भवश चीनका छिमेकी राष्ट्रहरूको कुरा आउँदा प्रोफेसर वाङ केही तरङ्गित भए, रसियासँग सम्बन्ध निकै सुध्रिएको बेलिविस्तार लगाउँदै उनले भने, रसियासँग हाम्रो सम्बन्ध राम्रो छ, तर कतिपय मानिस रसियासँग ढुक्क रहन सकिँदैन भन्छन्, रसियाली सोच जस्तो भए पनि हामीले मित्रताको धर्म निर्वाह गरिरहेका छौँ ।’ चीनका जनतामध्ये पूर्वतिर बसोबास गर्नेहरूको आम्दानी बढी छ । मध्य र पश्चिमी चीनमा बस्नेहरूको भन्दा कम्तीमा दोब्बर आम्दानी पूर्वका बासिन्दाको छ । तर, सी जिनपिङको उदयसँगै उनले वन बेल्ट वन रोड (One belt One road) को जुन आवधारणा ल्याएका छन् यसले पश्चिम तथा मध्यचीनको विकासमा उल्लेख्य योगदान पु-याउने विश्वास गर्न सकिन्छ । इशापूर्वदेखि विश्व व्यापारको एउटा प्रमुख मार्ग बनेको ‘सिल्क रोड’लाई व्यवस्थित र सक्रिय तुल्याउने योजना चाइनाले बनाएको छ । प्राध्यापक हुआङको भनाइमा ‘सिल्करोड’ चिनियाँहरूले उत्पत्ति गरेको होइन । चीनको प्राचीन साहित्यमा सिल्करोडबारे कहीँ–कतै उल्लेख छैन, बरु बेलायतलगायत अन्य मुलुकको लेखनीमा सिल्करोडको बारेमा उल्लेख भएको भेटिन्छ । तर, सी जिनपिङ राष्ट्रपति हुनुभएपछि पुरानो ‘सिल्करोड’लाई सक्रिय तुल्याउने योजना बनाइएको छ । राष्ट्रपति सीले वन बेल्ट वन रोड (One belt One road) को अवधारणा अघि सार्नुभएपछि त्यसअन्तर्गत पन्ध्रवटा आर्थिक गन्तव्य तय गरिएको छ । वन बेल्ट वन रोडको अवधारणा व्यापार र आर्थिक उन्नतिसँग पूर्ण सम्बन्धित बताइएको छ । निर्धारित गन्तव्यसँग सडक, रेलवे, पाइपलाइन, हवाईसेवा तथा सञ्चार सम्बन्ध बनाउने र आर्थिक गतिविधि बढाउने उद्देश्य यस अवधारणाले राखेको छ । चीनको पूर्वीसहरबाट मध्य र पश्चिमी चीन हुँदै कजाकिस्तान भएर युरोप व्यापार गर्ने सिल्करोड अफगानिस्तान र पाकिस्तान हुँदै भारतसम्म आइपुग्नेछ । यसले मध्य तथा पश्चिमी चीनका ६ वटा प्रान्तलाई विशेष लाभ पु-याउने प्राध्यापक हुआङको भनाइ छ । तपाईंको ‘वन बेल्ट वन रोड’ अवधारणाबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने जिज्ञाशा मेट्ने राजनीतिक हैसियत प्राध्यापक हुआङसँग हुने ठानिएन । बरु यस प्रश्नको जवाफ चाइना फाउन्डेसन फर पिस एन्ड डिभलमपेन्टका उपमहासचिव ची पिङ (JI Ping) ले दिए । भने, ‘ठीक छ, सिल्करोडले सीधा नेपाललाई कनेक्ट नगर्ला, तर नेपाल दक्षिण एसियाको गेट वे बन्नसक्छ भन्ने कुरालाई हामीले राम्ररी आत्मसात् गरेका छौँ ।’
– देवप्रकाश त्रिपाठी
प्रतिक्रिया