टेलिकमको टावरमा चट्याङ पर्दा फोन र इन्टरनेट अवरुद्ध

टेलिकमको टावरमा चट्याङ पर्दा फोन र इन्टरनेट अवरुद्ध


चट्याङका कारण बैतडीमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चार सुविधाबाट वञ्चित भएका छन् । नमस्ते फोनको नेटवर्क कुनै–कुनै बेला आए पनि राम्रोसँग काम नगर्ने गरेको सेवाग्राहीको भनाइ थियो । यस्तै सिगास गाउँपालिका–९ चौखामलगायत टोलमा एक हप्तादेखि नमस्तेफोनको नेटवर्क नभएको त्यहाँका बासिन्दाले बताए ।

यस्तै मेलौली नगरपालिकामा पनि नमस्ते फोनको नेटवर्क नभएको भीमप्रसाद न्यौपानेले जानकारी दिए । दशरथचन्द नगरपालिकाको कटपतेमा रहेको टेलिकमको टावरमा चट्याङ परेकाले फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख सुरत खड्काले बताए । अवरुद्ध फोन र इन्टरनेट सेवा आइतबारसम्ममा सञ्चालनमा ल्याइने उनको भनाइ थियो । सिगास, मेलौलीलगायत ठाउँमा भने हिमपातका कारण फोनसेवा अवरुद्ध भएको बताइएको छ ।