श्राद्ध र जन्मदिन एकैपटक परेपछि

श्राद्ध र जन्मदिन एकैपटक परेपछि


सधैँ भव्यताका साथ मनाउने गरिएको पूर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सव यसपटक नमनाइने भएको छ । फागुन ७ गते पर्ने उहाँको जन्मोत्सवका दिन यसपटक राजा महेन्द्रको श्राद्ध तिथि परेका कारण नमनाइने भएको हो । प्राप्त जानकारीअनुसार आफ्ना पिता राजा महेन्द्र र माता इन्द्र राज्यलक्ष्मीको श्राद्ध (सोह्र श्राद्धसहित) राजा ज्ञानेन्द्र आफैँले गर्दै आउनुभएको छ । यसपटक उहाँहरूको बसाइ झापाको दमकमा भएकोले दमकमै श्राद्ध गरिनेछ ।

यही माघ १३ गते काठमाडौंबाट सिमरा पुग्नुभएका पूर्व श्री ५ हरू २३ गते सिमराबाट झापा पुग्नुभएको छ । सिमरा पुगेपछि छोरा पूर्वयुवराज पारसलाई काठमाडौंमा हृदयाघात भएकोले रानी कोमल सोही रात काठमाडौं आई पुनः केही दिनमा सिमरा फर्कनुभएको थियो । प्राप्त जानकारीअनुसार छोरा पारस खतरामुक्त भएको भनी डाक्टरहरूले बताएपछि राजा ज्ञानेन्द्र सिमरामै बस्नुभएको थियो । छोरा अस्पताल रहुञ्जेल बाबुछोराको पटकपटक टेलिफोनमा कुराकानी भएको बताइन्छ । छोरा डिस्चार्ज भएपछि रानी कोमल पुनः सिमरा फर्कनुभएको थियो । पूर्वयुवराज पारस अहिले आफ्नी कान्छी फुपू शोभा राज्यलक्ष्मी शाहीको घरमा बसिरहनुभएको छ ।

रानीको अकस्मात् बिग्रिएको स्वास्थ्यका कारण सर्वसाधारणको स्वागत ग्रहण गर्न नपाएकोमा आफूलाई नरमाइलो लागेको भनी राजाले निकटवर्तीहरूलाई बताउने गर्नुभएको छ ।

यही माघ २३ गते सिमराबाट दमकसम्म राजा ज्ञानेन्द्र आफैँले गाडी चलाएर जानुभएको थियो । विभिन्न स्थानमा सर्वसाधारणले राजारानीको स्वागत गर्न फूलमाला लिएर बसे पनि लाहानदेखि दमकसम्मको यात्रामा राजाले गाडी रोक्न सक्ने अवस्था नरहेको बताइन्छ । सर्वसाधारण लाममा लागेर पर्खिएको ठाउँमा पनि गाडी रोक्न नसक्नुमा रानी कोमलको स्वास्थ्य एक मात्र कारण रहेको थाहा भएको छ । लाहानमा खाना खाएपछि एक्कासि रानी कोमलको रक्तचाप उच्च भएको थियो । अकस्मात् शारीरिक अप्ठ्यारो महसुस भएपछि पहिलो प्राथमिकता उहाँलाई गन्तव्यसम्म पुऱ्याएर उपचार गरी आराम गराउनु रहेकोले बाटोमा गाडी रोक्न नसकिएको स्रोतले बताएको छ ।

रानीको अकस्मात् बिग्रिएको स्वास्थ्यका कारण सर्वसाधारणको स्वागत ग्रहण गर्न नपाएकोमा आफूलाई नरमाइलो लागेको भनी राजाले निकटवर्तीहरूलाई बताउने गर्नुभएको छ । सप्तरी, इटहरी, मोरङलगायत विभिन्न स्थानमा मात्र नभई उहाँहरू आफ्नै गेटअगाडि पनि गाडी नरोकी निवासतर्फ लाग्नुभएको थियो । अहिले रानी कोमलको स्वास्थ्य सामान्य अवस्थामा फर्किएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार प्रदेश १ को दमक मुकाम रहेर राजा ज्ञानेन्द्रले प्रदेश २ को भ्रमण गर्नुहुनेछ । सप्तरी, सिरहा, उदयपुर, धनुषा र महोत्तरी जिल्लाको भ्रमण गर्ने कार्यक्रम तय भइसकेको छ । यी जिल्लामा राजाको स्वागतका लागि विभिन्न राजनीतिक दलसम्बद्ध युवाहरूले तयारी सुरु गरिसकेका छन् । यसअघि पोखरा भ्रमणमा रहेका बेला उहाँलाई सबै दलका कार्यकर्ताले भव्य स्वागत गरेका थिए । विभिन्न मन्दिर तथा सांस्कृतिक सम्पदाको दर्शनार्थ फागुन महिनाभरि दमकलाई मुकाम बनाएर बस्ने योजना रहेको र त्यसबीचमा विभिन्न व्यक्तित्वसँग भेटघाट र छलफल हुने बताइएको छ ।