रङ्ग–विरङ्ग

रङ्ग–विरङ्ग


ramailo-ghamailo2नायिकामाथि गजबको आरोप
भनिन्छ, चीनमा मानवाधिकारको आवाजमाथि खासै सुनुवाइ हुँदैन । अन्याय परे पनि सरकारी नियम यस्तो छ कि मानिस अन्यायविरुद्ध उजुरबाजुर गर्न हिच्किचाउँछन् । तर, यस धारणालाई लोप्पा ख्वाइदिएका छन् साङ्घाईवासी एक चिनियाँले । चीनकी एक चर्चित अभिनेत्री झाओ वेईविरुद्ध ती चिनियाँ पुरुषले अदालत गुहारेका छन् । उनको उजुरी भने उदेकलाग्दो नै छ । भएछ के भने अभिनेत्री झाओद्वारा अभिनीत टीभी सो ‘टाइगर मम’ हेर्दै गर्दा ती चिनियाँमा निकै उत्तेजना पैदा भएछ । अभिनेत्री झाओले उत्ताउलो दृष्टि दिएकाले आफूमा उत्तेजना पैदा भई मन दूषित बनेको ठहर ती पुरुषले गरेछन् । यसरी मनै बिगारिदिने अभिनेत्रीलाई त्यसै छोड्न नहुने निचोडका साथ ती व्यक्ति स्थानीय अदालतको ढोका ढक्ढकाउन पुगेका छन् । यसलाई अधिकारको दुरुपयोग भनी पन्छाउने कि मुद्दा दर्ता गर्ने भन्ने सवालमा सम्बन्धित चिनियाँ अदालत निकै द्विविधामा परेको बताइन्छ ।

विशाल योनिले मच्चायो हङ्गामा
फ्रान्समा यतिबेला एउटा नवनिर्मित मूर्तिले खलबली मच्चाएको छ । भारतीय मूलका ब्रिटिस मूर्तिकार अनिश कपुरले ‘क्विन्स भेजाइना’ (विशाल योनि) शीर्षकमा निर्माण गरेको उक्त कलाकृति यसरी चर्चित हुनुमा यसको डिजाइनले भूमिका खेलेको छ । फ्रान्सको प्यालेस अफ भर्सेलसमा प्रदर्शित उक्त मूर्तिकृति दुई सय फिट लम्बाइ तथा ३३ फिट उचाइयुक्त छ । स्टिल र पत्थरको संयुक्त मिश्रणको सो कृति झट्ट हेर्दा विशाल गुफाजस्तो देखिए पनि वास्तवमा यो नारीको गुप्ताङ्ग प्रतिबिम्बित हुने रूपमा बनेको छ । ६१ वर्षीय अनिश स्वयम्ले पनि आफ्नो यस कामलाई ‘डर्टी कर्नर’को नाम दिएका छन् भने फ्रान्सेली मिडियाले यो मानिसलाई उक्साउने–भड्काउने कार्य भएको भन्दै आलोचना गरेका छन् । हरेक वर्ष ५० लाख पर्यटकले भ्रमण गर्ने स्थानमा राखिएको सो मूर्तिको आलोचनासँगै हेर्न चाहनेको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ ।

सय नाघ्दा सोह्रको जोस
विश्वकै सबभन्दा बुज्रुक नवदम्पतीको उमेर कति होला ? अनुमान गरिएला कि चालीस, पचास या साठीसम्म ? तर, यो अनुमान गलत छ । बेलायतमा हालै एक यस्तो जोडी वैवाहिक बन्धनमा बाँधिएको छ जसको उमेर पुरुषको १०३ र महिलाको ९१ रहेको छ । शताब्दी उमेर काटिसकेका जर्ज किर्बी र एकान्नब्बे वसन्त पार गरेकी डोरिन लुकी दुवैको उमेर जोड्दा एक सय ९४ वर्ष हुन आउँछ । यत्तिको पाका जोडीको विवाह भने किर्बीको १०३औँ जन्मदिनको अवसर पारेर बेलायतको इस्टबर्नस्थित एक होटलमा हालै सम्पन्न भएको हो । सबभन्दा बुर्जुग जोडीको उक्त वैवाहिक समारोहमा करिब पचास परिजनका अलावा गिनिज बुक अफ वल्र्ड रेकर्डस्का प्रतिनिधिसमेत पाहुनाका रूपमा उपस्थित थिए ।

अन्तरिक्षमा महँगो सेक्सको तयारी
अन्तरिक्षको विषयमा मानिसको दिमागमा हरदम एक प्रकारको जिज्ञासा र अलग प्रकारको लालसासमेत बनिरहेको हुन्छ । अन्तरिक्षसँग जोडिएर नयाँ–नयाँ खोज र प्रयोगमा वैज्ञानिकहरू पनि जुटिरहेकै छन् । यसैक्रममा अन्तरिक्षसँग जोडिएर अर्को एक नौलो प्रयोग गर्न खोजिएको समाचार प्रकाशमा आएको छ । जसअनुसार एकजोडीले अब अन्तरिक्षमा यौनसम्पर्क गर्नेछन् । तर, सम्बन्धित जोडीले कुनै सन्तान जन्माउने उद्देश्यले यस्तो गर्न लागेका भने होइनन् । एक पोर्न फिल्म निर्माण गर्ने कम्पनीले आफ्ना कलाकारलाई यस कार्यका लागि तयार गर्दै छ । झन्डै ३५ लाख डलर खर्च लाग्ने अनुमान गरिएको उक्त मिसन आगामी वर्ष कार्यान्वयन गरिँदै छ । वर्षेनी करिब १६ अर्ब मानिसले भिजिट गर्ने पोर्नहब वेबसाइटले यसको फन्डिङ गर्ने बेलायती अखबार इन्डिपेन्डेन्टले जनाएको छ ।

१९ दिनमै यत्रो करामत !
विश्वको सबभन्दा अग्लो भवनको पहिचान दुबईको बुर्ज खलिफा नामक बिल्डिङले हासिल गरेको छ, जसको उचाइ आठ सय २८ मिटर रहेको छ । तर, पाँच वर्ष लगाएर निर्माण गरिएको सो भवनको भन्दा बढ्ता चर्चा यतिबेला दक्षिणी चीनको चाङ्सा भन्ने स्थानमा हालै निर्मित एक ५७ तले भवनले पाएको छ । दुई सय चार मिटर अग्लो ५७ तले उक्त भवन देख्नमा त्यस्तो कुनै विशेष आकारप्रकार या विशेषतासम्पन्न छैन, तर पनि यसले विश्वव्यापी चर्चा पाएको छ, किन त ? यसको खास कारण निर्माण अवधिसँग सम्बन्धित छ । यति विशाल भवन बन्न जम्मा १९ दिन मात्र लागेकाले उक्त बिल्डिङको विशेष चर्चा भएको हो । जेङ उई नामक निर्माण व्यवसायीले दिनको तीन तलाको हिसाबले १९ दिनमै तयार गराएको उक्त बिल्डिङलाई भवन निर्माण इतिहासकै एक क्रान्तिका रूपमा चित्रित गरिएको छ ।