भारतमा हिजो (शुक्रबार) अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । भारतका दुई उत्तरी राज्यहरू उत्तराखण्ड र उत्तर प्रदेशमा भएको सो घटनामा परी अरू कैयौँ बिरामी भएको पनि सम्बन्धित अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
‘उत्तर प्रदेशको सहारानपुर जिल्लामा विषाक्त मदीरा सेवानका कारण मृत्यु हुनेको सङख्या ३६ भएको पुष्टि गरेको छ भने बाँकी नमूनाहरूबारे थप परीक्षण भइरहेको छ,’ सहारानपुरस्थित अस्पतालका चिकित्सक एके पाण्डेले बताए ।
‘हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,’ हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।
उनले बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए ।
बताइएअनुसार मृत्यु भएका वा बिरामी भएकाले स्थानीय एक पसलबाट लगेको मदिरा सेवन गरेका थिए ।
यसैबीच उत्तराखण्डको स्थानीय सरकारले केही सरकारी अधिकारी र चार जना प्रहरीलाई घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि निलम्बन गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया