सदस्यसचिव नियुक्ति, खेलकुदमा विद्रोहको सङ्केत

सदस्यसचिव नियुक्ति, खेलकुदमा विद्रोहको सङ्केत


sportखेलकुदमा जनताको पहुँच पुगेको लगभग सात दशक पुगे पनि खेलकुदमा अहिलेसम्म आमूल परिवर्तन हुन सकेको छैन । खेलकुदमा शासन गर्ने केही खेलकुद पदाधिकारीहरूले खेलकुदको वास्तविकतालाई आत्मसात् गर्दै खेलकुदको काँचुली फेर्ने प्रयास गरे पनि त्यसले सार्थक रूपमा लिन नसकेको जगजाहेरै छ । पाँच दशकभन्दा पनि बढी समय दरवारको कैद र संरक्षकत्वमा हुर्किएको खेलकुद कहिले दरबार त कहिले राजनीतिक दलहरूको भर्तीकेन्द्रको रूपमा विकास भएको इतिहास हाम्रोसामु छ । जुन प्रयास यद्यपि जारी छ । जसको पञ्जाबाट खेलकुदलाई मुक्त गर्ने प्रयास सरोकारवाला र सरकारले अहिलेसम्म गर्न सकेका छैनन् । जुन खेलकुदमा कालो धब्बाको रूपमा ग्रहणको रूपमा लागेको तीतोसत्य हो । खेलकुदलाई दरबार र राजनीतिक दलहरूले पिँजडाको सुगा बनाउँदासमेत राम हेरेर बसेका जनताले अहिलेसम्म खेलकुदको उन्मुक्तिको सही पहिचान गर्न सकेका छैनन् । तसर्थ खेलकुदले अब कति दशकसम्म उनीहरूको दासत्व स्वीकार गर्नुपर्ने हो त्यो अहिले निकै चिन्ताको विषय बनेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले वि.सं. २००४ सालमा रामजानकी कप फुटफल प्रतियोगिताको आयोजना गरेर खेलकुदलाई दरबारको पञ्जाबाट आजाद गरेका थिए । यो प्रतियोगितासँगै आमनेपाली जनताले खेलकुदमा पहिलोपटक सहभागिता जनाउन पाएका थिए । यसरी ०४ सालमै खेलकुदमा जनताको सक्रियता र उपस्थिति बाक्लिए पनि ०४६ सालसम्म दरबारको भूतले खेलकुदलाई प्रत्यक्ष रूपमा लखेटेको थियो । अर्थात् दरबारले प्रत्यक्ष रूपमा खेलकुद पदाधिकारीहरूको मनोनीत गरेर दरबारकै संरक्षकत्वमा खेलकुदलाई मनपरी र तानाशाही तरिकाले हाँकेको थियो । ०४६ सालमा राजनीतिक परिवर्तनसँगै मुलुकमा लोकतन्त्रको स्थापना भएपछि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद ऐनमा परिवर्तन गर्दै दरबारलाई संरक्षकमा राख्न सफल भए पनि त्यसपछि खेलकुदलाई पार्टीको पेवाको रूपमा अगाडि बढाएको कसैबाट छिपेको छैन । जुन यद्यपि जारी छ । युवराजलाई खेलकुदको संरक्षक बनाएर उनकै काँधमा बन्दुक राखेर पड्काउँदै आएका राजनीतिक दलले अहिलेसम्म खेलकुदको हुर्मत लिइरहेका छन् । अझ ०६२–६३ को आन्दोलनपछि खेलकुदमा दरबारको अस्तित्वलाई पूर्णविराम लगाउँदै सरकारले प्रधानमन्त्रीलाई खेलकुदको संरक्षक बनाएको थियो । तर, विडम्बना दरबारको हस्तक्षेपका कारणले खेलकुदको विकास अधोगतितर्फ उन्मुख भएको किटानी गर्ने राजनीतिक दलहरूले त्यसपछि पनि खेलकुदलाई सौताको व्यवहार गर्न छाडेनन् । अर्थात् खेलकुदलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरे । यसको उदारहणका लागि राज्यले खेलकुदलाई प्रदान गर्ने बजेटबाट स्पष्टरूपमा थाहा पाउन सकिन्छ । राज्य खेलकुदको विकासका लागि कति संवेदनशील छ भनेर ।
राष्ट्रिय खेलकुद परिषद्को संरक्षक प्रधानमन्त्री हुने ऐनमा व्यवस्था भएपछि खेलकुदको विकासमा आमूल परिवर्तन हुने विश्वास गरिएको थियो । तर, जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै अहिले पनि खेलकुदको उही दर्दनीय र कहालीलाग्दो अवस्थाले यसलाई चित्रण गरेको छ । राज्यले खेलकुदको समग्र विकासका लागि प्रधानमन्त्रीलाई संरक्षकमा चयन गरे पनि त्यो त्यति फलदायी सावित हुन सकेको छैन । उल्टै खेलकुदमा राजनीतिक हस्तक्षेपको जराहरू फैलिन पुगेका छन् । प्रधानमन्त्री खेलकुदका लागि थपना मात्र बन्न पुगेका छन् भने राजनीतिक दलहरूले खेलकुदलाई बलात्कार गर्न छोडेका छैनन् । पछिल्लो समयमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाबीचको विवाद र अन्तरद्वन्द्वलाई यसको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । राजनीतिक दलका नेताहरूमा खेलकुदको विकासभन्दा पनि आफ्नो मान्छेलाई कसरी खेलकुदमा नियुक्ति गर्ने भन्ने घिनौनो सोच र मानसिकताका कारण खेलकुद बलिको बोका बनेको थियो । राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छेलाई बढी प्राथमिकता दिनु र काखी च्याप्नुले खेलकुदको यस्तो हरिविजोग भएको कसैबाट छिपेको छैन । जसको परिणाम विगत एक डेढ वर्षदेखि खेलकुदमन्त्री पौडैल र सदस्यसचिव लामाबीचको विवाद खेलकुदको विकासका लागि तगारो बन्दै गएको जगजाहेरै छ । तसर्थ वर्तमान अवस्थामा मन्त्री पौडेल र सदस्यसचिव लामा आफ्नै तालसुरमा हिँडेका छन् । यसको प्रत्यक्ष प्रभाव भने खेलकुदमा परेको छ । यो जुँगाको लडाइँ नभई राजनीतिक लडाइँमा परिणत भएको छ । खेलकुदमा विवाद र विग्रहको विजारोपण गर्ने कार्य राजनीतिबाट भएको ठोकुवा गर्न सकिन्छ । तसर्थ ताण्डव मच्चाउँदै आएकाहरू ताण्डप मच्चाउन नपाएकै कारण अहिले खेलकुदमा पुनः सलबलाउन थालेका छन् । राज्यले मौनता साँधेको छ, खेलकुदमा राम्रो मान्छे होइन हाम्रो मान्छे ल्याउनेपट्टि लागेको छ ।
राष्ट्रिय खेलकुद परिषद्लाई वर्तमान अवस्थासम्म सोह्रजना सदस्यसचिवले हाँकिसकेका छन् । यी सदस्यसचिवमध्ये कसले खेलकुदको भलाइका लागि कार्य ग-यो त्यसको कुनै लेखाजोखा राज्यसँग छैन । र, पनि आमनेपालीको कथनअनुसार स्व. शरदचन्द्र शाह यी सदस्यसचिवमध्ये सर्वोकृष्ट ठहरिएका छन् । उनको समयको खेलकुदलाई ‘स्वर्ण युग’को संज्ञासमेत दिइएको छ । उनले त्यतिबेला नै खेलकुदको महत्व कति बुझेका रहेछन् भन्ने उदाहरण शाहले निर्माण गरेका खेलकुदका भौतिक पूर्वाधारहरूलाई हेर्दा नै अड्कल र अनुमान लगाउन सकिन्छ । खेलकुदलाई केन्द्रीकरणभन्दा विकेन्द्रीकरणको साँचोमा ढालेका शाहले पचहत्तरै जिल्लामा कभर्ड हल र नेपालगन्ज, पोखरा र वीरगन्जमा निर्माण गरेका रंगशालाबाट उनको कार्यकुशलता उजागार हुन्छ । पछिल्लो समयमा शाहको छाया कदममा वर्तमान सदस्यसचिव युवराज लामा चलेको प्रस्ट रूपमा देख्न सकिन्छ । उनले सर्वप्रथम भताभुङ्ग र लथालिङ्ग अवस्थामा रहेको खेलकुदमा ‘अनुशासन’ कायम गरेर महत्वपूर्ण कार्य गरेका छन् । खेलकुदका लागि अनिवार्य सर्तको रूपमा रहेको अनुशासनलाई लामाले शतप्रतिशत कायम गर्दै एउटा मिसायल नै कायम गरेका छन् । उनको कार्यकालमा खेलकुदमा कुनै उद्दण्डता नदेखिनु यसको उदाहरण हो । साथै उनले खेलकुदका भौतिक पूर्वाधारको निर्माणमा समेत अहम् योगदान दिएर आफूलाई एक कुशल सदस्यसचिवको रूपमा उभ्याएका छन् । त्यस्तै पूर्वसदस्यसचिव केशव स्थापितले आफ्नो साढे सात महिनाको कार्यकालमा खेलकुदको विकासमा जुन सोच पैदा गरेर तरङ्ग पैदा गरेका थिए त्यसले पनि यदि उनले लामो समयसम्म खेलकुदलाई हाँक्न पाएका भए केही गर्ने थिए भनेर अनुमान लगाउने खेलकुदमा धेरै देखिएका छन् । यसरी साँचो अर्थमा भन्नुपर्दा सोह्रजना सदस्यसचिवमध्य शरदचन्द्र शाह, युवराज लामा र केशव स्थापित मात्र खेलकुद बुझेका सदस्यसचिव थिए भन्दा अतिशयोक्ति नहोला । वर्तमान अवस्थामा शाहको निधन भइसके पनि लामा र स्थापितको खेलकुदप्रतिको सोच हेर्दा सरकार यी दुई पात्रप्रति गम्भीर हुन जरुरी छ ।
सदस्यसचिव युवराज लामाको कार्यकाल आगामी जेठको अन्तिम साता सकिँदै छ । लामाको कार्यकाल सकिनुअघि नै अहिले सदस्यसचिव पदका आकाङ्क्षीहरू सलबलाउन थालेका छन् । अर्थात् आफ्नो योग्यताले भन्दा नेताको चाकरी–चाप्लुसी गरेकै भरमा उनीहरू सदस्यसचिव पद हत्याउने दाउमा लागेका छन् । यसरी अहिले एमालेको भागमा खेलकुद मन्त्रालय परेकाले एमालेका कार्यकर्ताहरू नै सदस्यसचिवको दौडमा अगाडि देखिएका छन् । यसमा पूर्वसदस्यसचिव केशव स्थापितले आफू खेलकुदमा आउन लागेको सार्वजनिक रूपमै शंकनाद गरिसकेका छन् । स्थापितले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई खेलकुदको वागडोर सम्हाल्न धाप मारेको खुलासा गरेका छन् । त्यस्तै अहिले सदस्यसचिवको अर्को नाममा एमालेकै चर्चित युवा तथा पूर्वराष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सिनाको नाम पनि चर्चामा आएको छ । सुनिनमा आएअनुसार तिमिल्सिनालाई पनि अध्यक्ष ओलीले नै सदस्यसचिवका लागि सङ्केत गरेको थाहा भएको छ । आफ्नै निवास बालकोटमा थुप्रै एमाले कार्यकर्ताबीच अध्यक्ष ओलीले भावी सदस्यसचिव भनेर तिमिल्सिनालाई चिनाएको स्रोतको दाबी छ । त्यस्तै सदस्यसचिवको आकाङ्क्षीको रूपमा नदेखिए पनि नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङलाई एमालेभित्र सदस्यसचिवको रूपमा हेरिन थालिएको छ । उनलाई पार्टीका वरिष्ठ नेता वामदेव गौतमले खेलकुद सम्हाल्नका लागि सुझाव दिएको स्रोतले बताएको छ । त्यस्तै अन्य व्यक्तिहरूमा नेपाल ओलम्पिक कमिटीका सदस्य पुरेन्द्रविक्रम लाखेको पनि नाम अग्रपङ्क्तिमा आएको छ । ओलीनिकट लाखेलाई अध्यक्ष ओलीले नै सदस्यसचिवका लागि तयारीमा बस्न अह्राएको बुझिएको छ । एमालेमा सदस्यसचिवका लागि थुप्रै आकाङ्क्षी देखिएपनि उनीहरूको हाइट नपुगेका कारण अहिले छायामा परेका छन् । एमालेको नयाँ खेलकुदको सदस्यसचिवको लिस्टमा यी अनुहारमा देखिए पनि भविष्यमा मााओवादी अध्यक्ष प्रचण्डले ल्हारक्याल लामालाई सभासद् बनाएझैँ अन्य व्यक्तिको चयन भयो भने अन्यथा मान्नुपर्ने छैन । किनकि नेपाली राजनीतिको परिदृश्यमा यस्ता घटनाका दृश्य प्रायः घट्ने गरेका छन् । अझ नेताहरू पैसाको अगाडि कति आशक्त र नतमस्तक हुन्छन् सायद भनिरहनु नपर्ला । यहाँ पनि पैसाको घिनौनो खेल हुन सक्छ । त्यसबेला राम्रा र हाम्राहरू पाखा लाग्न सक्छन् भने पैसावाला भित्रिन सक्छन् । यो तीतोसत्यलाई सदस्यसचिवका आकाङ्क्षीहरूले अहिले बुझे भविष्यमा मानसिक रोगी बन्नुपर्ने छैन ।
कुरो जे भए पनि यतिबेला सरकारप्रमुख प्रधानमन्त्री राष्ट्रिय खेलकुद परिषद्को संरक्षक भएकाले सदस्यसचिवको नियुक्तिबारे गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । खेलकुदमा राजनीतिक कार्यकर्ताभन्दा खेलकुद बुझेको र नजिकबाट नियालेको व्यक्तिको चयन हुनुपर्ने देखिन्छ । तसर्थ खेलकुदमा त्यस्तो व्यक्तिको चयन हुनुप-यो जसले खेलकुदको समग्र विकासका लागि अहम् भूमिका निभाउन सकोस् । जुन दलीय स्वार्थभन्दा माथि उठेर सरकारले चयन गर्न सक्नुपर्छ । त्यो व्यक्ति जुन दलमा आस्था राख्ने भए पनि फरक पर्दैन । त्यस्तो व्यक्तिको बारम्बार चयन भए पनि फरक पर्दैन अर्थात् खेलकुदका लागि हितकर नै सावित हुन्छ । यदि सरकारले यस्तो गर्न सक्तैन भने सदस्यसचिवको चयन चुनावी प्रक्रियाबाट हुनुपर्छ । जसलाई खेलकुदका राष्ट्रिय सङ्घहरूले लोकतान्त्रिक प्रक्रियाबाट चयन गर्न सक्छन् । अर्को विकल्पको रूपमा खुला छनोट प्रक्रियालाई पनि लिन सकिन्छ । यसमा राजनीतिक कार्यकर्तादेखि खेलकुदमा आस्था राख्ने आकाङ्क्षीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । जसमा नातावाद कृपावाद, चाकरी र चाप्लुसी गर्नेहरूले स्थान पाउने छैनन् । यदि सरकारले यो कुरामा बुद्धि पु-यायो भने खेलकुदले राजनीतिक हस्तक्षेपबाट मुक्ति पाउने प्रायः निश्चित छ । यी कुरालाई सरकारले नजरअन्दाज गरेर पेलेर जाने मनस्थिति बनाए खेलकुदमा विद्रोह हुने कुरालाई नकार्न सकिँदैन । सबैलाई चेतना भया ।

खेल समाचार

जुडोको राष्ट्रिय टिम तयार
नेपाल जुडो सङ्घले राष्ट्रिय टिमका लागि समान ७–७ पुरुष र महिला गरी १४ खेलाडी आइतबार छनोट गरेको छ । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा एकदिने छनोट प्रतियोगिता आयोजना गरी आफ्नो स्पर्धामा पहिलोलाई जुडो सङ्घले राष्ट्रिय टिममा समावेश हुने गरी १४ खेलाडी छानेको हो ।
पुरुषको ६० केजीमुनि नेपाल आर्मीका सुदीपकुमार बोहरा, ६६ केजीमुनि नुवाकोटका रामभक्त तामाङ, ७३ केजीमुनि आर्मीका जंगबहादुर सारु, ८१ केजीमुनि केन्द्रीय डोजोका सञ्जय महर्जन, ९० केजीमुनि नेपाल प्रहरीका श्रीराम मकाजु, १०० केजीमुनि आर्मीका शिवबहादुर बराम तथा १०० केजीमाथि केन्द्रीयका राजन जोशी छनोट भएका छन् । त्यस्तै महिलाको ४८ केजीमुनि बाल वातावरण केन्द्र (सीडब्लूसीएन) की सीता सार्की, ५२ केजीमुनि प्रहरीकी सरिता चौधरी, ५७ केजीमुनि बन्दी सहायता नियोग (पाम) की मनिता प्रधान श्रेष्ठ, ६३ केजीमुनि एमएमएसीकी फुपुल्हामु खत्री क्षेत्री, ७० केजीमुनि प्रहरीकी इन्दिरा राई, ७८ केजीमुनि आर्मीकी गंगा चौधरी तथा ७८ केजीमाथि कञ्चनपुरकी सुनिता बोहरा छानिए । छनोटमा विभिन्न १८ टिमका २५ महिलासहित ७३ खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

एसियाली भारोत्तोलन हुने
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा सिनियर एसियाली महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता नेपालमा हुने भएको छ । ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा हुन लागेको प्रतियोगिता आगामी साउन ६ देखि १५ गतेसम्म हुने हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा एसियाका ३५ राष्ट्रका कुल चार सयजनाको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
विश्व भारोत्तोलनको मानचित्रमा यस खेलको महाशक्ति एसिया नै भएको हुनाले विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन पनि यस प्रतियोगितामा सहभागी हुनेछन्, यसैले नेपालमा भारोत्तोलनको विश्व र एसियाली कीर्तिमान पनि कायम हुने सम्भावना धेरै छ– भारोत्तोलन सङ्घका महासचिव पार्थ सारथी सेन गुप्त (मीठु गुरु) ले बताए । एसियाली भारोत्तोलन प्रतियोगिताको सफल आयोजनाले सन् २०१८ को विश्व जुनियर भारोत्तोलन प्रतियोगिता आयोजना गर्ने अवसर पनि प्राप्त हुनेछ भारोत्तोलन सङ्घका अध्यक्ष रतन टन्डनले बताए । पुरुषमा २४ र महिलामा २१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न एक करोड ४२ लाख १२ हजार रुपैयाँको बजेट विनियोजित गरिएको बताइएको छ ।

काठमाडौं पोखरा शान्तिदौड
पोखराको शान्ति स्तुपा संरक्षण गर्नका लागि काठमाडौंदेखि पोखरासम्म ६ दिने शान्तिदौडको आयोजना हुने भएको छ । खास्ती नेवाः पुचको आयोजनामा हुने सो दौडको नाम विश्व शान्ति स्तुपा पोखरा संरक्षण सहयोगार्थ शान्तिदौड २०७२’ राखिएको छ । कार्यक्रमका संयोजक संघरत्न शाक्यको नेतृत्व तथा राष्ट्रिय धावक रत्न तुलाधरको संयोजकत्वमा हुने सो दौडमा भेट्रान धावक वैकुण्ठ मानन्धर, गीतकारसमेत रहेका धावक बुद्धवीर लामासहित ६ जना धावक खेलाडीले सो दौडमा भाग लिने भएका छन् । दौड वैशाख ८ गतेबाट सुरु भएर वैशाख १३ गते पोखरा विश्व शान्ति स्टुपामा पुगेर टुङ्गिनेछ । हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार काठमाडौंको बौद्ध स्तुपाबाट दौड सुरु हुने दौड गल्छी, मुग्लिङ, दमौली बजार हुँदै पोखरामा पुग्नेछ । त्यहाँ नगर परिक्रमा गरेपछि बौद्ध स्टुपा पुग्नेछ । संयोजक संघरत्न शाक्यले पत्रकार सम्मेलनमा बताएअनुसार दौडको उद्देश्य विश्व शान्ति स्तुपाको पुनर्निर्माणका लागि सहयोग सङ्कलन गर्नु हो । उनका अनुसार कम्तीमा तीन लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।