अमेरिका भन्छ– बिन लादेनका छोराबारे सूचना दिऊ, १० लाख डलर पुरस्कार लैजाऊ

अमेरिका भन्छ– बिन लादेनका छोराबारे सूचना दिऊ, १० लाख डलर पुरस्कार लैजाऊ


संयुक्त राज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतंकवादी क्रियाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ ।

‘जिहादका युवराज’समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ । ‘हाम्जा अहिले अल–कायदा समूहका नेताका रूपमा स्थापित हुन थालेको देखिएको छ,’ अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेश मन्त्रालयले हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना दिएमा त्यस्तो सूचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने जनाएको छ । हाल ३० वर्षको हाराहारीका हाम्जा बिन लादेनले सन् २०११ मा गरिएको आफ्नो बुबाको हत्याको बदला लिने बताउँदै आएका छन् । सर्वाधिक खोजीमा रहेका बिन लादेनलाई अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो ।

अमेरिकी गुप्तचर निकायहरूले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् । हाम्जाले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरूलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबियाको नेतृत्व अपदस्थ गर्नुपर्ने बताउँदै आएका छन् ।

ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर, हाम्जाका बारेमा थाहा हुन सकेको छैन ।