करिब दुई साताअघि (फेब्रुअरी १४ का दिन) कास्मिरको पुलवामामा भएको आतङ्कवादी हमलाको भारतले बदला लिएको छ । पुलवामा घटनाको जिम्मेवारी लिएको आतङ्कवादी सङ्गठन जैस–ए–मोहम्मदको तालिम केन्द्रमा मंगलबार (फागुन १४) बिहान उज्यालो हुनुअघि नै भारतीय वायुसेनाले आक्रमण गर्दा आतङ्ककारीको मुकाम तहसनहस हुन पुगेको छ भने लगभग तीन सयको सङ्ख्यामा आतङ्कवादीहरू हताहत भएका छन् । जैस–ए–मोहम्मदलाई कथित तवरमा पाकिस्तानले उपलब्ध गराउँदै आएको आश्रयस्थलमाथि इन्डियन एयरफोर्सका बाह्र लडाकु विमानले एकाएक हमला गरेपछि आतङ्कवादी तालिमकेन्द्र ध्वस्त हुन पुगेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।
पुलवामास्थित व्यस्त राजमार्गमा आतङ्ककारीद्वारा गरिएको आत्मघाती हमलाका कारण भारतीय अर्धसैनिक बलका अफिसर र जवानहरूसमेत ४६ जनाको ज्यान गएको थियो । सो आक्रमण कास्मिरमा दशकौँयता भएका हमलामध्ये सबभन्दा घातक रहेको सम्बद्ध विज्ञहरूको भनाइ छ । उक्त दर्दनाक हमलापछि भारतले पाकिस्तानलाई पूर्ण रूपमा एक्ल्याइदिने चेतावनीसमेत दिएको छ । लामो समयदेखि जैस–ए–मोहम्मदका विद्रोहीहरूलाई पाकिस्तानले सुरक्षित शरण र सहयोग प्रदान गरिरहेको भन्ने भारतको अभियोगको पाकिस्तानले चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।
विगत दुई दशकदेखि आतङ्कवादी क्रियाकलापमा संलग्न रहँदै आएको जैस–ए–मोहम्मदले २००१ को डिसेम्बरमा भारतीय संसद्भवनमा घुसी आक्रमण गरेको थियो भने २०१६ को जनवरीमा पठानकोटस्थित वायुसेनाको आधारशिविरमा पनि उक्त समूहले हमला गरेको थियो । पाकिस्तानी भूमिमा पाकिस्तानकै सहयोग लिएर आतङ्कवादीहरूले तालिम तथा अन्य गतिविधि सञ्चालन गरेको जानकारी गराउँदै भारतले पाकिस्तानलाई त्यस्ता गतिविधिमा रोक लगाउन बारम्बार आग्रह गर्दै आएको छ । तर, भारतको आग्रहलाई पाकिस्तानले सुनेको नसुन्यै गरेपछि भारत तथा अन्तर्राष्ट्रिय समुदायले पाकिस्तान आफैँले आतङ्कवादी क्रियाकलापलाई प्रोत्साहन दिएको ठान्दै आएका छन् ।
पुलवामामा आत्मघाती आक्रमण गरेपछि जैस–ए–मोहम्मदले भारतका विभिन्न स्थानमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको र त्यसनिम्ति भारतीय सीमाक्षेत्रनजिकै पाकिस्तानी भूमि (बलाकोट)मा तालिम सञ्चालन गर्दै गरेको सूचना भारतले प्राप्त गरेको बताइन्छ । सूचनाका आधारमा मंगलबार सबेरै एक्सन लिँदा बलाकोटस्थित तालिम शिविरमा तीन सयभन्दा बढी आतङ्ककारीहरूको एकै चिहान हुन पुगेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
जैस–ए–मोहमम्दका प्रमुख मैलाना मसुद अजहरका भाइ पर्ने मौलाना युसुफ अजहरको कमाण्डमा बलाकोटस्थित जङ्गलको बीचमा सञ्चालन भइरहेका आतङ्की तालिम केन्द्र मानवबस्तीभन्दा टाढा भएकोले हवाई आक्रमण सम्भव भएको बताइएको छ । तालिम केन्द्रमा कारबाही गर्दा सर्वसाधारण नागरिक नपरून् भनेर होसियारी अपनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको कारबाहीलगत्तै पाकिस्तानमा आपत्कालीन उच्च बैठक भएको समाचार एजेन्सीहरूले जनाएका छन् । पाकिस्तानले आफ्नो सीमाक्षेत्रमा आएर भारतीय वायुसेनाले हमला गरेको बताएको छ, तर आतङ्कवादीहरूको तालिम केन्द्र (किल्ला) ध्वस्त बनाएको विषयमा पाकिस्तान मौन रहेको छ ।
भारतीय कारबाहीले आतङ्ककारीहरूतर्फ धेरै ठूलो क्षति पुऱ्याएको भए पनि यस घटनापछि हुने पाकिस्तानी प्रतिक्रियाले यस क्षेत्रको शान्तिस्थितिको भविष्य निर्धारण गर्नेछ । आतङ्की किल्ला ध्वस्त पारिएको प्रतिक्रियास्वरूप पाकिस्तान आक्रामक रूपमा प्रस्तुत भयो भने भारत–पाकिस्तानबीच घमासान युद्ध हुन सक्ने र त्यसले नेपाललाई समेत गम्भीर असर पार्न सक्ने विश्लेषकहरूको धारणा छ ।
तेह्रौँ शताब्दीमा इस्लामीकरणको प्रक्रिया शुरु हुनुअघि कास्मिर क्षेत्र सनातनी हिन्दू सभ्यताको एक महत्वपूर्ण केन्द्रका रूपमा थियो । बौद्धमार्गीहरूको समेत वासस्थान रहेको त्यस क्षेत्रमा भारत विभाजनपछि पूर्ण शान्ति बहाल हुन सकेको छैन । कास्मिर क्षेत्रमा अहिले इस्लाम धर्मावलम्बीहरूको बाहुल्य छ र, पाकिस्तानको सहयोगमा त्यहाँ आतङ्ककारी क्रियाकलाप दशकौँदेखि हुँदै आएको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो हमला गरी भारतीय वायुसेनाले आतङ्ककारी किल्ला ध्वस्त बनाएपछि पाकिस्तान आफैँ अग्रसर नभएसम्म जैस–ए–मोहम्मदले मात्र केही गर्न नसक्ने अवस्था पैदा भएको विश्वास गरिएको छ ।
प्रतिक्रिया