अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बहुप्रतीक्षीत शिखर वार्ता आज हुँदैछ । दुवै नेता यतिबेला हनोइ (भियतनाम)मा छन् भने हिजो (बुधबार) उनीहरूबीच शिष्टाचार भेट भइसकेको छ । राष्ट्रपति ट्रम्प र नेता किमबीच हिजो हनोईस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो ।
वार्ताका क्रममा अमेरिकी राष्ट्रपतिसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको किमले बताएका छन् । एएफपीले जनाएअनुसार दुई नेताबीच भियतनामको राजधानी हनोईमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भनेका छन्– ‘म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।’
वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने किमले प्रतिबद्धता जनाएका छन् । २० मिनेटको कुराकानीपछि दुवै नेताहरू आफ्ना निकट सहयोगीका साथ सोफिटेल मेट्रोपोल होटेलमै हल्का भोजमा सहभागी बनेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच गत वर्षको जुनमा पहिलो पटक भेट भएको थियो । उक्त भेटमा नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट स्वतन्त्र बनाउने विषयमा हस्ताक्षर गरेका थिए । तर वार्तापछि लामो समयसम्म उत्तर कोरिया र अमेरिकाबीच औपचारिक छलफल हुन सकेको थिएन ।
‘हामी पुनः वार्ताका लागि हनोई आएका छौँ,’ किमले भनेका छन्– ‘मलाई लाग्छ थप विचारका साथ अघि बढ्ने समय आएको छ । हामीले यस घडीमा धैर्य बन्दै उत्कृष्ट सोचविचारसहित अघि बढ्ने प्रयास गर्नुपर्छ ।’
दुई नेताबीच कुराकानी हुनु पहिले उनीहरूले हार्दिकतासाथ हात मिलाएका थिए ।
प्रतिक्रिया