‘मनोरञ्जनसँगै समाजसेवा गर्न चाहनुहुन्छ कि ?’

‘मनोरञ्जनसँगै समाजसेवा गर्न चाहनुहुन्छ कि ?’


के तपाईं खेलको आनन्द उठाउँदै समाज सेवामा समेत सरिक हुन चाहनुहुन्छ ? रोचक खेलका साथ आफूले मनोरञ्जन प्राप्त गर्दै गर्दा मुलुकका विभिन्न भागमा रहेका शारीरिक अपाङ्गता भएका महिलाको हातमा मोबाइल फोन पुग्न सक्छ भनी तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ ?

झट्ट सुन्दा अटपटे कुरा जस्तो लागे पनि यो वास्तविक हो, रोटरी र रोट्रयाक क्लबले तपाईंलाई यस्तो मनोरञ्जनका साथै पुण्य मिल्ने कार्यको अवसर जुटाइदिँदैछ । आगामी शनिबार (१८ फागुन ०७५) का दिन राजधानी काठमाडौंमा यस्तो मनोरञ्जनात्मक सामाजिक हितकारी कार्यक्रम आयोजना हुँदैछ ।

रोटरी क्लब र रोट्रयाक क्लबको सहआयोजनामा मोबाइल फाल्ने प्रतियोगिताको आयोजना हुन लागेको हो । रोटरी क्लब अफ रुद्रमती, रोट्र्याक क्लब अफ रुद्रमती बबरमहल काठमाडौं, रोट्र्याक क्लब अफ रुद्रमती र रोट्र्याक क्लब अफ मनोहराको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगिता फागुन १८ गते सिफल मैदानमा (चाबहिल)मा आयोजना हुनेछ । बिहान १० बजेबाट सुरु हुने प्रतियोगिता केही घन्टासम्म चल्नेछ ।

सन् १९९६ मा फिनल्यान्डबाट सुरु भएको उक्त प्रतियोगिता नेपालमा तेस्रो पटक आयोजना हुन लागेको हो । यो प्रतियोगिता सन् २०१५ मा पहिलो पटक रोटरी क्लबले नै आयोजना गरेको थियो । सामाजिक कार्यका लागि आयोजना गर्न लागिएको उक्त प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउँमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने प्रोग्राम कोअर्डिनेटर तथा रोटरी क्लब अफ रुद्रमति काठमाडौंका मेम्बर किसोर त्रिपाठीले जानकारी गराए ।

यसअघि भएका प्रतियोगिताबाट संकलित रकमले मुगु जिल्लाका विकट गाविसमा सय जना महिलालाई मोबाइल सेट प्रदान गरिएको थियो भने यस वर्षको प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ ।
पन्ध्र सय भन्दा बढी सहभागीको अपेक्षा गरिएको प्रतियोगितामा विदेशबाट पनि उल्लेखनीय सहभागिता हुने विश्वास लिइएको आयोजकले जनाएको छ । प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तीन भागमा विभाजन गरिएको छ । हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई एउटा स्मार्टफोन उपहार स्वरुप प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन आयोजकले ५०० प्रवेश शुल्क निर्धारण गरेको छ । यदि सहभागी हुन चाहनेले चालु अवस्थामा रहेको मोबाइल फोन सेट (जुनसुकै ब्राण्डको) क्लबलाई प्रदान गरेको खण्डमा निःशुल्क सहभागी हुन सक्नेछन् । तर रोटरी र लाइन्स क्लबका सदस्यहरुका लागि १००० र लियो र रोट्र्याकका सदस्यका लागि २५० प्रवेश शुल्क रहेको आयोजक पक्षका किशोर त्रिपाठीले बताए । उक्त कार्यकम पश्चात रक्तदान कार्यकम र महिला व्हील च्यर बास्केटबल प्रतियोगिता समेत हुने उनको भनाई छ ।