होटेलमा आगलागी हुँदा १७ को मृत्यु, ११ घाइते

होटेलमा आगलागी हुँदा १७ को मृत्यु, ११ घाइते


दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नि नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।

करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटेलमा मंगलबार बिहान ४ः३० बजे सो आगलागी भएको थियो । तत्काल बारुण यन्त्रसहित केही अग्निनियन्त्रक त्यसतर्फ गए पनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उपआयुक्त एमएस रान्धावाले बताए ।

विभागका प्रमुख अतुल गर्गले भने, ‘सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई ब्हिान ४ः३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो ।’

उद्धार टोलीले घटनास्थलबाट एउटा अस्पतालमा १३ जनाको र अर्को अस्पतालमा अन्य चारजनाको शव अन्तिम परीक्षण रिपोर्टका लागि पठाएको छ । एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ््यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटेलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।

आगोमा जलेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उपआयुक्त एमएस रान्धावाले भने, ‘आगलागीबाट घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।’ आगलागी भएको सो चारतले होटेलमा ३५ कोठा थिए । सोमबार उक्त होटेल एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताए ।