जिल्ला कारागारका कैदीलाई ‘श्रीमती भेट्ने’ सुविधा !

जिल्ला कारागारका कैदीलाई ‘श्रीमती भेट्ने’ सुविधा !


देशभरका कारागार कुनै न कुनै कारणले चर्चामा आउने गरेका छन् । कतै बन्दी धेरै भएर स्थान अभाव भएको त कतै तोकिएको सुविधा नपाएर बन्दीले गुनासो गरेको, कतै नाइकेले प्रताडना दिएको त कतै जेलभित्रै अनेक विकृति मौलाएकोजस्ता समाचार पछिल्ला दिन निकै सुनिन थालेका छन् । यही मेसोमा यतिबेला चर्चाको विषय बनेको छ धादिङको जिल्ला कारागार पनि ।

कारागारलाई अर्को नाममा पुकार्नुपर्दा सुधारगृह भनेर चिनिन्छ, तर धादिङबेसीस्थित जिल्ला कारागारभित्रचाहिँ विविध धन्दा हुने गरेको बुझिएको छ । कारागार प्रमुखको लापरबाहीका कारण जेलभित्रै मदिरासमेत भित्रिने गरेको बन्दीहरूले खुलासा गरेका छन् ।

यति मात्र होइन, कारागारका निमित्त प्रमुख मदन श्रेष्ठ र चौकीदार टोकबहादुर तामाङको मिलेमतोमा जेलभित्र रहेका कैदीले घरबाट श्रीमती झिकाएर स्थानीय लजमा एकान्त समय गुजार्ने अवसरसमेत हासिल गर्न थालेको सन्दर्भले चर्चा पाएको छ । धादिङबेसीको पुछारबजारस्थित एक होटेलमा कैदीले श्रीमतीसँग रात बिताएको खुलासा भएपछि कारागारभित्रका अनियमितताबारे चर्चा शुरु भएको हो । जबर्जस्ती करणीको अभियोगमा कारागारमा सजाय भोगिरहेका तामाङ थरका एक कैदीले केही महिनाअघि होटेलमा श्रीमतीसँग रात बिताउन पाएको कुरा यतिबेला चर्चामा छ । यसरी कैदीलाई श्रीमतीसँग रात बिताउने सुविधा उपलब्ध गराएबापत जेलसम्बद्ध पात्रहरूले ३० हजार रुपैयाँ नजराना लिएको बताइन्छ ।

कैदीहरूले नाम नखुलाउने सर्तमा जानकारी दिएअनुसार यसरी जेलबाहिर निस्केर महिला भेट्न चौकीदार र जेलरले विशेष रेट तोकेका छन् भने प्रहरीसँगको मिलेमतोमा महँगो मूल्यमा मदिरासमेत भित्रै बिक्री हुने गरेको छ । यसरी उपलब्ध ‘विशेष सुविधा’को लाभ उठाउँदै कैदीहरूले पन्ध सय–दुई हजार पर्ने एक लिटर रक्सीलाई पाँच हजार रुपैयाँसम्म तिरेर सेवन गर्ने गरेका छन् ।

कारागारभित्रका यस्ता विकृतिसँगै कैदीले आफूलाई घरपायक पर्ने ठाउँमा जान पाउने कानुनी प्रावधानमा टेकेर कसैले निवेदन दिए त्यसमा पनि रकमको बार्गेनिङ चल्ने गरेको बताइन्छ । कैदीलाई राज्यले उपलब्ध गराउने उपचार सेवा पनि बन्दी स्वयम्ले खर्च व्यहोरेर गराउन बाध्य पारिएको छ । आफ्नै पैसामा उपचार गराए पनि उपचारको बिलको भुक्तानीचाहिँ चौकीदार र जेलरले नै जफत गर्ने गरेका सङ्गीन आरोप भुक्तभोगी कैदीहरू लगाउँछन् । यसैगरी करिब दुई सय पचास कैदीबन्दी रहेको जिल्ला कारागारभित्र कुनै खेलको सुविधा लिन पनि बन्दीले रकम बुझाउनुपर्छ । जब कि जेलभित्र निःशुल्क खेल्न पाउने कानुनी प्रावधान छ ।