समाधानको बिन्दुमा ओलम्पिक विवाद

समाधानको बिन्दुमा ओलम्पिक विवाद


sportखेलकुद लेख
लामो समयदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटीको विवाद समाधानको बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणाबीच पटकपटक भएको संवाद र छलफलपछि वर्षौंदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटीको विवाद समाधानउन्मुख भएको हो । दुवै पक्षका पदाधिकारीबीच भएको संवाद र छलफलमा ओलम्पिक कमिटीको विवाद समाधान गर्नुपर्ने र मिलेर जानुपर्ने निष्कर्ष निस्किएपछि एनओसीको विवाद समाधानको बिन्दुमा पुगेको हो । एनओसीको विवादले समग्र नेपाली खेलकुदमा नकारात्मक प्रभाव पारेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमलिएको यथार्थलाई आत्मसात् गर्दै दुवै पक्षले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेपछि ओलम्पिकको विवाद समाधानतिर अग्रसर भएको हो । वर्तमान अवस्थामा पनि एनओसीको विवाद समाधानका लागि दुवै पक्षका पदाधिकारी युद्धस्तरमा लागेको सूत्रले दाबी गरेको छ । प्राप्त जानकारीअनुसार यदि नेपालमा वैशाख १२ गते शक्तिशाली भूकम्प नगएको भए अहिलेसम्म एनओसीको विवाद समाप्त भइसक्ने थियो । एनओसीको विवाद समाधानका लागि दुवै पक्ष सकारात्मक रहेकाले भागबन्डाको कुरा मिलेमा जुनसुकै बेला दुई ओलम्पिक कमिटी एउटै हुनसक्ने प्रबल सम्भावना बलियो रूपमा देखिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पदाधिकारीको भेटघाट बाक्लिएपछि एनओसीको विवाद चाँडै समाधान हुने खेलकुद क्षेत्रमा अनुमान र अड्कल काटिन थालिएको छ । एनओसीको निर्वाचन सन्मुख आउँदा राणा र प्रधानले एनओसीको विवाद समाधान गर्न विशेष पहलस्वरूप भेटघाट र छफफल अगाडि बढाएका थिए । परिणामस्वरूप अहिले एनओसीको विवाद समाधानउन्मुख भएको छ । एनओसीमा भागबन्डाभन्दा पनि मिलेर जाने सवालमा दुवैले ऐक्यबद्धता जाहेर गरेपछि एनओसीको विवादमा समाधानको किरण देखिएको हो । अरूले होइन, हामीले नै ओलम्पिक कमिटीको विवाद समाधान गर्नुपर्छ भन्ने सवालमा राणा र प्रधानको राय मिलेपछि अहिले मेलमिलापको वातावरणलाई अगाडि बढाउन दुवैजना आफ्ना पक्षका पदाधिकारीहरूसँग गम्भीर छलफलमा जुटेका छन् । थाहा भएअनुसार अझै दुवै पक्षका पदाधिकारीहरूको एक दुईपटकको संवाद र छलफलपछि एनओसीको विवाद समाधान हुने कुरामा विश्वास गर्न सकिन्छ । अहिले थुप्रै कुरा मिलिसकेको छ, केही कुराको मात्र टुङ्गो लाग्न बाँकी रहेकाले त्यसलाई मिलाउन र सेफल्यान्डिङको कुरा मिलेपछि ओलम्पिक कमिटीको विवाद समाधान हुने विशेष स्रोतले जानकारी गराएको छ । यसका लागि प्रयास जारी छ, समाधान निस्कने कुरामा दुवै पक्ष ढुक्क र आत्मविश्वासी बनेका छन् ।
नेपाल ओलम्पिक कमिटीको विवाद समाधानउन्मुख भएको समाचारलाई मध्यनजर गर्दै राष्ट्रिय मान्यता प्राप्त एनओसीका अध्यक्ष रुक्मशमशेर राणासँग सम्पर्क गर्दा राणाले यो समाचारमा लालमोहर लगाएका छन् । राणाले अहिल्यै सबै कुरा बताउन नमिल्ने भन्दै ओलम्पिक विवादको समाधान प्रक्रियागत रूपमा हुने बताए । अहिले वार्ता र छलफल सकारात्मक रूपमा अगाडि बढेका छ, केही कुरोको पनि टुङ्गो लागेको छैन । अहिलेसम्मको भेटघाटमा मिलेर जाने कुरामा दुवै पक्षको सहमति भएको छ, कानुनी र औपचारिक रूपमा कुनै हस्ताक्षर नभएको राणाले बताए । ‘जे कुराको पनि समय आउँछ, त्यो त्यही समयमा जानकारी दिँदा राम्रो पनि हुन्छ । अहिले हावाको कुरा गरेर आकाशको तारा खसाल्ने कुरा गरेर भ्रमको खेती गर्नु राम्रो होइन । साँचो रूपमा भन्नुपर्दा अहिलेको स्थिति भनेको दुवै पक्षले दुवैको अस्तित्वलाई सम्मान गरेको मात्र हो । ‘चुरो’ कुरो के हो भने हामी र उनीहरू मिलेर जान चाहन्छौँ,’ राणाले भने । कहिलेसम्म दुई ओलम्पिक कमिटी एउटै हुने सम्भावना छ त ? भन्ने प्रश्नमा राणाको जवाफ थियो, ‘यति लामो समय विवाद भयो, अलि समय त लाग्छ नै । थुप्रै कानुनी र आपसी अड्चन छन्, सर्वप्रथम त्यसको समाधान गर्नुपर्छ । त्यसको समाधानतर्फ हामी लागेका छौँ । त्यसको समाधान हुनेबित्तिकै ओलम्पिक विवादको समाधान हुन्छ ।’ महत्वपूर्ण कुरा के भने हामी मिलेर अगाडि बढ्न चाहन्छौँ ।
त्यस्तै अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले पनि नेपाल ओलम्पिकको विवाद समाधानउन्मुख रहेको कुरालाई स्वीकार गरेका छन् । ‘हामीबीच धेरैपटक संवाद र छलफल भइसक्यो, सायद भूकम्प नगइदिएको भए अहिलेसम्म कुरा मिलिसक्थ्यो होला,’ प्रधानले भने । अहिले वातावरण सामान्य बन्दै छ, हामी पनि त्यसैको प्रतीक्षामा छौँ । सहज वातावरणसँगै हामी पुनः वार्तामा बस्छौँ र निष्कर्षका पुग्छौँ । यसपालि कुरा मिल्छ त भन्ने प्रश्नमा प्रधानको जवाफ थियो, ‘किन नमिल्ने ? सबै मिलिसकेको छ । सबै कुरा सहमतिअनुसार गर्ने भनेपछि नमिल्ने त प्रश्नै आउँदैन । अब हामी यो विवादमा अल्झिएर एनओसीलाई अनिर्णयको बन्दी बनाउन चाहँदैनौँ । छिटोभन्दा छिटो एनओसीको विवाद समाधान गरेर एउटै ‘नेपाल ओलम्पिक कमिटी’ बनाउन चाहन्छौँ । जहाँसम्म सहमतिको कुरा छ, त्यो अन्य कुरा नभई पदीय बाँडफाँडको हो, त्यसमा पनि मैले प्रस्ट रूपमा कुरा राखिसकेको छु । साँचो रूपमा भन्नुपर्दा अहिलेसम्म राणाजी पक्षले नामावली दिएको छैन, अर्को भेटमा अवश्य दिनुहुने कुरामा म विश्वस्त छु । त्यो नामावली मेरो हातमा पर्नेबित्तिकै एनओसीको विवाद सदाका लागि समाप्त हुन्छ । म त्यसैको प्रतीक्षामा छु । म ओलम्पिकको विवाद सदाका लागि समाधान गर्न उनीहरूलाई सम्मानजनक ठाउँमा राख्न तयार छु । हाम्रो पक्षमा यसमा कसैको विरोधाभास छैन । नियमसम्मत पाउने पद उहाँहरूले पाउने हुनेछ । साँच्चै एनओसीको विवाद समाधान गर्ने हो भने ‘मेरो गोरुको बाह्रै टक्का’ कसैले गर्नुहुँदैन र हामी पनि गर्ने छैनौँ ।’
ओलम्पिकको विवाद समाधानउन्मुख हुँदा राणा र प्रधानबीच गोप्य सहमति भएको बुझिएको छ । राणा र प्रधानले एनओसीको भविष्यमा कुनै आँच आउन नदिन यस्तो सहमति गरेको बुझिएको छ । सुनिएअनुसार बागमतीमा थुप्रै पानी बगिसकेकाले विश्वासको खाडल पुर्ने जिम्मेवारी राणाले प्रधानलाई सुम्पिएको थाहा भएको छ । अहिले सहमति होला, भोलि त्यो कार्यान्वयन भएन भने त्यसको जिम्मेवारी कसले लिने ? यो चिन्ताले राणालाई सताएको छ । त्यसैले राणाले प्रधानलाई नेपाल ओलम्पिक कमिटीको निर्वाचन उनको कार्यकाल सकिनुअघि नै गर्न सुझाएका छन् । यसो गर्दा प्रधानले आफ्नो कार्यकाल सकिनुअघि नै राणा पक्षकालाई एनओसीमा भित्याउन पाउनेछन् । जसलाई प्रधानले पनि सकारात्मक रूपमा लिएका छन् । यसो गर्दा सर्प पनि मर्ने लौरो पनि नभाँचिने हुँदा प्रधानले यसलाई आत्मसात् गरेका छन् । यसो गर्दा लामो समयसम्म चलेको ओलम्पिक विवादको समाधानको जस पनि प्रधानलाई प्राप्त हुनेछ । वास्तविक रूपमा भन्ने हो भने प्रधान पनि यही दाउ कुरेर बसेका थिए । जसलाई पूर्णता दिन राणाले सहयोग गर्ने भएपछि अहिले सुनमा सुगन्ध भएको छ । अर्थात् प्रधानलाई के खोज्छन् कानो आँखो जस्तै भएको छ । उनी यही रणनीतिलाई अख्तियार गर्दै ओलम्पिकको विवाद सदाका लागि समाधान गर्नेपट्टि लागेका छन् ।
अझ दुवै पक्षले भावी ओलम्पिक कमिटीको अध्यक्षको रूपमा वर्तमान महासचिव जीवनराम श्रेष्ठलाई स्वीकारिसकेको अवस्थामा प्रधानलाई अन्य पद मिलाउन त्यति गाह्रो नपर्ने देखिएको छ । तर, प्रधानका लागि सबैभन्दा चुनौतीको विषय भनेको राणा पक्षका पदाधिकारीहरूको चित्त बुझाउनु रहेको छ । यसमा उनी कति सफल हुन्छन् या हुँदैनन् त्यो प्रतीक्षा गर्नु नै उचित हुनेछ । श्रेष्ठले पनि आफू अध्यक्ष बन्ने भएपछि अन्य पदका लागि बार्गेनिङ नगर्ने भएकाले प्रधानलाई आफ्ना र राणा पक्षकालाई ओलम्पिकमा भित्याउन त्यति कसरत गर्नुपर्ला जस्तो देखिएको छैन । नियमसम्मत राणा पक्षलाई पहिलो भाग दिने सुरमा प्रधान देखिएका छन् । त्यसपछिका अन्य पदमा प्रधान र श्रेष्ठको राजीखुसीमा राखिनेछ । स्मरण रहोस्, उपाध्यक्षसहितका केही पदहरू राणा पक्षकाले पाउने भए पनि महासचिव र कोषाध्यक्षको पद नियमसम्मत उनीहरूलाई प्राप्त हुनेछैन । तसर्थ यसपटकको ओलम्पिक कमिटीको निर्वाचन राणा पक्षका लागि खाली राखेर गरिने प्रबल सम्भावना रहेको छ । जसको गृहकार्यका लागि प्रधान जुटिसकेका छन् । राणा र प्रधानको आगामी भेटमा यो कुराको पनि टुङ्गो लाग्नसक्ने विश्वास गर्न सकिन्छ । आशा गरौँ, नेपाल ओलम्पिक कमिटीको विवाद समाधान होस् । खेलकुदले एउटै ओलम्पिक कमिटी पाओस् ।

खेल समाचार
राहतका लागि सांस्कृतिक कार्यक्रम
भेरी कलाकार समाज काठमाडौंको आयोजनामा भूकम्पपीडितहरूको राहत कार्यका लागि सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । उक्त सांस्कृतिक कार्यक्रम भेरी अञ्चलका पाँच जिल्ला सुर्खेत, दैलेख, जारकोट, बाँके र बर्दियामा आयोजना हुने भेरी अञ्चल कलाकार समाजिक अध्यक्ष एवम् चर्चित तेक्वान्दो खेलाडी नन्दा बस्यालले जानकारी दिएकी छिन् ।
जेठ ११ गतेदेखि १९ गतेसम्म प्रदर्शन हुने सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरूको सहभागिता रहनेछ । सहभागी कलाकारहरूमा शंकर विसी, टीका पुन, जानकी तारमी, अर्जुन सुनाम, शिव सङ्गीत, सुरेन्द्र चन्द, पुष्पा बोहरा र नन्दा बस्याललगायत रहेका छन् । सांस्कृतिक कार्यक्रमबाट उठेको रकमले रासन, जस्तापाता, त्रिपाल तथा अस्थायी घरको निर्माणको लागि भूकम्पपीडित जिल्लाका पीडितलाई वितरण गरिने अध्यक्ष बस्यालले जानकारी गराएकी छिन् ।
त्यस्तै बस्यालले सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरूसँग सम्झौता भइसकेको बताउँदै सबै कलाकारले सित्तैमा कार्यक्रम सहयोग गरेको खुलासा पनि गरेकी छिन् । सांस्कृतिक कार्यक्रममा लोकदोहोरी, आधुनिक गीत, नृत्य र हास्य कलाकारहरूको प्रदर्शन रहनेछ । सांस्कृतिक कार्यक्रमलाई सफलताको मूर्तरूप दिन यातायात व्यवसायी सङ्घ, होटल व्यवसायी सङ्घ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान र विभिन्न सङ्घसंस्थाको सहयोग रहनेछ । त्यस्तै सांस्कृतिक कार्यक्रम प्रत्येक जिल्लाका उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर सञ्चालन हुनेछ ।

किशोर र सविताबाट पाँच लाख प्रदान
अमेरिकालाई कर्मथलो बनाएर बसेका तेक्वान्दोमा एसियाली कास्यधारी किशोर श्रेष्ठ र ऐतिहासिक रजत विजेता सविता राजभण्डारीको जोडीले भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा पाँच लाख प्रदान गरेका छन् । सो रकम युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई किशोर–सविताको परिवारले हालै हस्तान्तरण गरेका थिए । सो रकम किशोरका बुबा दुर्गामान श्रेष्ठ र बहिनी सहाना श्रेष्ठ तथा सविताका दाजु प्रदीप राजभण्डारीले युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री पौडेललाई हस्तान्तरण गरेका थिए ।
साथै किशोर–सविताका ११ वर्षीय छोरा जोसेफ श्रेष्ठ र नौ वर्षकी छोरी जेसिका श्रेष्ठले पनि एक लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषलाई प्रदान गरेका छन् । यी बालकहरूले आफूले जोगाएर जम्मा गरेको रकम भूकम्पपीडितका लागि प्रदान गरेका हुन् । सो रकम ग्रहण गर्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विदेशमा रहेर पनि देशलाई विपत्ति परेको बेला सहयोग गरेकोमा यी खेलकुद पात्रलाई धन्यवाद दिएका थिए । उनले भविष्यमा खेलाडीले गरेको यो प्रयासको उच्च मूल्याङ्कन हुने बताए । सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले साना बच्चाहरूमा देखिएको परोपकारी भावनाले आफ्नो मन छोएको बताएका थिए ।
सो रकम हस्तान्तरण समारोहमा किशोरकी बहिनी सहानाले किशोरले पठाएको सन्देश सुनाएकी थिइन् । किशोरले भनेका थिए, ‘हामी विदेशमा छौँ र आफ्नो देशले भोगिरहेको पीडा महसुस गरिरहेका छौँ । त्यसैले आफ्नोतर्फबाट यो सानो सहयोग गरेको छु ।’ सविता राजभण्डारी एसियाली खेलकुदका रजत पदक जित्ने एक मात्र नेपाली खेलाडी हुन् । बैंककमा भएको १३औँ एसियाडमा उनले त्यो सफलता पाएकी थिइन् । त्यस्तै किशोरले सोही प्रतियोगितामा कास्य पदक जितेका थिए । यी दुवै आठौँ साफ गेम्सका स्वर्ण विजेता हुन् ।

एमआरसीको नेतृत्वमा धरेल
पर्वतारोहण तथा रकक्लाइम्बिङ स्पोर्टस् एसोसिएसन नेपाल (एमआरसीए) को चौथो साधारणसभाले हरि धरेलको अध्यक्षतामा १४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । चितवनको सौराहामा भएको साधारणसभाले शंकर सैंजू र सम्पन्न याक्थुम्बालाई उपाध्यक्ष, मेघराज पौडेललाई महासचिव, ठाकुरप्रसाद न्यौपानेलाई सचिव तथा प्रेमनारायण अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरेको थियो । दीपेश केसी, डोरिन्द्रराज दाहाल, शिशिर काफ्ले, श्रीलालकुमार श्रेष्ठ, सन्तोष मादेन, अनिल भट्टराई, चारु श्रेष्ठ तथा डा. विनोद ज्ञवाली सदस्यमा चयन भए । त्यस्तै, सुनार गुरुङ उपाध्यक्ष तथा इन्जिनियर सिर्जना श्रेष्ठ गुरुङ र लाक्पा शेर्पा सदस्यमा मनोनीत भएका छन । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए । राखेपअन्तर्गत कानुन शाखा प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत नारायणराज अर्यालले पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
साधारणसभामा केन्द्रका १७, विभिन्न ११ जिल्लाबाट दुईजनाका दरले २२ तथा टेक्निकल कमिटीबाट दुई गरी जम्मा ४१ प्रतिनिधिको सहभागिता रहेको महासचिव पौडेलले जनाएका छन् । साधारणसभाअघि सौराहामै नेपाल अटोमाबाइल खेलकुद सङ्घ (नासा) ले आयोजना गरेको भूकम्पपछि चितवनको पर्यटन विषयक अन्तरक्रियामा सभासद् एवम् पूर्वमन्त्री कर्ण थापा, सदस्यसचिव लामालगायतले आ–आफ्नो धारणा राखेका थिए । नासाका महासचिव गोविन्द भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

महर्जनद्वारा राहत वितरण
राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको पहल र टुल्कु फ्रेन्ड्स अफ नेपालको सहयोगमा ललितपुरको दक्षिण भेगमा रहेको इकुडोल गाविसका भूकम्पपीडितलाई करिब दुई लाख मूल्यबराबरको राहत वितरण गरिएको छ । उक्त गाविसको वडा नम्बर २, ३, ७, ८ र ९ का तीन सय घरधुरीलाई चामल ५० बोरा, दाल तीन सय केजी, तेल तीन सय प्याकेट, नुन तीन सय प्याकेट, वाइवाइ चाउचाउ २५ कार्टुन, दालमोठ २५ कार्टुन, मसला तीन सय प्याकेट वितरण गरिएको पूर्वकोषाध्यक्ष महर्जनले बताए । महर्जनसहित आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी रवि महर्जन, फ्रेन्ड्स अफ नेपालका प्रतिनिधि किरण शाक्यलगायतले राहत वितरण गरेका थिए ।
त्यस्तै नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)ले थाङपाल गाविसका भूकम्पबाट पीडित ३० दलित घरधुरीलाई राहत सामग्री प्रदान गरेको छ । उक्त गाविसको वडा नम्बर तीनका भूकम्पपीडित दलितलाई चामल, झुल, दाल, नुन र तेल वितरण गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उक्त राहत सामग्री रिमा प्रधान, अस्ट्रेलियामा बस्ने अन्जना केसी र जापानमा बस्ने मुक्ति श्रेष्ठले उपलब्ध गराएको खड्काले बताए । खड्कासहित व्यवसायी नीराजन सिंह, मिसेस नेपाल रजनी थापा, एनटीएका महासचिव तीर्थराज घिमिरेलगायतले राहत वितरण गरेका थिए ।

रोएकता उत्कृष्ट
इन्टरनेसनल वादो फेडेरेसन (आईडब्लूएफ)को आयोजनामा सञ्चालन भएको प्रथम कराते सेमिनारमा काठमाडौंकी रोएकता सिंह उत्कृष्ट भएकी छिन् । दोस्रो डान हासिल गर्दा रोएकता प्रथम श्रेणीमा उत्तीर्ण भएकी थिइन् । आईडब्लूएफ नर्वेका प्रमुख प्रशिक्षक क्जार्तन स्ट्रोन्सले सेमिनार सञ्चालन गरेका थिए । जेठ ३ देखि ७ गतेसम्म सञ्चालन भएको सेमिनारमा क्जार्तन स्ट्रोन्स, जिम–रुनी भागहेइम चौथो डानलगायत अन्य तीन नर्वेली प्रशिक्षकले सेमिनार सञ्चालनमा सहयोग गरेका थिए । जोरपाटी फुटसलमा सञ्चालन भएको सेमिनारमा एक सय ३७ जना खेलाडी तथा प्रशिक्षकले सहभागिता जनाएका थिए । उक्त प्रशिक्षणमा चौथो डान उत्तीर्ण गर्न सफल सहदेव राजवंशी, अरुणकुमार कार्की, मनबहादुर मोक्तान, बुद्धिराज मेगी र सन्तोष माझी रहेका छन् । त्यस्तै सेमिनारमा तेस्रो डान प्राप्त गर्न सफल १४ जना, दोस्रो डान प्राप्त गर्न सफल २७ जना, प्रथम डान प्राप्त गर्न ३५ जना र ब्राउन बेल्ट उत्तीर्ण गर्न सफल ५५ जना रहेका छन् ।
उत्तीर्ण सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई समापन समारोहमा क्जार्तनले प्रमाणपत्र वितरण गरेका थिए । उक्त समारोहमा लिबर्टी डोजोका अध्यक्ष सञ्जय लामा, उपाध्यक्ष प्रेम श्रेष्ठ, सचिव ओमप्रकाश ढकाल, कोषाध्यक्ष पेम्बा शेर्पालगायतले नेपाल आएका क्जार्तनलगायतको टोलीलाई नेपाली टोपी लगाउनुका साथै मायाको चिनो दिएर बिदाइ गरेका थिए ।