पोपका सल्लाहकार बालयौन दूराचारमा दोषी ठहर

पोपका सल्लाहकार बालयौन दूराचारमा दोषी ठहर


पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन् ।

अस्ट्रेलियाली न्यायाधीशहरुको समिति (जुरी) ले सर्वसम्मत रुपमा पेल दोषी रहेको ठहर गरेको छ । कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालक विरुद्ध यौन आक्रमण गरेका थिए ।

हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेको बताइएको छ । अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरुमा सत्यता नरहेको दाबी गर्दै आएका छन् भने भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया नदिइएको एएफपीले जनाएको छ ।

कार्डिनलका वकीलका तर्फबाट एक वक्तव्य जारी गर्दै जुरीले गरेको फैसलाका विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदन गरिने जनाइएको छ । पेल विरुद्ध लगाइएका केही अरु आरोपहरु पनि यसअघि फिर्ता लिइएका वा उन्मूक्ति दिइएका छन् ।

पेलले दूर्व्यवहार गरेका भनिएका एक बालकको सन् २०१४ मा मृत्यु भएको थियो । उनको परिवारका सदस्यहरुले पेलका कारण गहिरो दुःखमा परेका ती बालकको लागूऔषधको सेवनबाट मृत्यु भएको दाबी गर्दै आएका छन् ।

दोस्रा पीडित व्यक्तिका तर्फबाट वकीलले जारी गरेको एक वक्तव्यमा जारी कानुनी प्रक्रिया निकै तनावपूर्ण रहेको र यो अझै समाप्त नभएको बताइएको छ । ‘अरु पीडितहरु झैं मैले पनि लज्जा, एकान्तपन, उदासी अनुभूत गरेको छु ।’