इयू बाहिरबाट बेलायत पुग्ने आप्रवासी सङ्ख्या उच्च

इयू बाहिरबाट बेलायत पुग्ने आप्रवासी सङ्ख्या उच्च


यूरोपेली संघबाहिरबाट बेलायत पुग्ने आप्रवासीको सङ्ख्यामा १५ वर्षपछि यस वर्ष अत्यधिक वृद्धि देखिएको एक तथ्याङ्कमा जनाइएको छ ।

बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो (विहिबार) जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रवासी सङ्ख्यामा एक वर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा ६ लाख २७ हजार आप्रवासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रवासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ ।

यसरी हेर्दा बेलायतमा रहने आप्रवासी सङ्ख्यामा दुई लाख ८३ हजार थप भएको देखिएको छ । तथ्याङ्कअनुसार धेरै व्यक्ति बेलायतमा एक वर्षभन्दा बढी रहने गरी गएका छन् ।

तथ्याङ्कको विश्लेषण गर्दा खुद आप्रवासीको आप्रवासन र पवदेश गमनको तथ्याङ्कमा सन् २०१६ को अन्त्यपछि स्थिरता देखिएको छ ।

तर सो कार्यालयलाई उद्धृत गर्दै सिन्ह्वाले भनेको छ, आप्रवासी सङ्ख्यामा यूरोपेली संघ आवद्ध राष्ट्रबाट बेलायत जाने र अन्य मुलुकबाट बेलायत जाने तथ्याङ्कमा परिवर्तन देखिएको छ । बेलायतका लागि यूरोपबाट जाने आप्रवासीको तुलनामा अन्य मुलुकबाट बेलायत जाने नागरिकको सङ्ख्या सन् २००४ पछि पहिलोपटक बढी देखिएको छ । काम र पढाइका शिलशिलामा बेलायत आउने आप्रवासी सङ्ख्यामा विगत पाँच वर्षयता बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ ।

सन् २००९ पछि पहिलो पटक सन् २०१८ मा बेलायत पुग्ने यूरोपेली नागरिकको सङ्ख्यामा क्रमशः कमी आएको पाइएको छ ।

मध्य तथा पूर्वी यूरोपेली मुलुक, जसलाई इयूका आठ मुलुकबाट पनि चिन्ने गरिन्छ, का नागरिकको बेलायत जानेभन्दा छोड्ने क्रम बढेको देखिएको छ । फर्किनेमा सन् २००४ पछि बेलायत आएर बसोबास गर्दै आएका यूरोपेली आप्रवासीहरू रहेका छन् ।

सन् २०१४ पछि बेलायतमा कामका लागि पुग्ने व्यक्तिको भन्दा विद्यार्थी भिषामा जाने यूरोपेली आप्रवासीको सङ्ख्यामा वृद्धि रहेको पनि तथ्याङ्कमा छ । समग्रमा बेलायत पुग्ने आप्रवासीमा पछिल्लो समय धेरै विद्यार्थीहरू रहने गरेको पनि जनाइएको छ ।