पाँच महिनामा ३४ अर्बको खाद्यान्न आयात, अर्बाैँ रकम बाहिरिदै

पाँच महिनामा ३४ अर्बको खाद्यान्न आयात, अर्बाैँ रकम बाहिरिदै


देशमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् । नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै आएको सरकारले पाँच महिनामा मात्रै करिब ३४ अर्ब २१ करोड रुपैयाँको खाद्य पदार्थ आयात गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको तथ्याङ्कका आधारमा चालू आवको पाँच महिनामा ७ अर्ब ५ करोडको भटमास, ३ अर्ब ९९ करोडको आलु, २ अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४/७५ मा रु १८ अर्ब १५ करोड र आव २०७३/७४ मा रु १६ अर्ब ९७ करोड बराबरको भटमास र भटमासको तेल आयात भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क डरलाग्दो रहेको सरोकारवालाको भनाइ छ ।

चालू आवको पाँच महीनामा करिब १३ अर्ब ५८ करोडको चामल मात्रै आयात भएको छ । आर्थीक वर्ष २०७४/७५ मा मात्रै रु ७३ अर्ब १६ करोड बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भएको तथ्यांक छ । आव २०७४÷७५ मा रु २९ अर्ब ५३ करोडको चामल आयात हुँदा आव २०७३/७४ मा रु २३ अर्ब ८७ करोडको आयात भएको थियो ।

अचम्म लाग्नुकरा के भने पहाडी भेगमा धेरै जसो मकै फल्ने नेपालले चालु आर्थिक वर्षको ५ महिनामा मकै मात्रै ५ अर्ब १९ करोडको भित्र्याएको छ । आव २०७४/७५ मा रु १२ अर्ब ५५ करोड र आव २०७३/७४ मा रु १० अर्ब ६३ करोडको मकै आयात भएको तथ्इांकले देखाउछ । हरेक वर्ष चामल र मकैको आयात बढिरहेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार नेपालका करीब ४५ लाख युवा वैदेशिक रोजगारीमा रहेका कारण नेपालमा पठाएको ठूलो परिमाणको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च हुने गर्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको दोस्रो त्रैमाससम्ममा रु चार खर्ब ४३ अर्ब ३६ करोड विप्रेषण आप्रवाह भएको छ भने आव २०७४/७५ मा रु सात खर्ब ५५ अर्ब छ करोड विप्रेषण आप्रवाह भएको थियो ।

कृषि प्रधान देश भनेपनि कृषिमा संलग्न परिवारका युवा रोजगारीका लागि बाहिरीदा कृषिमा विकास हुन सकेको छैन् । युवा जनशक्ति बाहिरीदाँ ग्रामीणलगायत तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ । जसका कारण विदेशी आयात बढ्दो छ ।