झापा र इलामका चिया उद्योगहरु ठप्प !
- राजबाबु शंकर, भद्रपुर (झापा)
यही असार ४ गतेदेखि झापा जिल्लाका २ दर्जन चिया उद्योग बन्द भएका छन् । नेपाली चिया निकासीमा इण्डियन अवरोधका कारण उत्पन्न समस्या समाधानमा नेपाल सरकारले पहल नगरी दिएपछि झापाका सम्पूर्ण चिया उद्योगहरू बन्द गरिएका हुन् ।
गत मे १२ तारिख अर्थात् ३५ दिन अघि इण्डियन चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकले लागू गरेको नयाँ ‘स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा जटिल समस्या खडा गरिएको भन्दै समाधानका लागि विभिन्न पहलका बाबजुद कहीं कतैबाट सुनुवाई नभएपछि झापाका सम्पूर्ण चिया उद्योग बन्द गरिएको यहाँस्थित नेपाल चिया उत्पादक संघको केन्द्रीय कार्यालयले जनाएको हो ।
असार ३ गते झापा उद्योग संघको हलमा पत्रकार सम्मेलनमार्फत चिया प्रशोधन कारखानाहरु बन्द गरिएको घोषणा गर्दै चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले– इण्डियामा नेपाली चिया निर्यात गर्न इण्डियन पक्षको नयाँखाले शर्तहरू पूरा गर्न नसकिने भएकोले बाध्य भएर उद्योग बन्द गर्ने निर्णयमा पुग्नु परेको बताएका हुन् ।
इण्डियाले नयाँ एसओपी लागू गरेपछि विभिन्न प्रकारका गुणस्तर परीक्षण, जटिल प्रक्रिया तथा भण्डारण सम्बन्धी लामो प्रक्रियाका कारण नेपालबाट चिया निर्यात हुन सकेको छैन । भन्सार नाकाबाट निकासी भइसकेको नेपालमा उत्पादित तयारी चिया इण्डियन क्रेताको गोदाममा राखेको केही दिनपछि इण्डियन चिया बोर्डले सो चियाको नमूना परीक्षण गराउन लैजाने, प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नु पर्ने, परीक्षण रिपोर्ट आउन २० देखि २५ दिनसम्म लगाउने र गरेबाट गोदाममा थन्काइएको चियाको गुणस्तरमा समेत असर पर्नेे उनकोे कथन छ । र, यदि ल्याब रिपोर्टमा चियाको गुणस्तर कमजोर देखिए भण्डारण गरिएको सबै चिया नष्ट गर्नु पर्ने जस्ता अव्यावहारिक नियमहरू थपिनु नै नेपाली चिया उद्योगमा संकटको कारक भएको उनले बताए ।
यसरी एकातिर, नेपाली चियाको बिक्री इण्डियामा असहज बनाइएको र अर्कातिर, यता उद्योगको गोदाममा चिया थन्किंदा किसानलाई हरियो चियापत्तीको मूल्य, विद्युत महसूल तथा मूल्य अभिवृद्धि कर लगायतका भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको बताउँदै संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले– सरकारले चिया क्षेत्रमा आइपरेको यो पछिल्लो जटिल समस्याको यथाशीघ्र समाधान नगरे चिया उद्योग समाप्त हुन सक्ने बताए ।
यस अघिदेखि नै संघले नेपाली चिया निर्यात प्रभावित भएको भन्दै समस्या समाधानका लागि पहल गरिदिन झापा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाइएको संघका महासचिव शुक्र दाहालले जानकारी दिए ।
नेपालमा उत्पादित सीटीसी र अर्थोडक्स चियाको वार्षिक कारोवार लगभग १२ देखि १४ अर्ब रुपैयाँ बराबरको रहेमध्ये करीब ५ अर्ब रुपैयाँ बराबरको चिया इण्डिया निर्यात हुने गरेको थियो । बाँकी तयारी चियामध्ये केही नेपालमा खपत भई तेस्रो मुलुक निकासी हुने गरेको छ ।
संघका अनुसार, नेपालमा लगभग १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक करीब २ करोड ७४ लाख केजी चिया उत्पादन हुने गरेको छ भने इण्डियामा मात्रै वार्षिक लगभग अढाई करोड केजी चिया निर्यात हुने गरेको छ ।
झापाका २ दर्जन र इलामका ४ दर्जन उद्योग बन्द
इण्डियाले विभिन्न बहाना बनाएर निर्यातमा अवरोध सिर्जना गरेपछि नेपालको झापा र इलाममा सञ्चालित चिया उद्योगहरू बन्द भएका हुन् ।
इलामका चिया उद्योग असार १ देखि नै बन्द गरिंदा झापाका २ दर्जन बढी उद्योग पनि अनिश्चितकालीन बन्द हुँदा चिया उद्योगीहरू र साना चिया उत्पादक व्यवसायबाटै पलायन हुने स्थिति आएको चिया उत्पादक संघले जनाएको छ ।
यतिबेला इण्डियन बजारमा पुगिसकेको करीब २ लाख किलोग्राम तयारी अर्थोडक्स चिया इण्डियन गोदामहरूमा थन्किएको अध्यक्ष पराजुलीले बताए ।
किसान र श्रमिकको रोजीरोटीमा असर
चिया उद्योगहरूले उत्पादन बन्द गर्नासाथ यसको प्रत्यक्ष ठूलो मार ग्रामीण क्षेत्रका साना किसान र चिया श्रमिकहरूमा परेको छ । यस क्षेत्रमा प्रत्यक्ष रूपमा आबद्ध ५० हजार किसान र लाखौं श्रमिकहरूको रोजीरोटीे अब खोसिने अवस्था बनेको छ ।
समग्रमा, राष्ट्रिय अर्थतन्त्रमा यस्तो दुष्प्रभाव पर्दा पनि नेपाल सरकारका तर्फबाट भने लाचारी प्रदर्शन गरिएको अवस्था छ । नेपाली चिया उद्योगले मुलुकको अर्थतन्त्र र रोजगारीमा पु¥याएको योगदान र वर्तमान संकटको गम्भीरतालाई तथ्याङ्कले नै छर्लङ्ग पार्दछ । वस्तुतः इण्डियन पक्षको यो नीति नेपाली चिया उद्योगलाई धराशायी बनाउने दुर्नियत प्रेरित रहेको प्रष्ट छ ।
डेढ महिनादेखि नेपाली चिया रोकेर राख्दा पनि नेपालको परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयले नयाँ दिल्लीसँग दह्रो ढंगले कुटनीतिक ‘काउन्टर’ दिन सकेका छैनन् । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली र महासचिव शुक्र दाहाल सहितको टोली काठमाडौं धाएर प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रत्यक्ष रूपमा समस्या राख्न पुग्नु पर्ने स्थिति आउनु नै राज्यको संयन्त्रमाथिको प्रश्नचिन्ह हो ।
प्रतिक्रिया