के काली जाली नै हुन् त ?

के काली जाली नै हुन् त ?


  • राजन घिमिरे

पारि त्यो डाँडामा हेर
घाम लाग्यो घमाइलो
लाग्यो मलाई रमाईलो…

चलचित्र रेशम फिलिलिको यो गीत आज पनि ‘वाह’कै स्तरमा छ । नेपाली गीत–सङ्गीत भनेपछि नाक खुम्च्याउने र विदेशी गानामा अभ्यस्त वर्गलाई पनि कम्मर मर्काउन बाध्य बनायो यो गीतले । के स्वदेश के विदेश ? सबै क्षेत्र, तह, तप्का, उमेर वा वर्गका ब्यक्तिहरूको ध्यान तान्न सफल यो गीतका सर्जक हुन्– कालीप्रसाद बासकोटा ।

‘निर जहिले रिसाउनी…’देखि ‘ठमेल बजार…’ हुँदै पिरतीको बर्कोसम्म आइपुग्दा अत्यन्त प्रतिभाशाली सर्जक कालीप्रसादले नेपाली चलचित्र–संगीतको बजारलाई नै फराकिलो पारिदिए । उनकै गीत र संगीतका कारण चलचित्रहरू चले, निर्माताले मोटो रकम गोजीमा हाले । नाम र दाम त उनले पनि कमाए तर त्योभन्दा ठूलो कुरा त नेपाली चलचित्रको बजार बिस्तार गर्न उनका सिर्जना तथा योगदानलाई कम आँकलन गर्न मिल्दै मिल्दैन ।

तर अहिले यिनै स्रष्टालाई विवादमा तानिंँदै छ । कुनै गीतमा केही अंश मिल्न गयो या आफू प्रभावित भएको आधारमा कालीले नेपाली गीत–संगीतमा पुऱ्याएको योगदान र फराकिलो पारेको बजारको थोरै मूल्याङ्कन पनि नगरी सिधै उनमाथि ‘चोर’को संज्ञा दिन थालिएको छ ।

हाम्रो सोच या मानसिकता पनि यति धेरै नकारात्मक भैसकेको छ कि हामी विगततर्फ फर्केर मूल्याङ्कन नै गर्दैनौँ । कलाकार, सर्जकको योगदान र निरन्तरतालाई ध्यान नै दिँदैनौ, अनि त्यत्तिकै भनिदिन्छौँ– ‘चोर’ ।

चोरिएका हिन्दी चलचित्रका गीतमा नाचेर हुर्किएको हाम्रो समाजमा कालीको गीतले त्यस्ता विदेशी गीतहरूलाई विस्थापित गरेकै हो । हाम्रो विहेभोज या कुनै कार्यक्रममा कालीको गीत घन्कन थालेकै हो । हामीले यता ध्यान दिएनौँ तर निष्पक्ष मूल्याङ्कनविना या सोचविचार नगरीकन सिधै ‘चोर भनिदियौँ । एउटा स्रष्टाको निम्ति यो भन्दा ठूलो चोटको जड अरु के होला ?

विशेष गरेर नेपाली चलचित्रका गीत–संगीतमा उनले नयाँ आयाम ल्याएकै हुन् र प्रयोग पनि नयाँ गरेकै हुन् । बाटो बनाउनेले बनाएको बाटोमा हिँड्दा कतै ठेस लाग्यो भने बाटो बनाउनेलाई नै गाली गर्ने कि बाटो बनाउनु नै गल्ती थियो भन्ने ? यो कुरा बुझ्न सकिएन ? जीवनमा कतैबाट प्रभावित भएको कुरालाई उछालिरहने कि उसको योगदानको प्रशंसा पनि गर्ने ? यतिबेला कालीले कसैको हत्या नै गरेको जत्तिकै गरेर उनको बारेमा गलत प्रचारप्रसार गर्नेहरूको जमात देख्दा लाग्छ कि अहिले जस्तै कालीको बारेमा यिनीहरूले पहिला कहिले पनि स्याबासी दिएनन्, उनको कामको बारेमा ।

यतिबेला सर्जक कालीको बारेमा बजारमा आएका अफवाह सुनेपछि उनका प्रशंसकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको शब्द सापट लिँदै भन्न थालेका छन्– ‘कुरा नबुझीकन विरोध गर्नेहरूको कुरा सुन्दा ताजुव लाग्छ, अचम्म लाग्छ र आश्चर्य लाग्छ !’