रेलबाट चार हजार किमि छिचोलेर भियतनाम पुग्दै किम

रेलबाट चार हजार किमि छिचोलेर भियतनाम पुग्दै किम


उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै गरेका किमको सुरक्षार्थ सर्वसाधारणका लागि त्यहाँका केही निश्चित क्षेत्रमा रेल सेवा बन्द गरिएको एएफपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै गरेका किम सवार हुने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको र ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ ।

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै छन् । दोङदाङबाट किमलाई सडक मार्गबाट करिव १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई लगिने छ। हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिने बताइन्छ ।

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका हुन् । उनी चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्नेछन्। भियतनामका अधिकारीहरुले जनाएअनुसारमङ्गलबार बिहानसम्ममा किम भियतनामको दोङदाङ शहरमा पुग्नेछन् । साढे दुई दिन लगाएर करिब ४ हजार किलोमिटर यात्रा गर्दै उनी भियतनाम पुग्न लागेका हुन् ।

भियतनाम दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ । त्यसैले पछिल्ला केही दिनयता उक्त क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे उनी भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम रहेको छ ।

दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफ्ना समाचारदाताले देखेको एएफपीको भनाई छ । मंगलबारसम्म रेल सेवा बन्द हुन सक्ने पनि बताइएको छ ।

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लागेका हुन् । गत वर्षको जुन १२ मा सिंगापुरमा दुई नेताबीच बहुचर्चित भेटघाट भएको थियो । अब हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्दैछन् ।