संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय गत आइतबार भएको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।
भारतले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको भारतका विदेश मन्त्री सुष्मा स्वराजले जानकारी दिएकी छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा युएइको अदालतको प्रशंसा गर्दै उनले हिन्दी भाषालाई पनि युएइमा औपचारिक भाषाको मान्यता दिएकोमा धन्यवाद व्यक्त गरेकी हुन्। यो निर्णयले न्याय सेवा प्रवाह थप प्रभावकारी हुने र आमनागरिक लाभान्वित हुने मन्त्री स्वराजले विश्वास व्यक्त गरेकी छन् ।

युएइमा आप्रवासीहरु मध्ये सवै भन्दा धेरै भारतीय रहेका छन् । उनीहरु अधिकांश हिन्दी भाषी हुने गरेका छन् । त्यसैले पनि हिन्दी भाषालाई औपचारिक भाषाको रुपमा मान्यता दिनु पर्ने देखिएको हो ।
एक तथ्यांकका अनुसार दुबईमा तीन लाख भन्दा बढी भारतीयहरु रहेका छन् । उनीहरु प्राय भारतको उत्तरी र मध्य क्षेत्रबाट आउने गरेको गल्फ न्युजले लेखेको छ ।
प्रतिक्रिया