ओस्कार अवार्डमा ग्रिन बुक सर्वोत्कृष्ट

ओस्कार अवार्डमा ग्रिन बुक सर्वोत्कृष्ट


यस वर्षको ओस्कार अवार्डमा ‘ग्रिन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१औँ ओस्कार अवार्ड समारोहमा युनिभर्सल पिक्चर्सद्वारा निर्मित यस चलचित्रले बाजी मारेको हो ।

यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोवास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र ‘रोमा’लाई पछि पार्दै ग्रिन बुकलाई ओस्कार प्रदान गरिएको छ ।

ग्रिन बुकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलीले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए । यस चलचित्रले पाँचवटा विधामा पुरस्कार प्राप्त गरेको थियो ।

‘यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ । हामीबीच मतान्तर रहे पनि यसमा एक–अर्काप्रति स्नेहभाव छ र हामी को हौँ भन्ने सत्य उदघाटित छ । हामी सबै एक हौँ,’ हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले बताए । कथामा समेटिएका शर्ले र लिप दुवै असाध्यै मिल्ने साथी थिए र उनीहरू दुवैको सन् २०१३ मा निधन भएको थियो ।