पार्टी हाइज्याक हुन दिइन्न– प्रकाशचन्द्र लोहनी (राप्रपा)

पार्टी हाइज्याक हुन दिइन्न– प्रकाशचन्द्र लोहनी (राप्रपा)


prakashchandraराष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर थापाको सहयोग र समर्थनमा पशुपतिशमशेर जबराले अवैधानिक रूपले जबर्जस्ती आफूलाई अध्यक्ष घोषणा गरेको भन्दै लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनीलगायतका राप्रपाका वरिष्ठ नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोख्दै आएका छन् । असन्तुष्ट पक्षले गत २१ गते शनिबार काठमाडौंमा मध्यमाञ्चलस्तरीय भेलासमेत गरी संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको छ । असन्तुष्ट पक्षका एक शीर्षनेता डा. लोहनीले त राणा पक्षले पार्टीका विभिन्न तहमा निर्वाचित सभापतिहरूलाई अधिकार खोस्ने र निलम्बन गर्ने धम्की दिएर जानाजान पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएका छन् । तर, कुनै पनि हालतमा पार्टी टुक्रिन नदिने र गलत पक्षसँग मुकाबिला गरी विधिबाट चल्ने थिति बसाउने उनको कथन छ । असन्तुष्ट पक्षकै अर्का शीर्षनेता लोकेन्द्रबहादुर चन्दले समेत संस्थापन पक्षले पार्टीलाई पेवा बनाएको आरोप लगाउँदै यसविरुद्ध आमकार्यकर्ताले आवाज उठाउनुपर्ने उद्घोष गरिरहेका र असन्तुष्ट पक्षले पार्टी–समानान्तर गतिविधिसमेत गर्दै आएको सन्दर्भमा के हो त राप्रपाका असन्तुष्ट पक्षको असन्तुष्टि ? यसैमा केन्द्रित रही डा. प्रकाशचन्द्र लोहनीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
० पशुपतिशमशेरले नेतृत्व गरेको राप्रपा तपाईंको पनि पार्टी हो, तर तपाईंहरूमाथि आफ्नै पार्टीलाई तहसनहस पार्न लागेको आरोप लगाइएको छ नि ?
– राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यतिबेला पशुपतिशमशेरको नेतृत्व गर्नु अवैधानिक कुरो हो । महाधिवेशनले दिएको म्यान्डेटविपरीत उनले जबर्जस्ती आफूलाई पार्टीअध्यक्ष दाबी गरिरहेका छन् । महाधिवेशनलाई उपेक्षा र दुई हजार प्रतिनिधिलाई तिरस्कार गरेर आफूले आफैँलाई पार्टीको नेतृत्व दाबी गर्नु पूरापूर अवैधानिक कार्य भएकाले यस्तो अवैध नेतृत्वलाई मान्ने त प्रश्नै भएन नि !
० राप्रपाका शीर्षनेता भनेका त सूर्यबहादुर थापा, पशुपतिशमशेर राणाहरू नै होइनन् र ?
– को शीर्ष हुन् र को जमिनका हुन्, त्यो अरूले परिभाषित गरेर हुने कुरा होइन । यस पार्टीका लाखौँ कार्यकर्ताले नै यसको निक्र्योल गर्ने हुन् । सबभन्दा ठूलो नेता को भनेर छान्नको निम्ति सबभन्दा ठूलो निकाय भनेको पार्टी–महाधिवेशन नै हो । महाधिवेशनले पहिलो वर्ष सूर्यबहादुर थापा, दोस्रो वर्ष लोकेन्द्रबहादुर चन्द, तेस्रो वर्ष पशुपतिशमशेर र चौथो वर्ष प्रकाशचन्द्र लोहनीले आलोपालो गरी पार्टीको नेतृत्व गर्ने भनेर प्रस्ट निर्णय गरेको थियो । तर, महाधिवेशनले गरेको निर्णय लत्याएर पशुपतिजीले आफूलाई अध्यक्ष घोषणा गर्नु अवैधानिक मात्र नभई षड्यन्त्र पनि हो ।
० अनि तपाईंहरूले समानान्तर कमिटीजस्तो गठन गरी पार्टीमा तुफान खडा गर्नुचाहिँ षड्यन्त्र हो कि के हो ?
– पार्टीभित्र षड्यन्त्र गर्नेहरूलाई निस्तेज गर्न, अवैधानिक प्रयासलाई वैधानिक बाटोमा ल्याउन हामीले चालेको कदम षड्यन्त्र नभई पार्टीहितको विषय हो । पार्टीलाई प्रजातान्त्रिक विधिबाट हिँडाउन खोज्नु, महाधिवेशनले दिएको म्यान्डेटअनुरूप एक ढिक्का भएर हिँडौँ भन्नु पनि षड्यन्त्र हुन्छ र ? हामी जे गरिरहेका छौँ त्यो पार्टीको एकताका लागि हो । षड्यन्त्रकारीहरूको षड्यन्त्रलाई पाखा लगाउनका लागि नै हो ।
० तपाईंहरूको गतिविधिले राप्रपा त फुटतिर लम्केको आभास दिलाउँछ, अब कसरी अघि बढ्नुहुन्छ तपाईंहरू ?
– हामीले पार्टीलाई फुटाउने कुनै कदम चालेका छैनौँ, त्यस्तो सोच्न पनि सक्दैनौँ । पार्टी फुटेको पनि छैन र फुट्दा पनि फुट्दैन । महाधिवेशनले गरेको निर्णयलाई लत्याएर, उपेक्षा गरेर पार्टीमा विग्रह ल्याउँदै पार्टी कब्जा गर्न एकथरी मरिमेटिरहेका छन् भने महाधिवेशनको निर्णयको पक्षमा उभिएर पार्टी बचाउन हामी लागिपरेका छौँ । षड्यन्त्रकारीहरूलाई पार्टी फुटाउन दिनेछैनौँ हामी ।
० कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालले राप्रपासँग एकताको हात बढाइरहँदा तपाईंहरूचाहिँ पार्टी नेतृत्वको खिलाफमा जाँदा आमजनताका कस्तो सन्देश जाला ?
– कुनै पनि दुई पार्टीबीच सैद्धान्तिक धारणाहरू मिलेर एकता प्रक्रिया अघि बढ्नु राम्रो कुरा हो । यस्तो कार्यको हामी स्वागत नै गर्छौं । तर, जब आफ्नो घरभित्रै बेथिति छ, असन्तुष्टि छ, भाँडभैलोको अवस्था निम्तिएको छ, महाधिवेशनको निर्णयसमेत लागू नगरी समस्या निम्त्यिाइँदै छ भने छिमेकीसँग हात मिलाउन खोज्नुको के तुक ? घरमा भाँडभैलो मच्चाउन खोज्नेले छिमेकीसँग कति दिन मित्रता राख्न सक्लान् ? वास्तवमा घरभित्रको समस्यालाई पन्छाउनका लागि यसरी एकताको नाटक मञ्चन गरिन लागेको आमकार्यकर्ताले अनुभूति गरेका छन् । वास्तवमा घरभित्रको नसुल्टाइनहुने समस्यालाई त्यत्तिकै पन्छाउनका लागि नै यतिबेला पार्टीएकताको हल्ला चलाइएको हो भन्ने हामीलाई पनि लागिरहेको छ ।
० तर, कमल थापा र पशुपतिशमशेर राणाको त मन मिलिसकेकै बुझिन्छ त ?
– उहाँहरूको मन कति छ या छैन त्यो आ–आफ्नो बुझाइको कुरा होला, तर घरभित्रका समस्या नमिलेको अवस्थामा, महाधिवेशनको निर्णयलाई उपेक्षा या अनादर गरेको र दुई हजार डेलिगेट्सको भावनालाई तिरस्कार गरेको अवस्थामा बाहिर गई कसैसँग साइनो जोड्छु भन्नुको मतलब अत्यन्त लापरबाही हो भन्ने सहजै बुझ्न सकिन्छ । यस्तो एकता–चर्चाको कुनै तुक नै छैन । एकता हुनु राम्रो हो, दर्शन–दृष्टिकोण मिल्नेसँग हुनुपर्छ र होला पनि, तर यसरी समस्याको चाङ एकातिर असरल्ल छोडेर गर्न खोजिएको एकताको तुकै रहन्न । यो त पार्टीमा उठेका असन्तुष्टिको आवाजलाई ढाकछोप गर्नका निम्ति रचिएको षड्यन्त्र मात्र हो ।
० त्यसो भए अब तपाईंहरू नयाँ पार्टी गठन गरेर अघि बढ्नुहुन्छ कि कसो ?
– कहाँ भनेँ मैले नयाँ पार्टी गठन गर्ने कुरा !? किन चाहियो नयाँ पार्टी ? पार्टी ध्वस्त गर्न खोज्नेहरूलाई निस्तेज तुल्याएर पार्टीलाई एकढिक्का राख्नुपर्छ भन्ने मान्यताबाट अभिप्रेरित छौँ हामी । यस्तो मान्यता राख्नेले किन नयाँ दल बनाउने ? फुटपरस्त र षड्यन्त्रकारी तत्वविरुद्ध हामी सङ्घर्ष गरिरहेका छौँ, पार्टी बचाउन लागिपरेका छौँ हामी, कुनै नयाँ दल बनाउन होइन ।
० अध्यक्ष पशुपतिशमशेरलाई कारबाही गर्न पनि नसक्ने, मिलेर बस्न पनि नसक्ने, कस्तो चाल हो त तपाईंहरूको ?
– कति प्रस्ट्याउने ? पार्टी–महाधिवेशनको म्यान्डेट मिच्न खोज्नेहरूलाई सच्याउने अभियान हो यो हाम्रो । यदि उहाँहरूलाई शङ्का छ भने एकदिने विशेष महाधिवेशन बोलाएर मुद्दा किनारा लगाऔँ भन्ने विकल्प पनि दिएका छौँ हामीले त । विशेष महाधिवेशन बोलाउन पनि खुट्टा कँपाउने अनि पहिलेको निर्णयलाई पनि लत्याउने, यो कस्तो प्रवृत्ति हो ? कुनै मुद्दाले पार्टीभित्र चर्को रूप लियो भने विशेष महाधिवेशन बोलाएर तमाम कार्यकर्ता साथीहरूलाई सोध्नु, उहाँहरूबाट म्यान्डेट लिनु त प्रजातान्त्रिक विधि नै हो नि । दुई वर्षअघि तपाईंहरूले के निर्णय गर्नुभएको थियो भनेर कार्यकर्ताहरूलाई सोध्न किन हिच्किचाइरहेका छन् आफूलाई पार्टीको शीर्ष नेतृत्व ठान्नेहरू ?
० यो सब प्रकरणका आधारमा भन्नुपर्दा पूर्वपञ्चहरू कहिल्यै मिलेर बस्न सक्दैनन् भनी टिप्पणी गर्नेहरूलाई बल मिल्यो जस्तो लाग्दैन तपाईंलाई ?
– पार्टीहरूमा फुट्ने र जुट्ने प्रवृत्ति जताततै छ, यो वा त्यो भनी कसैप्रति मात्र इङ्गित गरी आरोप लगाउनु आवश्यक छैन । जो जुट्छ त्यो फुट्छ र जो फुट्छ त्यो जुट्छ पनि । यसमा हाम्रो कमजोरी नभएको होइन– छ, तर फुट्ने र जुट्ने प्रक्रिया परिस्थिति हेरेर जहाँ र जहिले पनि चलिरहेको हुन्छ भन्ने तथ्यको हेक्का राख्नुपर्छ ।
० त्यसो भए तपाईंहरू न फुट्न सक्नुहुन्छ न त जुट्न नै ! राप्रपा यस्तै रहन्छ ?
– यो त माओवादीभन्दा पनि जेठो पार्टी हो । काङ्ग्रेस र एमालेपछिको जेठो पार्टी हो राप्रपा । यस्तो इतिहास बोकेको पार्टीलाई हाइज्याक गर्न खोज्नेहरूलाई रोक्न खोजिरहेका छौँ हामी । यस्तो समस्या हरदम रहन्छ भन्नेचाहिँ होइन ।