अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र लडखडाएको अर्थव्यवस्थामा सुधार ल्याउन आफूलाई एक मौका दिन राष्ट्रपति बुहारीले आमजनतासमक्ष आग्रह गरेका थिए ।
नाइजेरियाका धेरै नागरिकले नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउने चाहे पनि यसपटक निराश भएका छन् । पूर्वसैनिक तानाशाहसमेत रहेका राष्ट्रपति मोहम्मदु बुहारीले अरू राजनीतिक व्यक्तिले जनताको भावनाको सम्मान गर्न नसकेका कारण पनि विजय हासिल गरेको बताइन्छ ।
औपचारिक नतिजा घोषणा भएलगत्तै उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै राष्ट्रपति बुहारीले जितबाट आफू जनताप्रति अनुगृहित रहेको बताए । चुनावी हिंसाका कारण दर्जनौँ व्यक्तिको मृत्यु भएकाप्रति उनले दुःख प्रकट गरे ।
चुनावी नतिजा सार्वजनिक भएलगत्तै राष्ट्रपति बुहारीका समर्थकहरूले राजधानी अबुजाका सडकमा नाचगान शुरु गरेका थिए । यद्यपि, उनका मुख्य प्रतिस्पर्धी अतिकु अबुबाकरलाई मतगणनामा निकै पछि पार्नासाथ राष्ट्रपति बुहारीका समर्थकले अबुजामा नाराजुलुस लगाउन थालेका थिए ।
पूर्वउपराष्ट्रपति एवं अर्बपति व्यापारी अतिकुले नाइजेरियालाई नयाँ र समृद्ध बनाउने योजनासहित ठूलो चुनावी अभियान चलाएका थिए ।
निर्वाचन आयोगका अनुसार राष्ट्रपति बुहारीले एक करोड ५१ लाख अर्थात् ५५ प्रतिशत मत प्राप्त गरेका छन् । मुख्य प्रतिस्पर्धी अबुबाकरले एक करोड १२ लाख अर्थात् ४१ प्रतिशत मत प्राप्त गरे । नाइजेरियाको यसपटकको चुनावमा करिब ३६ प्रतिशत मात्र मतदान भएको थियो ।
अबुबाकरको पार्टीले चुनावमा धाँधली भएको आरोप लगाउँदै नाइजेरियाका ३६ वटा राज्यमध्ये चारवटामा पुनः चुनाव गर्न माग गरेको छ ।
तर, राष्ट्रपति बुहारीको दलले विपक्षीले लगाएको आरोपको खण्डन गर्दै चुनावी परिणाम स्वीकार गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया