बङ्गलादेशको विमान अपहरण प्रयास विफल पारेको दाबी

बङ्गलादेशको विमान अपहरण प्रयास विफल पारेको दाबी


बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् ।

आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबर्जस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ ।

बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर)का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टो ग्राममा आकस्मिक अवतरण गराइएको छ ।

ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको आइएसपिआर स्रोतलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

बताइएअनुसार विमानमा रहेका सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको थियो ।

शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराइएपछि विमानस्थललाई सम्पूर्ण रूपमा खाली गरी सुरक्षाकर्मीको घेरामा राखिएको बताइएको छ ।

विमान अपहरण गर्न खोज्ने व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिएको जनाइएको छ ।