प्रधानमन्त्रीभन्दा चर्चित कसरी बने तीन मन्त्रीहरू ?

प्रधानमन्त्रीभन्दा चर्चित कसरी बने तीन मन्त्रीहरू ?


-जयप्रकाश त्रिपाठी
लोकतन्त्र स्थापनायताका पाँच वर्षभित्र चार प्रधानमन्त्री र करिब सवा सयको हाराहारीमा मन्त्रीहरू बने-बनाइए । सरकारको प्रमुख भएका कारण प्रधानमन्त्री बन्ने व्यक्ति पदमा रहँदा मात्र होइन पदमुक्त भइसकेपछि पनि कुनै न कुनै रूपले जनसाधारणको स्मृतिमा रहन्छन् । तर, मन्त्रिमण्डलका सदस्यहरूले भने जनताको ध्यानाकर्षण गर्न विशेष सक्रियता दर्शाउनुपर्ने हुन्छ । मन्त्रिमण्डलका सदस्यहरूमध्ये धेरैको त नाम नै याद हुँदैन, त्यसमाथि सामान्य दिन निर्वाह गरी समय कटाउने प्रकृतिका मन्त्रीहरू त मन्त्रिमण्डल बदलिएको केही घन्टापछि नै विस्मृतिमा गइसक्छन् । जिम्मेवारी मन्त्रीको लिएर पनि जनस्मृतिमा रहिरहन सफल व्यक्तिहरू नेपाली राजनीतिमा अत्यन्त कम छन् । २०६३ देखि २०६७-०६८ सम्मको विवेचना गर्ने हो भने गिरिजाप्रसाद कोइराला, प्रचण्ड, माधव नेपाल र झलनाथ खनालका सरकारमा रहेका मन्त्रीहरूमध्ये तात्कालिक गृहमन्त्री कृष्ण सिटौला पदमा रहिन्जेल चर्चामा आउन र मानिसहरूको स्मृतिमा रहन सफल त भए, तर उनको स्मरण सकारात्मक रूपमा मात्र गरिँदैन । उनी माओवादीसँगको निकटताका कारण प्रजातन्त्र पक्षधरहरूको दृष्टिमा सधैं आलोचना र हेयको पात्र बने । सुडान घोटाला प्रकरणसँग समेत नाम जोडिएर आउँदा उनको प्रतिष्ठा र साख अरू गिरेको छ । तथापि सिटौला जनदृष्टिमा विस्मृतिमा गएका छैनन्, प्रशंसा या आलोचना जे भए पनि उनले आफ्नो उपस्थिति जीवित राख्न सकेका छन् । कोइरालापछिको तीनवटा सरकारका तीन मन्त्रीहरूले भने आर्श्चर्यजनक रूपमा जनताको मन जित्ने र आफ्नो उचाइ बढाउने सफलता प्राप्त गरे । प्रचण्ड सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराई, माधव सरकारकी रक्षामन्त्री विद्यादेवी भण्डारी र झलनाथ सरकारका ऊर्जामन्त्री गोकर्ण विष्ट त्यस्तो कोटिका राजनीतिकर्मीमा परेका छन् जसले जनतामा आशा जगाउने र सक्षम व्यक्तिका रूपमा आफ्नो परिचय बनाउने सफलता प्राप्त गरे । अर्थमन्त्रीका रूपमा भट्टराईले इमानदारीपूर्ण सक्रियता दर्शाएर राजस्व असुली तथा अर्थतन्त्र सुधारका निम्ति गर्नुभएको प्रयास नेपालीको मनमस्तिष्कमा अविष्मरणीय रहेको छ । कम्युनिस्टहरूको सरकार गठन भएको अवस्थामा कुनै पनि देशको अर्थतन्त्र ओरालो लाग्नु, लगानी र आर्थिक गतिविधिमा ह्रास आउनु तथा मन्दीका कारण जनतामा निराशाको स्थिति पैदा हुनुलाई स्वाभाविक मानिन्छ, विश्वव्यापी उदाहरणले यस्तै वास्तविकता दर्शाउँछ । डा. भट्टराईको पालामा पनि अर्थतन्त्रमा त्यति ठूलो सुधारको सङ्केत देखिएकोचाहिँ होइन । तर, भट्टराईले आफ्नो मन्त्रालयको काममा पूर्णरूपले आफूलाई केन्द्रित र समर्पित गर्नु, आर्थिक प्रलोभनबाट पूर्ण मुक्त रही देशप्रति इमानदार रहेको प्रमाणित गर्नु, राजस्व असुलीमा सम्झौताहीन प्रयास गर्नु, कम्युनिस्ट विचारका मन्त्री भएर पनि अन्य विचार-समर्थकहरूसमेतको विश्वास जित्न सक्नु र कर्मचारी प्रशासनलाई बिनापूर्वाग्रह ठीक ढङ्गले उपयोग र प्रयोग गर्न सक्नुलाई डा. भट्टराईको पहिचान र योगदानका रूपमा लिइन्छ । अर्थमन्त्रीमा रहँदा भट्टराईले निर्वाह गरेको भूमिकाकै कारण उहाँलाई प्रधानमन्त्रीका रूपमा पाउन नेपाली जनता हतारिएको स्थिति बनेको छ । जनदृष्टिमा उहाँ सबभन्दा लोकप्रिय नेताको छवि बनाउन सफल हुनुभएको छ ।
त्यसैगरी माधव नेपाल नेतृत्वको सरकारमा रक्षामन्त्री रहेकी विद्यादेवी भण्डारीले पनि जिम्मेवारी निर्वाह गर्ने क्रममा आफ्नो उचाइ बढाउने मौका प्राप्त गर्नुभयो । सामान्यतया अधिकांश राजनीतिकर्मी मन्त्री भइसकेपछि आफ्नो कद यथावत् राख्न सक्दैनन्, बरु घटाउँन् । विद्याले सम्हालेको मन्त्रालय अत्यन्त महत्त्वपूर्ण भएर पनि त्यसले त्यति महत्त्व पाउने गर्दैन । राष्ट्रिय सुरक्षाको मुख्य अभिभारा बोकेको रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेना पर्दछ, तर व्यवहारमा सेनाले मन्त्रालयलाई टेर्ने गरेको महसुस जनस्तरमा गरिँदैन । निर्णय सेनाले गर्ने रक्षामन्त्रीले चाहिँ ‘सेरेमोनियल हेड’को भूमिका निर्वाह गर्दै सेनाका निर्णयलाई औपचारिकता दिनेबाहेक अरू कुनै काम गर्न सक्दैनन् भन्ने आमविश्वास रहेको अवस्थामा भण्डारीले अभूतपूर्व ढङ्गले कार्यक्षमता प्रस्तुत गर्नुभयो । राष्ट्रिय सेनाको मनोबल उच्च बनाउन र माओवादीको कोपभाजनमा पर्नबाट सेनालाई जोगाउन भण्डारीले निर्वाह गरेको भूमिका अविष्मरणीय छ । उहाँले सेनाभित्र नेतृत्वले मनोमानीपूर्ण लिने निर्णयमा अङ्कुश लगाउन पनि त्यत्तिकै सङ्घर्ष गर्नुभयो जति माओवादीबाट राष्ट्रिय सेनाको अस्तित्व, प्रतिष्ठा र गरिमा जोगाउन गर्नुपर्‍यो । एउटी देशभक्त र प्रजातन्त्रप्रेमी राजनीतिकर्मीको रूपमा विद्याले इमानदारीपूर्वक निर्वाह गरेको भूमिकाले सेनाविरुद्धको कुत्सित मनसायलाई निरुत्साहित गर्‍यो र उहाँको आफ्नै उचाइ पनि बढायो । मन्त्रालयभन्दा मातहतको निकाय बलियो देखिने हुँदा धेरैजसो राजनीतिकर्मीको रोजाइमा रक्षा मन्त्रालय पर्ने गर्दैन । सेनाका अघिल्तिर विभागीय मन्त्री होचिनुपर्ने ठाउँमा गएर विद्याले आफ्नो उचाइ बढाउने जुन क्षमता दर्शायनुभयो त्यसले उहाँलाई पनि सम्भावित प्रधानमन्त्रीको कोटिमा पुर्‍याएको छ । लोकतन्त्र स्थापनापश्चात् ‘बेवारिसे’झैं बनेको सेनालाई ‘बोल्ड’ अभिभावकको भूमिका निर्वाह गर्दै संरक्षकत्व प्रदान गरेका कारण सेनाभित्र पनि भण्डारीको बेग्लै स्थान बनेको छ । तात्कालिक प्रधानमन्त्री माधव नेपालले कार्यबाधा पैदा नगरिदिएको भए नेपाली सेनालाई अझै बढी सुदृढ र स्वस्थ देख्न पाइने अनुमान जानकारहरू गर्दछन् । कसैको कुनै प्रकारको दबाब र प्रलोभनमा नपरेर विद्याले निर्वाह गरेको भूमिकाले जननेता मदन भण्डारीको गरिमा र नेपाली महिलाको स्वाभिमानलाई समेत थप उचाइमा पुर्‍याएको ठानिन्छ ।
त्यस्तै, वर्तमान सरकारमा ऊर्जा मन्त्रालय सम्हाल्ने गोकर्ण विष्टको व्यक्तित्व पनि एकाएक आकासिएको छ । युवा पुस्ताका अगुवा विष्टले उक्त मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुअघि उनलाई घनश्याम भुसालभन्दा तल योगेश भट्टराईहरूको हाराहारीमा राखेर हेर्ने गरिन्थ्यो । युवा पुस्ताका विष्टलाई काम गर्न-गराउनभन्दा पनि झलनाथ खनालले पार्टीमा आफ्नो टिम (कि गुट ?) बलियो बनाउन मन्त्री बनाएको टिप्पणी त्यसबेला एमालेभित्रैबाट भएको थियो र जनसाधारणले पनि सोही रूपमा बुझेका थिए । तर, सबैको पूर्वानुमानविपरीत गोकर्ण पृथक् भूमिका र शैलीमा देखापरे । डा. भट्टराई र विद्या भण्डारीझैं विष्ट पनि आफ्नो मन्त्रालयको काममा पूर्णरूपले केन्द्रित र समर्पित देखिए । प्रलोभनहरूबाट मुक्त विष्टले मन्त्रालयलाई न कमाइको भाँडो बनाउन चाहे न आफ्ना मान्छेको भर्तीकेन्द्र । उनी त वर्षौंदेखि अन्धकार झेलिरहेका नेपाली जनतालाई कसरी यसबाट मुक्त राख्न सकिन्छ भन्नेमा दत्तचित्तले केन्द्रित रहे । विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखको छनोट प्रतिस्पर्धाबाट गर्ने, विद्युत् चोरी नियन्त्रणका निम्ति कानुनी र प्रशासनिक उपाय आक्रामक ढङ्गले अवलम्बन गर्ने, नयाँ विद्युत् आयोजना निर्माणका प्रयासलाई परिणाममुखी रूपमा तदारुकता लिने, निजीक्षेत्रका विद्युत् उत्पादकहरूलाई प्रोत्साहित गर्ने, प्रसारण लाइनहरूको निर्माण-विस्तारमा विशेष अग्रसरता लिनेजस्ता काम गरेर विष्टले नेपालको विद्युत् विकासको इतिहासमा अविष्मरणीय दृष्टान्त प्रस्तुत गरेका छन् । गोकर्णले अहिले दर्शाएकोजस्तो इमानदारीपूर्ण तत्परता पाँच वर्षअघि लोकतन्त्र स्थापना हुनेबित्तिकै त्यस मन्त्रालयको जिम्मेवारी पाउनेहरूले दर्शाएका भए सम्भवतः देशले लोडसेडिङको यति भयानक अवस्था व्यहोर्नुपर्ने थिएन । गोकर्णले आज लिएको विशेष अग्रसरताको परिणाम कम्तीमा पाँच वर्षपछि मात्र मुलुकलाई प्राप्त हुनसक्छ । उनको कार्यशैली र व्यवहारले यो मुलुक निर्माणका निम्ति नयाँ पुस्ता सक्षम छ भने स्पष्ट प्रमाण पेस गरेको छ ।
साधारण जीवनशैली र लोकतन्त्रप्रतिको निष्ठापूर्ण प्रतिबद्धताका कारण नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले नेपाली राजनीतिमा आफ्नो विशिष्ट स्थान बनाएझैं बाबुराम भट्टराई, विद्या भण्डारी र गोकर्ण विष्टले आफ्नो कार्यक्षमता, इमानदारीपूर्ण निष्ठा र कार्यव्यवहारका कारण देशमा आ-आफ्ना विशिष्ट छवि स्थापना गर्ने सफलता हासिल गरेका छन् । के उनीहरूबाट देशका अन्य राजनीतिकर्मीहरू सिक्ने ‘सामर्थ्य’ राख्छन् ?