पाकिस्तानले हवाई आकाश बन्द गरेसँगै थाइल्यान्डमा हजारौँ हवाई यात्रु अलपत्र

पाकिस्तानले हवाई आकाश बन्द गरेसँगै थाइल्यान्डमा हजारौँ हवाई यात्रु अलपत्र


पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको कारण देखाउँदै आफ्नोे आकाश बन्द गरेको छ ।

एयरलाइन्सका अनुसार करिब ३० वटा उडान रद्द भएका छन् । प्रायः युरोपतर्फका उडान रद्द भएको एयरलाइन्सले जानकारी दिएको छ । उडान भरिसकेका तीनवटा जहाजलाई बैंककको सुवर्णभूमि विमानस्थलमै फर्काइएको थियो ।

पछिल्ला दिनमा पाकिस्तानले भारतीय वायुसेनाका दुईवटा सैनिक विमान आफ्नो हवाई क्षेत्रमा खसालेको दाबी गरेको थियो । यता भारतले आफ्नो वायुसेनाले पाकिस्तानको लडाकु विमान खसालेको दाबी गरेको छ । आक्रमण र प्रत्याक्रमणका कारण दुई देशबीच ठूलै युद्ध हुन सक्ने अनुमान गरिएको छ ।

यही फेब्रुअरीको १४ तारिखमा भारतप्रशासित कास्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ ।

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ, तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।

बढ्दो तनाबबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले वार्ताबाटै समस्याको समाधान निकाल्न भारतसमक्ष आग्रह गरेका छन् ।