तीन दशकदेखि अर्धभूमिगत सल्मान रुस्दी भन्छन्– लुक्न चाहन्नँ

तीन दशकदेखि अर्धभूमिगत सल्मान रुस्दी भन्छन्– लुक्न चाहन्नँ


इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झन्डै तीन दशकदेखि अर्धभूमिगत रहेका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थालेका छन् ।

‘म अब लुक्न चाहन्नँ,’ पेरिस भ्रमणका क्रममा रुस्दीले बताए । यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक ‘दी सटानिक भर्सेज’ इस्लामविरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न ‘आदेश (फतवा)’ जारी गरेका थिए ।

तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो ।

रवीन्द्रनाथ टेगोरपछिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम राखेका थिए । उनलाई प्रहरीले निरन्तर सुरक्षा दिएको थियो । ‘म त्यतिखेर ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकेँ । अहिले परिस्थिति ठीकै देख्छु,’ उनले गत सेप्टेम्बरमा भनेका थिए, ‘हामी निकै तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा छौँ । र यो निकै पुरानो विषय पनि हो । अहिले अरू धेरै कुराले मानिसलाई व्यग्र बनाउन थालेका छन्, र अरू कुनै व्यक्तिले पनि कसैको हत्या गर्न सक्छ ।’

रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि नक्कली नाम राख्न छाडेका थिए । तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको तीन वर्षपछि उनले नक्कली नाम राख्न छाडेका हुन् ।

तर, एएफपीलाई पेरिसको एक प्रकाशनगृहमा अन्तर्वार्ता दिँदा पनि कार्यालयको मूलगेटमै सादा पोसाकका प्रहरीको निगरानी थियो । कार्यालयबाहिरको परिसरमा पनि अरू प्रहरीले सुरक्षा दिएका थिए ।

यसअघि, पूर्वीफ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण स्रोताकै रूपमा उनी सहभागी भएका थिए, तर न्युयोर्कमा भने उनी बिल्कुलै सामान्य जीवनमा रहने गर्छन् । न्युयोर्कमा उनी झन्डै दुई दशक बसे । ‘म भूमिगत बाटो (सब वे) बाटै यात्रा गर्दछु,’ उनले भने ।

‘दी सटानिक भर्सेज’ रुस्दीको पाँचौँ पुस्तक हो । अहिले उहाँको १८औँ पुस्तक आइसकेको छ । भर्खरै उनको ‘दी गोल्डेन हाउस’ प्रकाशन भएको छ जुन भारतको मुम्बईका एक व्यक्तिबारे छ । दंगा, बम आक्रमणको योजना तथा दी सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या एवं अरू दुईजनामाथि गोली र चक्कु प्रहारको दुर्दान्त विगत देखेका रुस्दीले भने, ‘त्यो अब अतीत भइसक्यो ।’

‘इस्लामको केही कुरै होइन । कसैले पनि त्यसरी सोचेका थिएनन्,’ द सटानिक भर्सेज प्रकाशनका दिनहरूको स्मरण गर्दै उनले भने, ‘पश्चिमा मुलुकका मानिस पहिलेभन्दा बढी जानकार देखिएका थिए ।’ त्यति हुँदा पनि, पुस्तकबारे गलत बुझियो । उनले भने, ‘यो पुस्तक मूलतः लन्डनमा रहेका दक्षिण एसियाली आप्रवासीबारे थियो ।’ रुस्दीका साथी बेलायती–पाकिस्तानी लेखक हनिफ कुरेसी यो पुस्तक लेख्ने दुस्साहस कसैले नगर्ने बताउँदै छाप्ने त अझ कठिन रहेको बताउँछन् ।

कुरेसीले द सटानिक भर्सेजको पाण्डुलिपि पढ्दासमेत आफूले कुनै विवादित विषय नदेखेको स्वीकार गरेका छन् । उनले भने, ‘पुस्तकमा अतिवादीहरूलाई उत्तेजित तुल्याउने त्यस्तो केही थिएन । मैले यो पुस्तकमा पागलपन, नवीनता र परिवर्तनका कुरा देखेको छु ।’

तैपनि यो पुस्तकले सिर्जना गरेको रापतापले राजनीतिक इस्लामको उदयलाई प्रश्रय दिएको छ । रुस्दी आफैँ पनि दार्शनिक हुन् । यस्तो पुस्तक लेखेकामा पश्चात्ताप लागेको छैन भनी सोधिएको प्रश्नमा उनले भने, ‘मलाई कुनै पछुतो छैन ।’